१० करोडको नजिक ‘गौंथली’
काठमाडौं । साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।
प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपा: बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ । १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ । फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ । ‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो ।
हिजो आइतबार पनि चलचित्रको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो । यो चलचित्रले आगामी दिनमा अझै ठूलो व्यापारिक उचाइ लिने अनुमान गरिएको छ । हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ । ‘लालीबजार’ पहिलो स्थानमा छ । ‘गौंथली’को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोडको आँकडा पार गर्दै वर्षकै नम्बर १ फिल्म बन्ने निश्चित देखिएको छ ।
पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ । कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका सिनेमा भन्दै चलचित्रको तारिफ गरिरहेका छन् । एउटै परिवारबाट १०÷१५ जनासम्मले सिनेमा हेरिरहेका छन् । हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रुपमा बढी देखिने गरेको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यो चलचित्रले डा. कपिललाई सफल निर्देशकको रूपमा स्थापित गरिदिएको छ । ‘गौंथली’ को कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयलाई दर्शकले रुचाएका कारण नै बक्स अफिसमा यो तहको सफलता हासिल गरेको छ ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





