एक हजार आठ सय ८२ खुड्किला उक्लिँदा‘

२०७९ पुष १० गते, आईतवार

टेकराज पोखरेल

नवलपुर। ऐतिहासिक महत्व बोकेको नवलपरासी ९बर्दघाट(सुस्तापूर्व०को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन्।

पूर्व पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायम गर्न आउने गरेका छन्।

टाढा–टाढाबाट देवीको दर्शन गर्न श्रद्धालु आउने उल्लेख गर्दै ‘धार्मिक सेवा समिति मौलाकाली’का अध्यक्ष शालिकराम सापकोटाले स्थानीयवासी पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने बताए।

“ऐतिहासिक शक्तिपिठका रूपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गर्नुभएको छ”, उनले भने, “स्थानीय युवा भने व्यायाम गर्नका लागि दैनिकरूपमा मन्दिरमा आउने गरेका छन्।” अध्यक्ष सापकोटाले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजन उपस्थित बढी हुने बताए।

“मन्दिरमा दैनिकरूपमा दुई हजारभन्दा बढी श्रद्धालु आएर दर्शन गर्नुहुन्छ”, उनले भने, “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ।” मन्दिरमा विशेषगरी नवदुर्गा ९ठूलो दशैँ०, माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैते दशैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको सापकोटाको भनाइ छ।

“दशैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिस पाँच(छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष सापकोटाले भने, “विशेष पर्वमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ।

समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ। सोह्रौँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वत ९मौला पहाड०को नाम रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताए। “सोह्रौँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रूपमा अवस्थित थियो। राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उनले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे। सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए।”

विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको उनले बताए।

“भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, उनले भने, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेट्टाए।”

रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको पराजुलीले बताए।

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजनहरू आउन लागे”, पुजारी पराजुलीले भने, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ।”

“हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिन्छ”, उनले भने, “मन्दिरलाई स्थानीयस्तरबाट धेरैपटक पुनःस्थापित गरिएको छ।”

थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको उनले बताए। पहिला मन्दिरमा बलि दिने प्रचलन रहेको भए पनि मन्दिर व्यवस्थापन समितिले अहिले जनावरको बलि प्रथामा रोक लगाएको पराजुलीको भनाइ छ।

सहरी क्षेत्रबाट नजिकै भएकाले पनि यहाँ दर्शन गर्न तथा शारीरिक व्यायम गर्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढेको हो। “रनिङ बढाउन तथा विभिन्न एक्सरसाइजहरू गर्न हामी नियमितरूपमा मन्दिरमा आउने गरेका छौँ”, गैँडाकोटका शङ्कर श्रेष्ठले भने, “ब्रिटिस लाहुरेको तयारीका लागि पनि फिजिकल फिटनेस आवश्यक हुने भएकाले नियमित मन्दिर ओहोरदोहोर गर्छु।” नेपाली सेना, भारतीय सेना तथा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गरेका युवाहरू दैनिकरूपमा मन्दिरमा आउजाउ गर्छन्।

गैँडाकोटको जनक माविमा कक्षा १२ मा अध्ययनरत भरत सापकोटाले आफू शनिबार र बिदाको दिन मौलाकालिका मन्दिर पुग्ने गरेको बताए। “ब्रिटिस लाहुने बन्ने इच्छा छ, त्यसैले मेहेनत गर्ने गरेको छु”, उनले भने, “हामी समूहमा मन्दिर उक्लन्छौँ, दौडेर मन्दिर पुग्नका लागि करिब २२ मिनेट लाग्ने गरेको छ।” गर्मीमा भारी बोकेर मन्दिरको उकालो उक्लने गरेको भए पनि जाडो महिनामा रित्तै दौडिने गरेको सापकोटाको भनाइ छ।

विराटनगरबाट शनिबार बिहानै मौलाकालिका दर्शन गर्न आएकी सीता शर्माले मन्दिरको उकालो उक्लन निकै कठिन भएको बताइन्। “मौलाकालिका माताको महिमा सुनेर दर्शन गर्न आयौँ”, उनले भनिन्, “निकै उकालो बाटो हुँदा ठाउँ–ठाउँमा बसेर मन्दिर आउनै एकघण्टा भन्दा बढी लाग्यो।” उकालो बाटो चढेर मौलाकालिका मन्दिर पुग्न कठिन भए पनि मन्दिर पुगेर माताको दर्शन गर्दा र त्यहाँको वातावरणले आफूलाई छुट्टै प्रकारको खुसीको अनुभूति भएको उनको भनाइ छ।

स्वदेश तथा विदेशका विशिष्ट व्यक्तित्वले मन्दिरको दर्शन तथा सो क्षेत्रको भ्रमण गरेका छन्। सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ। (रासस)

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal