पार्टी एकता कायम राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि हो- नेका सहमहामन्त्री डा.प्रकाशशरण महत
जावलाखेल (ललितपुर) । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट पार्टी र अन्य पार्टीहरु पनि विभाजित भैरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको समुद्घाटन समरोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डा.महतले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो । पार्टीको भातृ संगठन र विभागहरुको गठनमा विलम्ब नगरौ,सहमति नजुटे बहुमतबाट जाऔ भनेर सल्लाह आउदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उहाँले भन्नुभयो,“सभापतिले कम्युनिष्टहरुको गतिविधि मैले हेरिरहेको छ । चुनावमा बहुमत ल्याए । अहंकार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुसी लाद्नु भएन ।”
पार्टीमा आफू बहुमतमा भएपनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबूझपूर्ण, दूरदर्शी र बुद्धिमतापूर्ण भएको उहाँले दावी गर्नुभयो । त्यसले समयमा निर्णय नभएर पार्टीलाई भएको क्षतिको पूर्ति पार्टी एकताबद्ध रहेर भएको बताउनुभयो ।
नेपाली काग्रेसका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा भैरहेको पनि बताउनुभयो । उहाँले पार्टीको क्रियाशील सदस्यता दोब्बर भएको पनि उल्लेख गर्नुभयो । उहाँले पहिले पार्टीको क्रियाशील सदस्यको संख्या साढे ४ लाख रहेको स्मरण गर्दै भन्नुभयो,“यसपटक झण्डै १०लाख पुगेको छ । युवा पिडीको ठूलो सहभागिता भएको छ ।”
उहाँले यसपटक पार्टीको विधान पनि संविधानसभाले जारी गरेको संविधानको अक्षर र भावनासंग तादात्म्य रहने गरी बनाइएकोले पार्टी तल्लो तहदेखि नै अरु बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको पनि बताउनुभयो ।