जहाँ चिच्याएर वर मागिन्छ

२०७८ पुष ५ गते, सोमबार

बलेवा । मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि। स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ। धार्मिक परम्पराअनुसार यो पूर्णिमाको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यवती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ।

दुई वर्षयता कोरोना महामारीका कारण साग्दी पुग्न नसकेका गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजन यो वर्ष बागलुङको बरेङ पुगेका थिए। आइतबार बिहानै भक्तालुले चिच्याएर वर मागे। शनिबार दिउँसोदेखि साग्दीमा जम्मा भएका भक्तजनले वर मागेपछि मन्दिरमा पूजाआजा र बलि दिएका थिए। दुई वर्ष पहिला पूर्णिमाको दिनमात्रै १० हजारभन्दा बढी भक्तालुले चिच्याएर वर मागेका थिए।

तर यो वर्ष सङ्ख्या कम रहेको वडाध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले बताइन्। पूजाको अवसर पारेर स्थानीय क्लबहरूले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने गरेका छन्। ‘शनिबार राति आएका भक्तजनले चिच्याएर वर मागे, आज साँझसम्म पूजा र बलिको कार्यक्रम चलिरहेको छ, क्षेत्रीले भने, ‘अबेरसम्म एक हजारभन्दा बढी भक्तजन पूजाका लागि लाइनमा छन्।’

विशेषगरी पूर्णिमाको रात प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व वर माग्नुपर्ने मान्यता रहेको भए पनि मङ्सिर र पुसभर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यताले सत्यवतीमा भक्तजन पुग्ने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन्। सत्यवतीमा पूजाका लागि गाउँपालिकाले स्वयंसेवक परिचालन गरेको थियो। पूर्णिमामा भीड बढी हुने भएकाले गाउँपालिकाले व्यवस्थापन गर्ने गरेको हो।

बरेङको सत्यवतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायत जिल्लाबाट भक्तालु पुग्ने गरेका छन्। परापूर्वकालमा महाशक्ति सत्यवती बराजुले चिच्याएर वर माग्दा दिनको उज्यालोमा मागेको वर अरू कसैले सुन्ने र बराजुले वर दिन नसक्ने मान्यतानुसार हरेक वर्षको दिवाली पूर्णिमाको दिन भक्तालु त्यहाँ पुगेर वर माग्ने गरेको बरेङका स्थानीय ज्येष्ठ नागरिकले बताए। सत्यवतीमा पुगेर रातमा मागेको वर पूरा हुने विश्वासले भक्तालुहरू त्यहाँ पुग्ने गरेका छन्।

सत्यवती बराजु बहिरा रहेकाले चिच्याएर वर माग्नुपर्ने र वर मागेको अरू कसैले देख्न नहुने मान्यता छ। पहिले हप्तौँ लामो बाटो हिँडेर सत्यवती पुग्ने गरेका भक्तालु यसवर्ष भने सवारीसाधनको प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन्। रातिको समयमा वर माग्नुपर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नुपर्ने र पूर्णिमाको रात वर माग्नका लागि रातमा लाइन बस्नुपर्ने भएकाले भक्तालुलाई समस्या हुने गरेको सवारी चालक हर्कबहादुर तामाङ बताउँछन्।

पहिलेजस्तो यातायातको समस्या नभए पनि खान र बस्न समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुले बताउने गरेका छन्। हाल सत्यवती जानका लागि बागलुङ बजार हुँदै दुदिलाभाटी बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङ हुँदै बाटाकाचौरसम्म कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको शर्माले बताए।

हाल मन्दिर आसपासमा निर्माण गरिएका दुई वटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पूर्वाधार नभएको स्थानीयवासी बताउँछन्। गाउँपालिकाले रणनीतिक योजना नै बनाएर सडक सञ्जालसँग सत्यवतीलाई जोडेको छ।

आदिकालमा सत्यवती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनलाई वर दिने गरेको किंवदन्तीका आधारमा भक्तालु त्यहाँ जाने गरेको बूढापाकाहरू बताउँछन्। पाल्पामा रहेको सत्यवती बराजु र गुल्मीमा रहेको मालिका माईको भने कार्तिक शुक्ल पूर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ। (रासस)

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal