छोराले सरकारी जागिर खा‌ओस् भन्ने चाहन्थे दिपेन्द्रका बुवा

२०८० आश्विन ११ गते, बिहीबार

महेन्द्रनगर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उहाँका बुवा गगनसिंह ऐरीले सुनाउनुभयो । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उहाँ बताउनुहुन्छ ।

“घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे”, छोराको सफलताले हर्षित गगनसिंह भन्नुहुन्छ, “चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।”

एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झनुभयो । “चार छोरामध्ये साइँलो हो, दीपेन्द्र”, उहाँले भन्नुभयो, “छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।”

विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र उच्च माध्यमिक शिक्षा अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे ।

“स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो”, उहाँले भन्नुभयो, “खेलप्रतिको लगाव र महेनतकै कारण आज उ सफलतातर्फ लम्किँदैछ । दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन् ।” सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उहाँ बताउनुहुन्छ ।

करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताउनुभएका गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौउर बसाइँ सर्नुभएको थियो । नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन् । “छोरालाई जहिल्यै अनुशासन र गलत लतमा नपरोस् भनेर सम्झाउने गर्थे”, उहाँ भन्नुहुन्छ, “समयअनुसार परिपक्क हुँदै अहिले देशको नाम विश्वमा चर्चामा ल्याउने स्तरको भयो ।”

बुवा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी हुनुहुन्थ्यो भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेल्नुभएको थियो । “छोरी राजमती पनि अहिले सशस्त्र प्रहरी बलमा जागिरे भएर एपीएफ क्लबमा क्रिकेट नै खेल्छिन्”, उहाँ भन्नुहुन्छ, “छोराछोरीको प्रगति नै जीवनको ठूलो सुख रहेछ । क्रिकेटको विकासका लागि सरकारले नै ध्यान दिनुपर्छ ।”

एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुन् । महेन्द्रनगरमा दीपेन्द्रलाई प्रशिक्षण गराएका स्वयंसेवक प्रशिक्षक वीरेन्द्र शाही सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेटमा आएको बताउनुुहुन्छ ।

“निकै मेहनती र क्रिकेटलाई नै जीन्दगी ठानेर उ अघि बढिरह्यो”, उहाँ भन्नुहुन्छ, “क्रिकेटप्रतिको लगावकै कारण आज सफलताको शिखरतर्फ दीपेन्द्र अघि बढ्दै छ ।” दीपेन्द्रले पढाइभन्दा पनि त्यो बेलादेखि नै खेललाई बढी महत्व दिँदै आएको उहाँको भनाइ छ ।

“म प्याब्सनको अध्यक्ष हुँदा दीपेन्द्र सुकासालको विद्यालयमा पढ्थ्यो”, नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष एवं महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूलका सञ्चालक दीपकराज चालिसे भन्नुहुन्छ, “प्याब्सनको खेल हुँदा उसको खेल देखेरै मैले दीपेन्द्रलाई क्रिकेटमा आउन सुझाए । स्कूलस्तरमा खेल्ने शैली र मेहनतबाट प्रभावित भएरै क्रिकेटमा ल्याउन पहल गरिएको हो ।”

“हामीकहाँ नै भर्ना भएपछि सन् २०१४ देखि नै अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा उ सहभागी हुन थाल्यो”, उहाँ बताउनुुहुन्छ, “त्यो बेलादेखि अध्ययनभन्दा पनि खेलमै दीपेन्द्रको बढी जोड थियो ।”रासस

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal