टी–२० विश्वकपः उपाधिको लागि नेपाल र ओमान भिड्दै
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपाधिका लागि नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल आइतबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेल्न लागेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।
अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपालले समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय बेहोर्यो । नेपालले ग्रुप स्टेजमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल समूह चरणको अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भयो । त्यसका बाबजुद नेपालले सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै दोस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भयो ।