बत्ती बल्दै, अध्यारो हट्दै जुम्ला कालीकोटको …

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाडौं । झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव बोल्छ । अझ भनौं, गीतले समग्र कर्णालीको अवस्थाको चित्रण गरेको छ । प्रकृतिले अपार स्रोत र साधन दिए पनि कर्णाली प्रदेशका धेरै बस्तीले अझै पनि उज्यालो पाएको छैन ।

भौगोलिक विकटता र स्रोतको अभावमा कर्णाली प्रदेशले बिजुली बाल्न अझै पाएको छैन । आफ्नो गाउँ ठाउँमा बिजुली बाल्न भन्दै कर्णाली प्रदेशवासीले गरेको सङ्घर्ष पनि कम छैन । जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतले पटक–पटक भावकु हुँदै कर्णालीमा कहिले बिजुली बल्छ भनेर सोध्न थालेको पनि लामै समय भयो ।

देशभर कूल ९१ प्रतिशत घरधुरीमा बिजुली पुगेको विवरण सार्वजनिक हुँदा र त्यही विवरण सञ्चार माध्यमबाट थाहा पाउँदा झनै पीडामा परेका कर्णालीवासीले अब भने लामो समय पर्खनु नपर्ने भएको छ । पखाईका लामो पीडा अनि अभावकाबीचमा बाँचिरहेका कर्णाली प्रदेशवासीको सपनालाई अब छिट्टै सरकारले पूरा गर्ने भएको छ ।

त्यसका लागि मात्रै रु २५ अर्ब बराबरको लगानी हुने भएको छ । गायक एवं सङ्गीतकार सुरजको गीतले भने जस्तै निकट भविष्यमा नै कर्णाली प्रदेशका अँध्यारा बस्तीमा उज्यालो हुनेछ । अनि साँझमा सल्लाको दाउरा बालेर वा मट्टीतेलको खोजीमा भौतारिनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्रैमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् पुर्‍याउने भएको छ । प्राधिकरणले कर्णालीवासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युत्को पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको जनाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ ।

तीन नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत् पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिकाका कूल ७१८ वडामध्ये ३९३ मा विद्युत् पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ४४.९३ प्रतिशत मात्रै छ । बाँकी स्थानमा बिजुली पुर्‍याउन युद्धस्तरमा काम अगाडि बढेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक कठिनाई तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणमा ढिलाइ भए तापनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत् पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय प्रसारणलाइन पुर्‍याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत् (माइक्रो हाइड्रो) लगायतमार्फत विद्युतीकरण गरिने बताए । “कर्णालीमा विद्युतीकरणको खर्च र यहाँ खपत हुने विद्युत्को आम्दानीबाट लागतसमेत उठ्दैन, तर सबैको घरमा विद्युत् पुर्‍याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुको रुपमा लिएर काम गरिरहेका छौं”, घिसिङले भने ।

सरकारले एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी) बाट करिब रु २५ अर्ब सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गर्दै छ ।

यस्तै, सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुुँच विस्तारमा खर्च गरिरहेको छ । चालू आवमा कर्णाली प्रदेशमा विद्युतीकरणका लागि रु ६४ करोड बजेट रहेको छ । एआइआइबी र इआइबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणबाट विद्युतीकरण गर्न ठेक्का प्रक्रिया सुरु भएको छ । निर्माण व्यवसायीले काम नगरीदिँदा पनि विद्युतीकरणमा समस्या देखिएको छ । काम नगर्नेको ठेक्का तोड्ने र नयाँ प्रक्रियामार्फत निर्माण व्यवसायी छनोट गरी विद्युतीकरण गरिने घिसिङको भनाइ छ ।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९ग्रिड० र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति गरिरहेको छ । कूल ३३ र ११ केभी लामो प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भइरहेकाले ट्रिपिङ हुँदा लाइन जाने र न्यून भोल्टेजको समस्या पनि छ ।

बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । कर्णाली प्रदेशका जिल्लामा विद्युत् आपूर्तिका लागि ११ वटा ३३÷११ केभी वितरण सवस्टेशन निर्माणको विभिन्न चरणमा छन् । कोहलपुर–सुर्खेत–दैलेख १३२ प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा १३२÷३३÷११ केभी सवस्टेसन निर्माण सम्पन्न भएपछि कर्णाली क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

५५ प्रतिशतलाई निःशुल्क
विद्युत् पहुँच पुगेका कर्णाली प्रदेशका करिब ५५ प्रतिशत घरधुरीले २० युनिटसम्मको निःशुल्क विद्युत्को सुविधा उपभोग गरिहेका छन् । यस प्रदेशमा प्राधिकरणका एक लाख १४ हजार ३०० ग्राहकमध्ये ६२ हजार ६०० घरायसी ग्राहकले निःशुल्क विद्युत्को सुविधा उपभोग गरिहेका हुन् । सरकारले ५ एम्पियर मिटर राख्ने घरायसी ग्राहकलाई २० युनिटसम्मको ऊर्जा निःशुल्क गरेको छ । त्यस्ता ग्राहकले न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्छ । प्राधिकरणको विद्युत् बिक्रीबाट गर्ने आम्दानीमा ०.८ प्रतिशत हिस्सा मात्रै कर्णाली प्रदेशको छ ।

कालीकोटमा सवस्टेसन सञ्चालनमा
कालीकोटमा अस्थायी रुपमा निर्माण गरिएको ३३÷११ केभी, ३ एमभिए क्षमताको सवस्टेसन आइतबारदेखि सञ्चालनमा आएको छ । दैलेख–कालीकोट करिब ६६ किलोमिटर ३३ केभी लाइन पनि सञ्चालनमा ल्याइएको छ । कालीकोटमा ३३÷११ केभी सवस्टेसन पनि निर्माणाधीन छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शुम्भु कुसियत यादवका अनुसार अस्थायी सवस्टेसन सञ्चालनमा आएपछि कालीकोट र जुम्लाको विद्युत् आपूर्तिमा सुधार हुने छ ।
“ अहिले दैलेखबाट करिब १५० किलोमिटर लामो ११ केभी लाइनबाट जुम्लामा विद्युत् आपूर्ति भइरहेको थियो, अब यस सवस्टेसनबाट दिँदा जुम्ला र कालीकोटको विद्युत् आपूर्तिमा सुधार हुने छ”, प्रमुख यादवले भने, “कुनै एक ठाउँमा अवरोध हुँदा पूरै क्षेत्रमा बत्ती जाने अवस्था पनि कम हुने छ ।” हाल जुल्लामा समस्या आएमा कालीकोट र दैलेखको पनि बत्ती जाने अवस्था थियो । कर्णाली प्रदेशमा बिजुली पुगेपछि गायक तथा सङ्गीतकार मिलन लामाले गीतमा भने जस्तै ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको ’ ‘..अवस्था आउनेछ ? भनिनेछ ‘बत्ती बल्यो, बस्ती झुल्यो जुम्ला कालीकोटको ।’ रासस

17 Views

ताजा

रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी

२०७९ जेष्ठ १ गते, आईतवार

रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी

२०७९ जेष्ठ १ गते, आईतवार

यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा

२०७९ जेष्ठ १ गते, आईतवार

चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित

२०७९ जेष्ठ १ गते, आईतवार

टीकापुर– ५ मा रेशम चौधरीको प्यानलै विजयी

२०७९ जेष्ठ १ गते, आईतवार

जनकपुरमा कांग्रेसका बागी मनोज साहको ७ गुणा बढी मत

२०७९ जेष्ठ १ गते, आईतवार

रुपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राप्रपाको प्यानलै विजयी

२०७९ जेष्ठ १ गते, आईतवार

मतान्तर बढाउँदै बालेन शाह, पछ्याउँदै स्थापित

२०७९ जेष्ठ १ गते, आईतवार

जनकपुरधाम–१ मा काँग्रेसको पुरै प्यानल विजयी

२०७९ जेष्ठ १ गते, आईतवार

आजदेखि सातामा दुई दिन बिदा

२०७९ जेष्ठ १ गते, आईतवार

भरतपुरमा रेणुलाई पछयाउँदै सुवेदी

२०७९ बैशाख ३१ गते, शनिबार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal