उद्घाटन सत्रमा मानव सागर उर्लिर्ने भट्टराईको दाबी
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव सागर उर्लिने बताएका छन् ।
महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि दिउँसो नदी किनारमा मानव समुद्र उर्लिने बताएका हुन् ।
प्रेस चौतारी चितवनले महाधिवेशन उद्घाटन स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले तयारी शतप्रतिशत नजिक भएको भन्दै सभामा ५ लाखको जनसहभागिता रहने दावी गरे । एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताए । नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिने उनको भनाइ छ ।
चितवनमा बढी भन्दा बढी जनसहभागिता गराउन जिल्लाका विभिन्न ठाँउमा जनताको घरघरमा एमालेका नेता कार्यकर्ता पुगेर निम्ता गरेको नेता भट्टराईले बताए । एमाले उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालले जनाएको छ । उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन गरिने उनको भनाइ छ ।