प्रहरीको ‘फितलो’ अनुसन्धानले झन्डै एक वर्षदेखि निर्दोष थुनामा

२०७८ भाद्र २८ गते, सोमबार

काठमाण्डौ

सर्लाही दुर्घटना मुद्दामा करिब एक वर्षदेखि निर्दोष व्यक्तिलाई कानुनी परिबन्धमा पारिएको खुलेको छ । प्रहरीको फितलो अनुसन्धानले निर्दोष व्यक्तिले सजाय काटिरहेका छन् भने दोषी खुलेआम घुमिरहेका छन् । दुर्घटनाका मृतक तथा घाइतेले क्षतिपूर्तिसमेत पाउन सकेका छैनन् ।

गत कात्तिकमा लालबन्दी नगरपालिका–२ जुटपानीस्थित नवलपुर–मलंगवा सडक खण्डमा ४ जना चढेको प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल ट्र्याक्टरमा ठोकियो । दुर्घटनामा स्थानीय १८ वर्षका अंकुश पासवानको मृत्यु भयो । १८ वर्षीय निसान्त, २९ वर्षीय अंगद र २८ वर्षीय रितिक पासवान घाइते भए । दुर्घटनामा संलग्न चालक ट्र्याक्टरसहित फरार भए । इलाका प्रहरी कार्यालय लालबन्दीले उक्त ट्र्याक्टरको खोजी सुरु गर्‍यो । स्थानीयले पराल लोड गर्दै गरेको अवस्थामा स्थानीय थिरबहादुर खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएर प्रहरीमा बुझाइदिए ।

ट्र्याक्टरका चालक नथुनिया भनिने फेकन रामले पनि आफूले नै दुर्घटना गराएको प्रहरीसमक्ष स्विकारे । चालकले नै दुर्घटना गराएको स्विकार गरेपछि प्रहरीले पनि चालककै बयानको आधारमा सवारी ज्यान तथा अंगभंग मुद्दा दर्ता गर्‍यो । यो दुर्घटनामा थप अनुसन्धान नै हुन सकेन । यता, ट्र्याक्टरधनी खड्काले घटनाका दिन आफ्नो ट्र्याक्टर घरबाट ननिक्लेको दाबी गरिरहँदा पनि प्रहरीले उनको कुरा सुन्नै चाहेन । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गर्ने प्रयास नै नगरेको खड्काको भनाइ छ । उनका अनुसार प्रहरीले सुक्ष्म अनुसन्धान गरेको भए वास्तविक दोषी पत्ता लाग्ने थिए ।

खड्काले प्रहरी अनुसन्धानमा चुक्दा ‘नखाएको बिष’ आफूलाई लागेको गुनासो पोखे । प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि उनलाई अदालतले माघ १५ मा पुर्पक्षका लागि जेल चलान गर्न आदेश भयो । उनी झण्डै तीन सातापछि डेढ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भए पनि चालक नथुनिया भने अझै जेलमै छन् ।

खड्काले आफू अन्यायमा परेको भन्दै पटक–पटक सरोकारवाला निकायमा दुःखेसो पनि पोखे । ‘दुर्घटना भएको दिन मेरो ट्र्याक्टर घरबहिर निक्लेकै छैन, दसैं टीकाको दिन भएकाले हामी घरमै थियौं, ट्र्याक्टरको खासै काम पनि थिएन, त्यही भएर बाहिर निकाल्ने कुरै भएन,’ खड्काले भने, ‘दुर्घटनाको दुई दिनपछि पराल लोड गर्ने बेलामा स्थानीय आएर यही ट्र्याक्टरले दुर्घटना गरायो भनेर प्रहरीलाई बुझाइदिए, हामीले ट्र्याक्टरबाहिर ननिक्लेको कुरा भनिरहँदा पनि प्रहरीले पत्याएन ।’

०७७ असारमा अनटेस्ट ट्र्याक्टर निकालेका खड्काले झण्डै एक महिनापछि चालकका रुपमा नथुनियालाई राखेका थिए । खड्काले नथुनियालाई पटक–पटक चालक अनुमतिपत्र माग गर्दा नदिएपछि दसैंपछाडि काम गर्न नदिने बताएका थिए । अनुमतिपत्र नभए काम गर्न नदिने जनाएपछि चालक विपक्षमा उभिएको हुनसक्ने उनकोआशंका छ ।

प्रहरीमा चालक नथुनियाले दिएको बयान बाझिइए पनि अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले पूरै बेवास्ता गरेको खड्काको आरोप छ । बयानमा चालक नथुनियाले बिपत चौधरीकी श्रीमतीले खेत जोत्न बोलाएकोमा अरु ट्र्याक्टरले जोतिरहेको देखेर फर्केको भनेका छन् । जबकि घटनाका दिन खेत नै नजोतिएको चौधरीले बताए । उनले घटनाको दिन आफू उपचारका लागि भारतको सितामढी गएकोले दुई दिनपछि मात्र अर्कैको ट्र्याक्टरबाट खेत जोत्न लगाएको बताए ।

यस्तै, बयानमा कात्तिक १० को साँझ चालक नथुनियाले आफ्नै साइकल चढेर साहुको घरमा गई ट्र्याक्टर लिएर आएकोमा खेत नजोतिएपछि ट्र्याक्टर आफ्नै घरमा लगेर फेरि साइकल चलाई मेला हेर्न गएको बताएका छन् । झन्डै ८ बजेर १० मिनेटमा ट्र्याक्टर साहुको घरमा पुर्‍याउन जाँदा बाटोमा दुर्घटना भएको बयान दिएका चालकले दुर्घटना भएको स्थानबाट झण्डै २ सय मिटर पर रहेको साहुको घरमा गई कल्टी निकाली टेलर जोडेर फेरि साइकल चढेर घर फिरेको उल्लेख गरेका छन् । चालकको घरमा एउटा मात्र साइकल रहेकाले उक्त साइकल कहाँ थियो रु भन्ने कुरा बाझिदासमेत प्रहरी निरीक्षक थापाको ध्यान गएको देखिदैन । साथै दुर्घटनास्थलबाट २ सय मिटर टाढा रहेको घरमा ट्र्याक्टरले कल्टी निकालेर टेलर जोड्दा पनि प्रहरी तथा स्थानीयको ध्यान नपुग्नुमा चालकको बयान शंकास्पद देखिएको छ ।

मृतक अंकुसका मामा जलसिंह पासवानसहितका व्यक्तिले गरेको कागजमा घटनाको दिन साँझ ८ बजेर ३० मिनेटको समयमा चालक नथुनियाको घरको पूर्वतर्फ पार्किङ गरेको अवस्थामा ट्र्याक्टर देखेको बयान दिएका छन् । उनीहरूको यो बयान र चालकको बयान पनि मेल खाएको देखिँदैन । प्रहरीसमक्ष चालक नथुनियाकी श्रीमती अनितादेवी रामले घटनाबारे आफूलाई श्रीमान्ले भनेको बताएकी छन् । उनले घटनाका दिन श्रीमान् दिनभर आफूसँगै रहेकाले

ट्र्याक्टर नछोएको जिकिर गरेकी छन् । दुर्घटनामा चालकको बयान बाझिँदा पनि प्रहरीसँग यही ट्र्याक्टरले नै दुर्घटना गराएको भनेर अरु थप प्रमाण छैन । एक मात्र प्रमाणको रुपमा रहेको चालकको बयान बाझिए पनि प्रहरीले अनुसन्धानको नाममा झारा टार्ने काम गरेको अदालतमा पेश गरिएको मिसिलमा देखिएको मानव अधिकारकर्मी रजनीकान्त झाले बताए । उनले गलत अनुसन्धानका कारण निर्दोष फसिरहेको दाबी गरे । ‘चालकले दिएको बयानमा बाझिने खालका थुप्रै शब्दहरू छन्, त्यती हुँदा पनि प्रहरीले मजबुत छानबिन गर्न सकेको देखिँदैन,’ उनले भने, ‘अनुसन्धान झारा टार्ने भएपछि निर्दोष फस्ने र प्रहरी तथा न्यायालयमाथि विश्वास गुम्ने खतरा बढ्छ ।’

आफ्नो ट्र्याक्टरले दुर्घटना नगराएको खड्काले भनिरहँदा शंका लागेर घटनाबारे बुझ्दै जाँदा अर्कै ट्र्याक्टरले दुर्घटना गराएको फेला परेको बताउँछन् लालबन्दी–२ का वडाध्यक्ष किरण पासवान । उनले दोषी पत्ता लगाएर प्रहरीकोमा लग्दा पनि बेवास्ता गरिएको आरोप लगाए । आफ्नै क्षेत्रमा भएकाले पीडितलाई क्षतिपूर्ति दिनेबारे पटक–पटक खड्कासँग कुरा गर्दा जहिले पनि मेरो ट्र्याक्टरले दुर्घटना नै नगराएको भन्दै बरु अदालतमा जाने बताएका पासवानको भनाइ छ ।

वडाध्यक्षसहित पीडितको सम्पर्कमा आएका वास्तविक दुर्घटना गराउने ट्र्याक्टरमा बसेका लालबन्दी–१ का इन्दल महतोले दुर्घटनाको बेलीबिस्तार सुनाए । उनका अनुसार सिरहाको लहानबाट आउँदै गरेको अनटेस्ट ट्र्याक्टरका चालक लक्ष्मीपुर घर भई नवलपुरमा डेरा लिएर बसेका विजय गिरीले गाउँमा डेराको साँचो लिन जानु छ भनेपछि उनीसँगै लक्ष्मीपुर जाने क्रममा दुर्घटना भएको बताए । महतोका अनुसार ट्र्याक्टरमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको म्याजिक छलेर आएको एक मोटरसाइकल आफू सवार अनटेस्ट ट्र्याक्टरको कल्टीमा लागेर अनियन्त्रित भई रोकिराखेको मोटरसाइकलमा ठोक्किएको महतोले बताए ।

उनले घटनालगत्तै आफूहरू त्यहाँबाट भागेकोमा म्याजिकले पछिबाट लखेट्न खोज्दा बत्ती निभाएर जुटपानीको पाइप फ्याक्ट्री हुँदै नहरको बाटोमा निक्लेर लक्ष्मीपुर गएको बताए । रातभरी चालक गिरीको घरमा बसेकोमा चालकले एक–दुई वर्ष भारतमा गएर बस्न भने पनि मैले नमानी भोलिपल्ट बिहान आफ्नो घर नवलपुर आएको उनको भनाइ छ । उनका अनुसार चालक गिरी घटनाको भोलिपल्टै भारत पसेका थिए ।

घटनाका दिनदेखि नै चालक गिरी फरार छन् । झण्डै ६ महिना पछि नयाँ वर्षको दिन गिरी भारतबाट घर आइपुगेका थिए । यसको पत्तो दुर्घटनामा परेका घाइते तथा मृतकका आफन्त र प्रहरी नियन्त्रणमा परेका ट्र्याक्टर साहुलाई लागेको थियो । उनीहरू वैशाख २ को साँझ गिरीको घरमा पुग्दा घाइतेका आफन्तले चालकलाई कुट्न खोजेपछि गाउँलेले प्रतिकार गरेका थिए । वैशाख ३ मा इलाका प्रहरी कार्यालय हरिपुरमा चालकसहित दुवैपक्ष बस्ने सहमति भए पनि त्यो दिन चालक नै नआएको वडाध्यक्ष पासवानले बताए । दुर्घटनाको अनुसन्धान गरेका थापाले अनुसन्धानबारे केही पनि बोल्न चाहेनन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले मुद्दा अदालतमा गए पनि दुर्घटनाबारे थप कुरा खुल्न थालेपछि अनुसन्धानका लागि आाफैं लागेको बताए । उनले लालबन्दीबाट फाइल झिकाएर थप अनुसन्धान प्रक्रियाको थालनी गरेको सुनाए । उनले दोषी नछुट्ने र निर्दोष नफस्ने स्पष्ट पारे ।

जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले प्रहरी अनुसन्धानकै आधारमा आफूले अदालतमा ट्र्याक्टरधनी खड्काबाट क्षतिपूर्ति र चालक नथुनियालाई कैद सजाय माग दाबी गरेको बताए ।

इलाका प्रहरी कार्यालय लालबन्दी परिसरमा राखिएको थिरबहादुर खड्काको ट्रयाक्टर ।

131 Views

ताजा

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५ गते, सोमबार

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५ गते, सोमबार

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी

२०८० जेष्ठ १५ गते, सोमबार

आज बजेट सार्वजनिक हुने

२०८० जेष्ठ १५ गते, सोमबार

१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा

२०८० जेष्ठ १५ गते, सोमबार

सार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने

२०८० जेष्ठ ११ गते, बिहीबार

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी

२०८० जेष्ठ ११ गते, बिहीबार

अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !

२०८० जेष्ठ ११ गते, बिहीबार

नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी

२०८० जेष्ठ ११ गते, बिहीबार

मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव

२०८० जेष्ठ ११ गते, बिहीबार

२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग

२०८० जेष्ठ ११ गते, बिहीबार

लोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal