३ वटै निर्वाचन क्षेत्रमा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

२०८० बैशाख ७ गते, बिहीबार

दिपु खड्का
काठमाडौं । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा मतदान गर्न ३ दिन मात्रै बाँकी रहँदा आज मध्यरातीबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १० गते मतदान हुने यो उपनिर्वाचनले यसपटक आम निर्वाचनको भन्दा बढी चर्चा पाएको छ । स्थापित पुराना दल र नयाँ दलको तीब्र प्रतिस्पर्धा भएका कारण यो उपनिर्वाचनको व्यापक चर्चा परिचर्चा भएको हो । यो उप निर्वाचनको परिणाम पुराना राजनीतिक दलहरुको भविष्यसँग समेत जोडिएको टिप्पणी यतिबेला भइरहेको छ ।

चितवनको क्षेत्र नंं २, तनहुँको क्षेत्र नं. १ र बाराको क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । नागरिकता प्रकरणका कारण चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पद खारेज, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका कारण तीन निर्वाचन क्षेत्र रिक्त भएका कारण प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नु परेको हो ।

उपनिर्वाचननमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जस्तै सत्तारुढ गठबन्धनका प्रमुख दलहरुले निर्वाचनमा मोर्चाबन्दी गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारकै सहयोगी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी एकल रुपमा चुनावी मैदानमा खडा भएका छन् । यसकारण पनि यो उपनिर्वाचनमा कसले विजयी हासिल गर्ला भन्ने कुराले सबैको ध्यान त्यतातिर केन्द्रीत हुन पुगेको छ ।

आफ्नै कमजोरीका कारण पद गुमाउन पुगेका रास्वपाका सभापति रवि लामिछाने चितवनको क्षेत्र नं. २ मा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली काँग्रेसका जित नारायण श्रेष्ठले चुनौती दिइरहेका छन् । उता, पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको चितवनको क्षेत्र नं. १ मा नेपाली काँग्रेसले नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र रास्वपाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलाई उम्मेदवारी दिएको छ । बारा क्षेत्र नं. २ मा भने जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका प्रभावशाली नेता पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् । उपनिर्वाचनमा अधिकांश उम्मेदवारहरु ‘हेभीवेट’ भएका कारण पनि तिनै क्षेत्रको प्रतिस्पर्धा रोचक बन्न पुगेको हो ।

यस उपनिर्वाचनमा यही उम्मेदवारले जित हासिल गर्छ भन्ने पूर्वानुमान कसैले गर्न सकिरहेको अवस्था छैन । यद्यपि रास्वपा र नेकपा एमालेका उम्मेदवारहरुको तुलनामा सत्ता गठबन्धनका उम्मेदवारहरु कमजोर रहेको चर्चा राजनीतिक वृत्तमा चल्ने गरेको छ । स्थानीय भए पनि चितवन क्षेत्र नं. २ का काँग्रेस उम्मेदवार जित नारायण श्रेष्ठ विगतको आफ्नै अभिव्यक्तिका अप्ठ्यारोमा छन् । नेकपा माओवादी केन्द्र र जसपालगायतका दलहरुले उनलाई सहयोग गर्ने बताइए पनि उनीहरु मौन बसेका छन् । स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री रेणु र नेकपा माओवादी केन्द्रलाई मत हाल्नु भन्दा बरु आफ्नै हात काट्ने उनको अभिव्यक्तिले श्रेष्ठलाई भन्दा नेकपा एमालेका उम्मेदवारलाई मत हाल्ने सम्भावना त्यहाँ बलियो बन्दै गएको छ । जसका कारण कतिपयले यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार न्यौपाने र रास्वपाका सभापति लामिछानेबीच कडा टक्कर हुन सक्ने अड्कलबाजी गरिरहेका छन् ।
विगतमा जस्तो लामिछानेको लोकप्रियता पनि यसपटक छैन । उनकै कारणले उपनिर्वाचन भएको र पासपोर्टसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण फेरि पनि उपनिर्वाचन गर्नुपर्ने हो कि भन्ने प्रश्न मतदाताहरुले भित्रभित्रै गरिरहेका छन् । त्यसमाथि पनि निर्वाचनको मुखमै आएर समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मन्त्रि बन्नका लागि दुई करोड पार्टीलाई बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईसँग गरेको २ करोड बार्गेनिङको अडियो टेप सार्वजनिक भएपछि लामिछाने माथि नै प्रश्न गर्नेहरुको कमि छैन ।

श्रेष्ठले अडियो टेपमा प्रसाईसँग प्राप्त रकम पार्टीको कोर टिमलाई बुझाउनु पर्ने बताएका थिए । कोर टिममा सभापति लामिछाने, उनकी श्रीमती निकिता पौडेल, पार्टी उपाध्यक्ष डोरप्रसाद अर्याल र दिपक बोहोरा रहेको सार्वजनिक भइसकेको छ । त्यसमाथि उनका सवारी चालक दुर्घटनामा परेको विषयलाई समेत कतिपयले शंकाको नजरले हेर्ने गरेका छन् । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका परिघटनाले यसपटक सो क्षेत्रमा लामिछानेले जित हासिल गर्नका लागि ठूलै मेहनत गर्नुपर्ने विश्लेषण गरिएको छ । गत निर्वाचनमा लामिछानेले निर्वाचनकै सर्वाधिक बढी ३४ हजार २८१ मतान्तरले विजय हासिल गरेका थिए ।
उता जसपा अध्यक्ष यादव उम्मेदवार रहेको बारा क्षेत्र नं. २ मा पनि चुनावी प्रतिस्पर्धा पेचिलो देखिएको छ । मधेसको नाम भजाएर सत्ता र शक्तिका लागि सधैं बार्गेनिङ गर्ने आरोप खेपिरहेका यादवमाथि निर्वाचन क्षेत्र परिवर्तन गरिरहने गरेको आरोप पनि छ । निर्वाचन क्षेत्रको विकास र स्थानीयको हितका लागि भन्दा पनि सत्ता बाहिर रहँदाको छटपछि शान्त गर्न उनी पुनः उम्मेदवार बनेको र विजयी भएको खण्डमा फेरि पनि सत्ताका लागि सौदाबाजी गर्ने भएका कारण पनि उनलाई पराजित गर्नुपर्ने बलियो मत त्यस क्षेत्रमा छ । निर्वाचनमा गठबन्धन गरेका अन्य दलहरुले इमान्दारितापूर्वक सहयोग गर्ने सम्भावना न्यून र मधेसको उदाउँदो शक्ति जनमत पार्टीले उनलाई पराजित गराउनका लागि अख्तियार गरिरहेको रणनीतिले मंसिर ४ गतेको जस्तै यो निर्वाचनमा पनि उनले पराजय व्यहोर्नु पर्ने सम्भावना बढि रहेको विश्लेषण भइरहेको छ ।

तनहुँ क्षेत्र नं. १ को अवस्था पनि उस्तै छ । नेपाली काँग्रेस, नेकपा एमाले र रास्वपाका उम्मेदवारहरुबीच त्रिपक्षीय रोचक प्रतिस्पर्धा रहेका कारण त्यहाँ पनि पूर्वानुमान गर्न निकै कठिन बनेको विश्लेषकहरुको भनाई छ ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal