फेरि बढ्यो डिजेल, पेट्रोल र ग्याँसको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले डिजेल पेट्रोल, ग्याँस र मट्टितेलको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रूपैयाँ बढाएको हो ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६, मट्टितेल र डिजेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ । बढेको मूल्य बुधबार मध्यरातदेखि लागि हुने निगमले जनाएको छ । यसअघि निगमले यही १२ गते डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।
यस्तै आन्तरिक हवाई इन्धन १ सय १ रूपैयाँ र बाह्य हवाई इन्धनको प्रति किलोलिटर अमेरिकी डलर ८ सय ९५ कायम भएको छ ।
त्यस्तै ग्यासको मूल्य एकैपटक ७५ रूपैयाँले बढाएर १ हजार ५ सय ७५ रूपैयाँ पुर्याइएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा १७।५८, डिजेलमा १३।१४, एलपी ग्यासमा ६ सय ५७।८४ रूपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।