नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
१३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् । सोमबारको मतदानमा ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए ।
सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाएका थिए । उनले २२५८, निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले १७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।