ओलीलाई टक्कर दिन रावल भिड्ने
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । एमालेले महाधिवेशनलाई सफल पार्न विभिन्न समिति बनाएर काम अघि बढाइरहेको छ ।
महाधिवेशनको तयारीका लागि समितिले काम गरिरहेको छ । महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै अध्यक्ष उठ्ने निश्चितजस्तै छ । ओलीको विरुद्धमा उठ्छु भनेर अहिलेसम्म कसैले भन्न सकेका छैनन् । ओलीले अध्यक्ष रहेर पार्टीमा गरेको योगदानको सर्वत्र चर्चा गरिएको छ । ओलीले पार्टी बनाएको र देशव्यापी संगठन गरेकाले पनि ओलीको विकल्पमा कसैले कल्पना पनि गर्न सक्दैनन् ।
ओलीले प्रधानमन्त्री हुँदा गरेका विकास निर्माणका कामले पनि उनलाई थप बलियो बनाएको छ । कोहीसँग पनि नझुक्ने र प्रष्ट विचार लिएर अघि बढेकाले नै उनको जय जयकार गाउन थालिएको छ । राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको उनको अडानले नेपालीमात्र होइन विश्व नै चकित छ । ओलीले ५ वर्षसम्म आफ्नो कार्यकाल पूरा गर्न पाएका भए उनको प्रतिष्पर्धामा नेपालका कोही पनि नेता पुग्न सक्दैनथे तर जति काम गरे ती सबै स्मरणीय छन् । ओलीको सर्वत्र प्रशंसा हुन थालेपछि नै देशी विदेशी तत्वको चलखेलमा उनलाई प्रधानमन्त्रीबाट हटाइएको प्रष्टै छ । कुनै पनि विदेशीको दलाली नगर्ने र सत्य कुराको अडान लिएका कारण नै उनी पटक पटक विभिन्न पक्षको निशाना बन्दै आए पनि कहिल्यै पनि चुकेनन् र झुकेनन् ।
ओलीले अध्यक्ष भएर पार्टी विस्तारसँगै सरकारलाई पनि राम्रोसँग सञ्चालन गरेका थिए । अलपत्र परेका राष्ट्रिय गौरवका आयोजनालाई सञ्चालन गर्नु, जनताको दैनिक जीवनस्तर उकास्ने काम गर्नु, अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्नु चानचुने उपलब्धी होइन । आफू सरकारमा हुँदा काम नगर्ने र बाहिर बसेर सधैं विरोध गरिरहनेले नै उनीमाथि प्रहार गर्दै आए । ओली पछिल्लो समयमा देशव्यापी पार्टी विस्तार अभियानमा लागेका छन् । उनी जहाँ गएर भाषण गर्दा पनि जनताले राम्रो समर्थन गरेका छन् भनें सयौंका संख्यामा पार्टी प्रवेश गर्नेको लहर पनि चलेको छ । ओलीले नेकपा फुटाउन र एमालेलाई विभाजन गर्न पनि ठूलो खेल भएको आरोप लगाउँदै आएका छन् । ओलीले भारतले नेपालको भूमी मिचेर आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्ने पहल गरेकै कारण उनी निशाना बनेका थिए । भारत नेपालमाथि सधैं आफ्नो आधिपत्य जमाउन चाहने भएकाले पनि ओलीको सरकार भारतको लागि पनि बाधक बन्न पुग्यो त्यसैले पनि भारत पनि ओलीको विपक्षमा रहन गयो ।
मंगलबार आफ्नो गृहजिल्ला अछाम पुगेर नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आफू पनि अध्यक्षमा उठ्न सक्ने बताए । कार्यकर्ताले अध्यक्ष उठ्नुपर्छ भनेपछि हौसिएका उनले निर्वाचनमा जीत र हारलाई स्वाभाविक ढंगले लिनुपर्ने पनि उल्लेख गरे । उनले कार्यकर्ताको भावनाको सम्वोधन गर्ने र आफू पछि नहट्ने बताए । रावल राजनीतिक रुपमा अस्थिर पात्रका रुपमा चिनिन्छन् । आफ्नो फाइदका लागि पार्टीलाई जे पनि गर्न तयार हुने पात्रका रुपमा रावल चिनिँदै आएका छन् । उनी अध्यक्ष ओलीलाई धम्क्याउन पनि पछि पर्दैनन् । सरकार सञ्चालन गर्दा पनि प्रधानमन्त्रीको विरुद्धमा सबैभन्दा बढी आलोचना गर्ने रावल नै थिए । रावल हिजोको दिनमा माधवकुमार नेपालसँग लागेर पाइलैपिच्छे ओलीको विरुद्धमा आवाज बोल्दै आएका हुन् । सत्तामा जान मरिहत्ते गर्ने उनको स्वभाव र आचरण सबै कार्यकर्ताले बुझेकाले पनि रावलको प्रत्येक अभिव्यक्तिलाई पार्टीका नेता तथा कार्यकर्ताले नजिकैबाट बुझेका छन् ।
ओलीको नेतृत्वमा नै पार्टी एकपटक सशक्त ढंगले अघि बढ्ने भएकाले कुनै पनि नेता र कार्यकर्ताले ओलीको विकल्पमा कल्पना पनि गर्न सकेका छैनन् ।