भूकम्पको त्रासदी र सरकारले अपनाउनु पर्ने रणनीति
डा. भरत लामिछाने
वि.सं. २०७२ साल वैशाख १२,१३र २९ गते गएको भूकम्पले नेपालमा ठूलो धनजनको क्षति पुग्न गएको थियो । हुन त त्यसअघि पनि थुप्रै पटक भूकम्पका कम्पन र पराकम्पनहरु गएका थिए । पछिल्लो पुस्ताले अनुभव गरेको २०७२ सालको भूकम्प ताजा अनुभवलाई शिक्षाको रुपमा लिँदा सान्दर्भिक हुनेछ । वि.सं. २०७२ साल वैशाख १२ गते मध्यान्ह ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टरको भूकम्पले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्प पछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर व्यवहारमा प्रयोग भएका छैनन् । किनकी मानिसको स्वभाव नै त्यस्तो छ, “ दुःखमा सम्झने, दुःख विर्सदै गएपछि विर्सदै जाने“ तर सबै मानिसमा हैन । सबै देशका सरकारमा हैन । खासगरी नेपाली र नेपालका सरकारको प्रबृत्ति त्यस्तो देखिन्छ । अन्य मुलुकका सरकार यस्ता घटनाहरु प्रति सचेत र जिम्मेवार देखिन्छन् ।
जापानमा सन् १९२३ सेप्टेम्बरमा ८.३ रेक्टरको भूकम्प जाँदा करिव एकलाख ४२ हजारको मृत्यु भएपछि जापानले सिंगो देशको लागि रणनीतिक योजना अघि बढायो र समग्र निर्माण कार्यलाई भूकम्प प्रतिरोधी बनायो । जसको परिणाम स्वरुप ८४ वर्षपछि २००७ मा ठीक पहिलेकै जस्तो भूकम्प जाँदा एकजना पनि मानिस मरेनन् । सन् २०११ मा नौ रेक्टरको भूकम्प जाँदा त्यही दिन सामुदायिक उपद्रव सुनामी आएका कारण पन्ध्रहजार मानिसको मृत्यु भएछ । त्यो क्षति सुनामीका कारण हुन गएको थियो । नेपालसहित सिंगो विश्वले जापानबाट पाठ सिक्ने कि नसिक्ने भन्ने प्रश्न भक्ति लामिछानेले आफ्नो फेसबुक स्टाटसमा उठाउनु भएको छ “। यस्ता सुकार्यबाट पाठ सिकेर नेपाल सरकारले पनि आफ्ना कार्ययोजनाहरु अगाडि सार्नुपर्ने देखिन्छ ।
त्यसो त यसपटक जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा कार्तिक १७ गते मध्यराती गएको भूकम्पको झड्का बालुवाटारमा समेत पर्दा प्रधानमन्त्री पुष्पकमल दाहालको निन्द्रा नै टुट्यो । उहाँ त्यसबखतसम्म सुति नसकेको तर झट्काले उहाँलाई रातभर सुताएन । सरकारी संयन्त्र परिचालन गरेर राती १ बजेसम्म बुझी तीनवटै सुरक्षा निकायलाई उद्धारमा लाग्न निर्देशन दिनुभयो र उहाँले २ बजेर ३४ मिनेटमा सामाजिक सञ्जालबाट पनि उक्त निर्देशन दिनुभयो र सबैलाई उद्धार कार्यमा जुट्न अपिल समेत गर्नुभयो । शनिबार विहान ६ बज्न नपाउँदै चिकित्सक, स्वास्थ्यकर्मी, आवश्यक औषधि र राहत सामाग्री लिएर सेनाको हेलिकप्टर लिएर जाजरकोट पुग्नुभयो र घाइतेको निमित्त हेलिकप्टरसमेत छोडी त्यहाँको सम्पूर्ण अवस्था बुझेर नियमित उडानमा काठमाडौं फर्कनु भयो। यसरी नेपाल सरकारका प्रधानमन्त्री स्वयम् यति चिन्ताका साथ उद्धारमा खटिएको घटना पहिलो हो। यस कार्यबाट उहाँप्रति हेर्ने दृष्टिकोणले उचाइ प्राप्त गरेको छ । तर यस्तो कार्यले दिगोपन प्राप्त गर्दै जावस भन्ने चाहना न्यायप्रेमी जनको रहेको छ।
नेपालमा ठूला भूकम्पको जोखिम किन र कसरी
