लेबनानमा विद्युत सेवा ठप्प
एजेन्सी । लेबनानमा विद्युत आपूर्ति ठप्प भएको छ । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार भएको छ ।
इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु बन्द भएको सरकारी अधिकारीले समाचार संस्था रोयटर्ससँग बताएका छन् । डेइर अमार र जाहरानी उर्जा केन्द्र बन्द हुँदा विद्युत सेवा रोकिएको हो ।
शनिबार दिउँसोदेखि उर्जा केन्द्रहरु बन्द भएका हुन् । अझै केही दिन ती केन्द्रहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीले बताएका छन् ।
पछिल्लो १८ महिनादेखि लेबनानमा गम्भीर आर्थिक संकट छ । यस्तै इन्धनको अभाव पनि गम्भीर बनेको छ ।
आर्थिक संकटले लेबनानका आधा मानिस गरिबीमा धकेलिएका छन् । लेबनानको मुद्राको मूल्य शुन्य प्राय भएको छ ।
आर्थिक संकटका कारण देशमा राजनीतिज्ञविरुद्ध ठूला प्रदर्शनहरु पनि भएका छन् । विदेशी मुद्रा नहुँदा इन्धन आपूर्ति गर्ने विदेशी फर्मलाई पैसा तिर्न सरकार असफल भएको छ ।
इन्धनको अभावका कारण डिजलका कारण चल्ने निजी जेनेरेटर पनि सञ्चालन हुन सकेका छैनन्।