जमिन बाँझाे नछाेडी खेती गर्नुपर्छ, कृषिमा आत्मनिर्भर हुनुपर्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाण्डाैमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता हामीले संविधानमै गर्याैँ ।
अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छाैँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभूत कुरा चाहिँ तीन वटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ ।
कृषिप्रधान देश, उर्बरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्दा र आधुनिक मल, बिउ र यान्त्रिकीकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ ।’
मन्त्री भुसालले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताउनुभयो । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उहाँको भनाइ छ ।