‘आमा मलाई नरोक्नूस्’
पूजा शर्मा ‘प्रकृति प्रेमी’
हो ! आमा मलाई ‘म’ बन्नु छ । अब मलाई नरोक्नुस्, मलाई समाजको नीति नियम नसुनाउनुस् । मलाई त निलो खुला आकाशमा निस्फिक्री उड्न मन छ । अहँ बाँधिन सक्दिन ती सिद्धान्तमा, ती नियमले मलाई अनियन्त्रित बनाउँछ । मेरो जिन्दगीको परिभाषा धेरै फराकिलो छ , समाजका बनावटी संस्कार नामक कुरितीको बाध्यता नबनाउनुस् । झुक्न नसिकाउनुस्, शत्रुले गर्धन हान्ने मौका छोप्नेछन् । र नघोकाउनुस् गान्धी, गौतम बुद्ध, अरनिको कुरा ! ती त इतिहास मात्रै हु्न । गान्धी र बुद्ध बन्ने दर्शन पहिल्यै खरानी भईसकेका हुन् । नसुनाउनुस् ती एकादेशका भूतप्रेतका कथा, ममा डर त्रास पैदा हुनेछ ।
हो ! म आफै बाँच्ने एउटा जिन्दगी लिएर आएकी छु । मेसिनको इसारामा चलेको मान्छेको जिन्दगी ‘जिन्दगी’ जस्तो लागेन । जिउँदिन अब विधि र विधानको लागि । समाजका बनावटी ढोङलाई संस्कारको उपनाम नदिनुस् आमा ।
मेरो बाल मस्तिष्कलाई अनुकरण गर्न दिनुस् । मेरो भरिलो जवानीलाइ विधि र विधानको पुरानो मधुसभित्र बन्दी गर्न नखोज्नुस् आमा, किनकि म त बाँच्न चाहन्छु ।
यहाँ त यस्तै हो, बाँचुन्जेल त जाँडभित्रको किरा भएर बाँच्नु पर्छ । जब म मर्छु वैरभाव सारा भुलेर शत्रुले पनि बहकिने ठाउँ पाउनेछन् र फ्याँकिदिनेछन् समवेदनाका सुवासिला शब्दगुच्छाहरु । आमा मैले निधो गरिसकँे म स्वतन्त्र उडन चाहन्छु त्यो पिँजडा खोलिदिनुस् । नेपालका साहसी चेली अनुराधा कोइराला चुलो चौकामै सीमित भएको भए हाम्रा दिदिबहिनीको हालत के हुन्थ्यो होला ? ओनसरी घर्तीले घर नछाडेकी भए संसदमा प्रतिनिधित्व गर्न सक्दिनथिन् ।
तपाईंले हामी सन्तान बन्नका लागि गरेको त्याग र समर्पणको पनि एउटा ठूलै गर्विलो इतिहास छ । कहिल्यै सुखका सपना देख्नु भएन । यो भोगाइ र हेराइबाट मलाई ‘म’ बन्नुछ । गर्नेछन् दुनियाँले अनेक तरहका टिकाटिप्पणी । धेरैथरिले सुझाव दिनेछन् । सासुआमा ‘लामा लुगा लगाउ’ भन्नेछिन् । लोग्नेले भन्ने छ ‘घरभित्रै बस्नु’ र अक्सर मान्छेले सोध्ने छन् बच्चाबच्ची के के भए ?
हो आमा मलाई थाहा छ, म मान्छे बनेको उनीहरु हेर्न सक्दैनन् । मलाई झुम्राको पुतली बन्न मन छैन । आमा यहाँ विश्वास कसैको नगर्नु ती पहाड, पत्थरजस्तै मान्छे हुन् । नत्र त किन रजस्वलाको ‘ र’ पनि थाहा नभएका मेरा कलिला बहिनीहरुको बलिन्द्र आँशुको चित्कार सुन्न किन सक्दैनन् । किन दुख्दैन तिनीहरुलाई हँ ? सहनशीलता, सुन्दरता अभिशापजस्तो लाग्छ मलाई । के चिज छ आमा मसँंग, जसका लागि दुनियाँ नंग्रा फिजाएर बसेको छ । उनीहरु मलाइ नंग्याउन, कोतर्न, चिर्थोन चाहन्छन् । कसरी चिनौँ ती मान्छेको मुकुन्डो लगाएका यौन पिपाशुहरुलाई ? त्यसैले मलाई म बन्नुछ आमा !
यो समाजले छोरीलाइ कोमल र निर्बलको सूचीमा राखेर तौलियो । त्यसदिनदेखि तपाईंले माया गरेर भन्ने शब्द ‘छोरी’ पनि बोझिलो लाग्न थाल्यो । अनेक रंगीला पहिरन नपहिराउनुस् मलाई, अत्यन्तै सुन्दरी बनेर कसैलाई आकर्षण गरुँ लाग्दैन ।
हो आमा अब उठनु पर्छ , परिवर्तन सम्भव छ । त्यसैले म नेतृत्व गर्नेछु । अब मलगायत हरेक देशप्रेमीले समाज एवं राष्ट्रका लागि आफ्नो सानो दायरा नाघेर देशको समृद्धिको योगदान स्वरुप एउटा इट्टा थप्नुपर्छ । नातावाद कृपावाद मेरा शब्दकोषमा हुनेछैन ।
आमा, नेपाल र नेपालीको जीवनस्तर उकास्न भन्दा आफ्नो स्वार्थपूर्तिमा तल्लीन हुनु हाम्रो दुर्भाग्यपुर्ण अवस्था हो । व्यक्तिगत स्वार्थबाट माथि उठेर इमानका साथ जनताको सेवक भएर यो देश हाम्रै जीवन कालमा काँचुली फेर्नेछ । तपाईंको त्याग, समर्पण, इमानदारी एवं कर्तव्यनिष्ठ व्यावहारबाट पाठ सिक्दै आफ्नो जीबनकालमा समृद्धि, भ्रष्टाचाररहित एवं कल्याणकारी नेपाल बनाउने अभियानमा संलग्न हुन चाहन्छु । त्यसैले नरोक्नुस् आमा, मलाई ‘म’ बन्नुछ । आमा आशीर्वाद दिनूस् ।