पुर्वमन्त्री गौचनद्धारा राप्रपा उपाध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेता तथा पुर्व मन्त्री जगत प्रसाद गौचनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्वमन्त्री गौचनले जनतालाई गरेको वाचा पुरा गर्न राजेन्द्र लिङदेनको प्यानलबाट उम्मेदवारी दिने बताए । राप्रपाको महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ ।
२०६५ साल जेठ १५ गते संसद भवनबाट गणतन्त्र घोषणा हुन गईरहेको समयमा आफु एक्लैले टुडिखेलमा गणतन्त्रको विरोधमा विरोध जुलुश निकालेको सुनाउदै उनले भने, ‘त्यत्तिबेला सम्बोधनको क्रममा मैले तपाईहरुले आन्दोलन गरेर वार्ता गरेर आन्दोलन स्थागित भएको मात्र हो कुनै वार पार भएको छैन् । तर, तपाईहरुले धोका दिनुभयो । सच्चाउनु होस् नत्र गणतन्त्र ढालिदिन्छौ भनेको थिए ।’ हिजो आफुले थापेको जगमा अहिले सारा देश हिड्न थालेको उनको भनाई थियो । १२ बुंदे सहमती गर्ने नेताहरु पनि आफै असफल भएको उनले आरोप लगाए ।
अब राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए । राप्रपाको आसन्न महाधिवेशनबाट नयाँ युवाहरुको नेतृत्व आउनुपर्नेमा जोड दिँदै उनले भने, पुराना र परिपक्क नेताहरुले अब मार्गदर्शन गर्नुपर्छ । संरक्षक भएर बस्नुपर्छ, युवाहरुलाई अगाडी आउन दिनपर्छ ।’ आन्दोलनलाई सफल पार्न र जनताहरुसँग गरेको वाचा पु्र्याउन आफुले उम्मेदवारी दिन लागेको गौचनले बताए ।
२०४६ पछि सम्पुर्ण पार्टीहरुको नेतृत्वमा बसेकाहरुले मुलुकलाई समृद्ध बनाउन नसकेको उनले आरोप लगाए । उनले भने, ‘कसैले पनि कुनै दिशा दिन सकेनन् । अब नयाँ पुस्ताहरु नेतृत्वमा आउन पर्छ भन्ने मेरो मान्यता छ ।’ उनले पुरानो पुस्तालाई संरक्षकमा राखेर सहमति गरेर अगाडी बढ्ने भन्दै यदी सहमति हुन नसकेमा चुनावी मैदानमा उत्रिन आफु तयार भएको उनले बताए ।