नेपालमा पनि भूकम्पले विगत धेरै समय अगाडिदेखि जनधनको क्षति पु¥याउँदै आएको छ । खासगरी इण्डियन प्लेट र युरो एसिया प्लेटको घर्षणका कारण हिमाली क्षेत्र सधैं भूकम्पको उच्च जोखिममा छ । इण्डियन प्लेटमा प्रतिवर्ष ५ सेन्टिमिटर युरोएसिया प्लेट भित्र प्रवेश गर्छ । त्यसले अग्ला हिमाल बनाउन मात्रै नभएर तिब्बती पठार विस्तारमा पनि भूमिका खेलेको बैज्ञानिकहरु बताउँछन् । तिब्बती पठारको विस्तार र हिमालको उचाईमा ३ सेन्टिमिटर देखिए पनि बाँकी रहेको २ सेन्टिमिटर पृथ्वीभित्र इनर्जी संचित भएर बस्ने गरेको समेत वैज्ञानिकहरु बताउँछन् । त्यही इनर्जी बेलाबेलामा भूकम्पका रुपमा बाहिरिने गरेको हो । स–साना भूकम्प जाँदैमा ठूलो भूकम्पको जोखिम कम हुने भने होइन, पश्चिम नेपालमा ठूलो भूकम्प जाने सम्भावना अहिले पनि ज्यूँका त्यूँ छ, भूगर्भशास्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विशालनाथ उप्रेती बताउँछन् । गत कार्तिक १७ गते शुक्रबार मध्यरात (११ः४७) बजे जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पले पश्चिम नेपालको भूभागमा हल्लाउने कामले निरन्तरता देखाएको छ ।
सो भूकम्पबाट ३५ हजार परिवार घरबारविहीन भएका छन् । जाजरकोट र रुकुम पश्चिम लगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्णरुपमा भत्किएको छ । त्यसैगरी १७ हजार ५ सय २९ कच्चि घर चर्किएर बस्न नमिल्ने अवस्थामा छन् । सबैभन्दा बढी घर रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा भत्किएका र ९ हजार ६१ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय सत्तरी घर पूर्ण रुपमा क्षति र ७ हजार १ सय ६६ घर आंशिक रुपमा भत्किएका छन् । सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ ।अहिलेसम्म १५३ जनाको मृत्यु भईसकेको खवर छ ।१३३ जना घाईते छन।त्यस्तै रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १९७ जना घाईते छन।भूकम्पको धक्काले रूकुम पूर्व सल्यान,रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाम समेत प्रभावित भएका छन।
विज्ञहरुका अनुसार ५ सय २० वर्षदेखि यस क्षेत्रमा ठूलो भूकम्प भने नगएको बताउँछन् । त्यसैले गर्भमा थुप्रिएको शक्ति कुनै पनि समय विस्फोट हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । हुन त सरकारी अभिलेख अनुसार २०३७ साउन १४ गते राती बझाङमा ६.६ म्याग्निच्यूटको भूकम्प गएको देखाउँछ । त्यसबखत १०० भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो । त्यस्तै गत असोज १६ गते बझाङ केन्द्रित ६.३ रेक्टर स्केलको र गत वैशाख १४ गते बाजुरा केन्द्र विन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प पनि गएको थियो ।
वि.स. २०३५ सालमा फ्रान्सेली सरकारको सहयोगमा पहिलो पटक भूकम्पमापन यन्त्र नेपाल भित्र्याइएको थियो । अहिले ४० ठाउँमा त्यस्तो मापन गरिन्छ । पूर्वी नेपालमा पटक पटक ठूला भूकम्प गए पनि पश्चिमतर्फ ५ सय २० वर्षयता ठूलो भूकम्प गएको देखिँदैन । सन् १५०५ मा महाभूकम्प गएको र त्यसले दिल्ली मात्रै नभएर ल्हासामा पनि क्षति गरेको बिज्ञहरू बताउँछन् । सो भूकम्पले दिल्लीको कुतुबमिनार भत्काउने देखि ल्हासासम्म क्षति पु¥याएको थियो । त्यस्ले नेपालमा पनि नोक्सान पु¥याएको थियो । त्यसबखत ८.४ देखि ८.८ म्याग्निच्युटको भूकम्प गएको अनुमान गरिएको थियो ।
नेपालमा भएका भूकम्पका केही विवरणहरुः
– वि.सं. १३१० मा गएको भूकम्पले थुप्रै देवालय र घर भत्किए, भूकम्पमा परि राजा अभय मल्लको समेत ज्यान गयो ।
– वि.स. १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि थुप्रै जनधनको क्षति हुनुका साथै महामारी फैलाएको थियो ।
– वि.सं. १४६४ मा गएको भूकम्पले मत्स्यन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर समेत भत्किएका थिए ।
– वि.सं. १७३८ मा गएको भूकम्पले थुप्रै धनजनको क्षति भयो । थुप्रै मन्दिरहरु पनि भत्किएका थिए ।
– वि.सं. १८६६ को भूकम्पले पशुपतिनाथको देवललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाईदिएको थियो ।
– वि.सं. १८९० मा गएको भूकम्पले दुईवटा मध्ये एउटा धरहरा पाताल बन्यो । पाटन बालकुमारीको मन्दिरबाट २१ दिन पछि मूर्ति झिकिएको थियो । दरबार, मठमन्दिर थुप्रै भत्किए । त्यस भूकम्पले १८ हजार घरमा धनजनको क्षति पुगेको अनुमान गरिएको छ ।
– वि.सं. १९९० को भूकम्प ८.३ रेक्टर स्केलको थियो । त्यसमा ८ हजार ५ सय ३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७ सय १३ जना घाइते भएका थिए । त्यसबेला उपत्यकामा १२ हजार ३ सय ९६ घर, पहाडमा ६४ हजार ७ सय ४२ घर र तराईमा ३ हजार ७ सय ५४ घर पूर्णरुपमा क्षति भएका थिए । त्यस्तै उपत्यकामा २५ हजार ६ सय ५८ घर, पहाडमा ७३ हजार २ सय ५३ घर र तराईमा ५ हजार ६ सय १० घरहरु आंशिक रुपमा क्षति भएका थिए ।
– वि.सं. २०३७ साउन १४ गते गएको भूकम्प ६.५ रेक्टर स्केलको थियो । बझाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १ सय ७८ जनाको ज्यान लिएको थियो भने ४० हजार भन्दा बढी घरहरुलाई क्षति पु¥याएको थियो ।
– वि.सं. २०४५ भदौ ५ गतेको ६.९ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रविन्दु भएर गएको थियो । यो भूकम्पमा परी ७ सय २१ जनाको मृत्यु भएको थियो । त्यस समय ६ हनार २ सय १३ जना घाइते भएका थिए । त्यसबखत १४ हजार ९ सय ६४ घर पूर्ण क्षति ३३ हजार ९सय ५९ घर चिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४ सय ९६ घर आंशिक क्षति भएका थिए ।
– वि.सं. २०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्र विन्दु बनाएको भूकम्पले ठूलै क्षति गरेको थियो । त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो । ताप्लेजुङ र भारतको सिक्किम केन्द्रविन्दु भएको यो भूकम्पका कारण नेपालमा ६ जनाको मृत्यु हुनुका साथै साढे ६ हजार घर क्षति भएका थिए । १२ हजार भन्दा बढी घरहरुमा आंशिक क्षति पु¥याएको थियो भने डेढ हजार भन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भएका थिए ।
– वि.सं. २०७२ वैशाख १२ गते ११ः५६ मध्यान्हमा गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । गोरखाको बारपाक केन्द्रविन्दु भएको यो भूकम्पका कारण ८ हजार ९ सय ७० जनाको मृत्यु हुनुका साथै २२ हजार ३ सय २ जना घाइते भएका थिए । सोही वर्षको वैशाख १३ गते दोलखा केन्द्रविन्दु भएर ६.९ रेक्टर स्केलको ,त्यही बैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर गएको ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा ८ लाख ६६ हजार २ सय ७ निजी घर पूर्ण रुपमा क्षति भएका थिए र ४७ हजार ८ सय २७ घर आंशिक क्षति भएका थिए ।
– वि.सं. २०८० असोज १६ गते बझाङ केन्द्र विन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एकजनाको ज्यान गएको थियो, १ सय ३५ घर क्षतिग्रस्त भएका थिए ।
– वि.सं. २०३५ मंसिर ३१ गते हुम्ला केन्द्र विन्दु बनाएर ६ रेक्टर स्केलको ,२०७७ साल भाद्र ३१ गते सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको, २०७९ साल साउन १५ गते खोटाङ केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको, सोही बर्षको कार्तिक २३ गते डोटी केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । यसरी नेपालमा भूकम्प जोखिम रहदै आएको ऐतिहासिक तथ्य तथा तथ्यांकहरुलाई २०७२ साल जेठको मधुपर्क मासिक, २०७२ सालको भूकम्पनामक पुस्तक लगायतका स्रोतहरुबाट संकलन गरी २०८० कार्तिक १९ गते आइतबारको गोरखापत्र दैनिकमा प्रकृति भण्डारीले प्रस्तुत गर्नुभएको यस सामाग्रीले भूकम्पको ऐतिहासिक ज्ञान हासिल गर्न सकिने भएकोले यो लेखमा साभार गरिएको छ ।
सरकारले अपनाउनु पर्ने रणनीतिः
नेपालमा अहिलेसम्म प्राप्त वि.सं. १३१० मा गएको भूकम्पदेखि हालसम्मका तथ्यांकहरु तर्फ अध्ययन गर्दा भूकम्बाट थुप्रै धनजनको क्षति भएको देखिन्छ । यो प्राकृतिक विपत्ति हो । यस प्रकारका प्राकृतिक विपत्तिहरुलाई निषेध गर्ने उपायहरु त अहिलेसम्म वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । हामी भूकम्पबाट भाग्न सक्दैनौं । तर त्यस्ता प्रकारका विपत्तिहरुलाई न्यूनीकरण गर्ने वा क्षतिबाट बच्ने उपायहरुको खोजी कार्य गर्न नेपाल सरकारले रणनीतिक योजना अगाडि सार्नुपर्ने देखिन्छ । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “विगतमा भएका कमिकमजारी दोहोरिन नदिने र त्यसलाई शिक्षा लिएर पीडितलाई राहत र उद्धारमा मोडेलका रुपमा अगाडि बढाउने “बताउनु भएको छ । “उहाँले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदका लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामा नै संरचना खडा गर्ने “निर्णय भएको कुरा बताउनु भएको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यस क्षेत्रमा पुगी पीडितहरुको उद्धारमा कमि हुन नदिने कुरा बताउनु भएको छ । यी त भए तत्कालका लागि कार्यनीतिक योजना । तर सरकारले भूकम्प लगायत अन्य प्राकृतिक विपत्तिहरुबाट बच्न रणनैतिक योजना नै बनाउनु पर्ने हुन्छ । जसरी जापानले गरेको कुरा माथि नै उल्लेख गरिसकिएको पनि छ । त्यसैगरी नेपालले पनि भौगर्भिक अध्ययन अनुसन्धान गरी कुन ठाउँमा बस्ती बसाउँदा धनजनको क्षति हुँदैन त्यसतर्फको पहिचान गर्नु जरुरी छ । खासगरी भौगर्भिक फल्टहरुको पहिचान गरी तीनको नजिकमा बस्ती बसाउन नहुनेमा व्यक्ति र राज्य दुबै सतर्क हुनैपर्छ । किनकी भूकम्पको पूर्व अनुमान गर्न सकिँदैन । त्यस्तै घरहरु निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक शैलीमा निर्माण गर्ने गराउने कुरामा राज्यले रणनैतिक योजना बनाउनु पर्दछ । यसमा नागरिकहरु पनि सचेत हुनै पर्दछ । त्यसका लागि राज्यले प्रशिक्षणको व्यवस्था गर्नु पर्दछ । अर्को महत्वपूर्ण कुरा औपचारिक शिक्षाको पाठ्यक्रममा भूकम्पलगायत प्राकृतिक विपत्तिहरु सम्बन्धी शिक्षालाई अनिवार्य विषय बनाउँदै लैजानु पर्दछ । तबमात्र राज्य र सरकारले यस्ता विपत्तिहरुलाई न्यूनीकरण गर्न सक्दछ ।