हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण

२०७८ बैशाख ३ गते, शुक्रबार

ललितपुर । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।
सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज ९लक्ष्मीनारायण० को मूर्ति रहेको थियो । जम्मा ७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ । मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ ।
सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो । त्यसपछि नै मूर्तिका बारेमा छलफल भएर फिर्ता ल्याउन प्रक्रिया शुरु भएको थियो । विभागले मूर्तिका बारेमा आवश्यक जानकारी सङ्कलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो । प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ ।
विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबैको समन्वयमा हराएको मूर्ति फर्काउन सकिएको बताए । मूर्ति फर्कंदा हराएको छोरो घर फर्किएजस्तै भएको उनको भनाइ छ । कुनै पनि मन्दिरका मूर्ति स्थनीय तह र स्थानीयवासीसँगको सक्रियता भएमा मन्दिरमा राख्न सकिने उनले बताए । उनले भने, “त्यसका लागि स्थानीयस्तरमा हामी त्यसको संरक्षण गर्न सक्छौँ भन्ने भावना हुनुपर्छ ।”
विभागका महानिर्देशक गौतमले कुनै पनि ठाउँबाट त्यहाँको सम्पदा बाहिरिन नपाओस् भनेर स्थानीयस्तरमा सचेतना हुनुपर्ने बताउनुभयो । विगतमा हराएका कतिपय मूर्ति फर्काइएको र कतिपय फर्काउने क्रममा रहेको उनको भनाइ छ । उनले भने, “सबैले समन्वय गरेर लागेमा फर्काउन सकिन्छ ।” महानगरपालिकाका प्रमुख महर्जनले महानगरभित्र रहेका सम्पदाको संरक्षण गर्न महानगर लागिपरेको बताए । सो मूर्ति फर्किएकामा खुशी व्यक्त गर्दै उहाँले त्यसको सुरक्षामा ध्यान पु¥याइने बताए ।
सन् १९५० भन्दा पहिलेसम्म कति कलाकृति बाहिरियो भन्ने रेकर्ड नभए पनि त्यो समयमा धेरै सम्पदा बाहिरिएको विभिन्न घटनाले देखाएको छ । खासगरी १९७०, १९८० र १९९० को दशकमा धेरै कलाकृति बाहिरिएको पाइन्छ । सन् २००० पछि भने सांस्कृतिक वस्तुको चोरी र निकासी कम हुन थालेको पाइन्छ । आम नागरिकमा सांस्कृतिक महत्व बुझ्दै जाँदा यी वस्तु यथास्थानमा नै प्रतिस्थापन गर्नुपर्छ भन्ने भावना बढ्दै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनको विकासले नेपालभन्दा बाहिर गैरकानूनीरूपमा निकासी भएका सम्पदा फर्काउन थालिएको विभागले जनाएको छ ।
युनेस्कोको सन् १९७० को गैरकानूनीरूपमा सांस्कृतिक वस्तुको चोरी निकासी र ओसारपसारलाई रोक लगाउनेसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएसँगै यस्ता सम्पदा क्रमशः फर्किएको विभागले जनाएको छ । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक, अमेरिकाबाट १०, तिब्बतबाट २८ र जर्मनीबाट एक थान मूर्ति फिर्ता भइसकेको छ । (रासस)

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal