अवरोधकाबीच प्रतिनिधि सभा बैठक अघि बढ्यो, बहुमतले आर्थिक अध्यादेश स्वीकृत
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । बैठकमा बहुमतले आर्थिक अध्यादेश स्वीकृत भएको छ ।
अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।
आजको पहिलो बैठक एमाले सांसदको नाराबाजीका कारण १५ मिनेट स्थगित भएपछि दोस्रो बैठक बसेको थियो । एमाले सांसदहरूले अर्थ मन्त्रीको बाटो छेक्न खोजेपछि उहाँ दौडिएर रोस्टममा पुग्नुभएको थियो । पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध र नाराबाजी गर्दै आएको छ ।
सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन ।