काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार
काठमाडौं । आगामी नीति अधिवेशनमा काँग्रेसमा नयाँ धार जन्माउने प्रयास शुरु गरिएको छ । जसका लागि गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको स्वर एकजुट हुन थालेको छ । १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको टीमबाट महामन्त्री बनेका थापा पछिल्लो समय पार्टी रुपान्तरणको विचार अगाडि बढाउनेहरुसँग नजिकिएका छन् भने डा. शेखरसँग गगनको अविश्वास बढेको छ । शेखर–गगनको अविश्वासले संस्थापन ईतरपक्ष कमजोर बनेको जानकारहरुले बताएका छन् । ईतरपक्ष कमजोर हुँदा सभापति शेरबहादुर देउवाको एकलौटी चुलिएको छ ।
आशा गरिएका वरिष्ठ नेता कोइराला र महामन्त्री थापाबीच दुरी बढ्दा कार्यकर्ताहरु बेचैन बन्न पुगेका छन् । गत संसदीय दलको परिणामबाट शेखर–गगनवीच चुलिएको असन्टुष्टि कोशी प्रदेशमा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि थप चुलिन पुगेको छ । १५औं महाधिवेशन आउन अब २ वर्ष मात्र बाँकी छ । १५औं महाधिवेशनमा देउवालाई सभापति बन्न विधानले दिँदैन । त्यसैले देउवाले एकचोटी २०८४ को चुनावभन्दा अगाडि प्रधानमन्त्री बन्ने सपना देखेका छन् । यता देउवालाई अभिभावक भएर बस्न महामन्त्री थापाले सुझाएका छन् । काँग्रेसमा परम्परागत देउवा गुटलाई भत्काएर नयाँ धार जन्माउने अभियानमा जुटेका गगन–विश्व र प्रदीपको समूहले युवाहरुलाई समेटेर नेतृत्व गर्ने तयारी गरेका हुन् । काँग्रेसमा दोश्रो पुस्ताका नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको राजनीतिमा खिया लागेको अवस्था छ । डा. शेखरले पनि पार्टी सञ्चालनमा खासै भूमिका निभाउन सकेका छैनन् । काँग्रेसमा नेताहरु नसच्चिएर सकिने निश्चित छ । कसैलाई नचिढ्याई आफ्नो मिसनमा अलमल नगरी अगाडि बढ्ने महामन्त्री थापाको रणनीतिमा सारथी बनेका शर्मा र पौडेलजस्ता युवा नेताहरुको एकजुटले काँग्रेसमा आशा र विश्वास बढेको छ ।
पछिल्लो समय डा. शेखरलाई पछि पार्दै महामन्त्री थापा पहाडी जिल्लाहरुको भ्रमणमा निस्किएका छन् । आगामी १५औं महाधिवेशन अगाडि देशैभरी डुलेर माहोल बुझ्ने र १५औं महाधिवेशनमा नेतृत्व लिने सोंचमा थापा रहेको काँग्रेस श्रोतले बताएको छ । काँग्रेसमा युवा धारको नेतृत्व गर्न तम्सिएका महामन्त्री थापा विपक्षी कित्ताले समेत पछ्याएका नेता हुन् । काँग्रेसमा गगन–विश्व र प्रदीपको जमघटले जनताको अवस्था पनि परिवर्तन हुने बताइएको छ । जसका लागि युवा नेताहरुले पार्टी भित्रका पुराना नेताहरुलाई हस्तक्षेप गरी अगाडि बढ्ने तयारीमा जुटेका छन् । यता आज र भोलि काँग्रेसले लुम्बिनी प्रदेश सम्मेलन गर्दैछ ।