कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ
फापरबारी गाविस, परिवर्तित बागमती गाउँपालिका–७, मकवानपुरमा जन्मिएकी हुन् गायिका निर्मला घिसिङ । उनलाई सानैदेखिनै संगीतप्रति रुचि थियो । नाच्न गाउन पनि सामान्यतया आउँथ्यो सानैदेखि, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागि हुन पाउँदा औधी खुसी हुन्थिन् र सबै सहभागी हुन्थिन् । आफ्नो विद्यालयका शिक्षक शिक्षिकाहरुबाट खुब स्यावासी पाउँथे निर्मलाले । रुची औधी भएको कारण विभिन्न कार्यक्रमहरुबाट पुरस्कृत हुने बानी बसिसकेको थियोे उनलाई । निर्मला राम्रो नाँच्ने गाउँने मान्छे भनेर उनलाई अभिभावक र आफुभन्दा अग्रजहरुले सबैले गीत गाउन अनि नाच्न लगाउँथे । उभित्रका प्रतिभाको परिचय पनि आफ्ना अग्रज एवम् अभिभावकहरुले नै गराईदिए । “घरमा पनि साइला काकाले मलाइ गीत गाउन लाउनुहुन्थ्यो, उहाँले यसले राम्रो गाउनुहुन्छ भन्नुहुन्थ्यो । पछि त धेरै आदरणिय व्यक्तित्वहरुसँग भेटघाट हुने अवसर पाइयो, उहाँहरुले पनि मार्गदर्शन गर्नुभयो । तर, म आफुले चाहीँ मेरो आफ्नो वरिपरिको वातावारण र परिस्थितिहरुनै संगीतको प्रेरणाको रुपमा रहेको पाउँछु“ कलाकार एवम् गायिका निर्मला घिसिङ बताउँछिन् । उनको औपचारिक शिक्षा गाउँकै चौरा प्राथमिक विद्यालयबाट सुरु भयो । त्यसपछि काठमाडौँको बौद्ध फुलवारी हाल महेन्द्र माविमा पुन नर्सरीमा भर्ना भईन । पढाइ एकै ठाउँमा स्थिर भएन ,फेरी गाउँमा फर्केर चौरा प्रावि र लोकहित माविमा अध्ययन सुरु गर्याे र हाल त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा स्नातकोतर अध्यनरत् छिन् निर्मला ।
कला संगीत अभिनय भनेको मानव भावनाको सुन्दर प्रस्तुति हो जस्तो लाग्छ । मानिसको सोँच र उनीहरुको कल्पनालाई कलाले मूर्त रुप दिन्छ, कला संगीतले मानिसलाई अझ धेरै व्यक्त गरेको जस्तो लाग्छ उनलाई । निर्मलाको कला तथा संगीतको सुरुवात विद्यालयलबाटै भयो, विद्यालयको शुक्रबार हुने अतिरिक्त क्रियाकलापनै उनको कला यात्राको पहिलो प्रारम्भ भएको हो । साथसाथै बनपाखा घाँस दाउरा गर्दा गीत गाउँथे मेरो संगीत प्रारम्भ भएको हो । रेडियो, टिभिमा सुनेका गीतहरु एकै पटकमा कण्ठ गर्न सक्थेँ । स्कुल जिवनमै फरक परिस्थितिबिच मेरो संगीत यात्रा अघि बढ्यो । अनेक घुम्ति, आरोह अवरोह र थुप्रै कुइनेटाहरु पार गर्दै अहिलेसम्मको बाटोमा आइपुगेकी छु उनी बताउँछिन् ।
कला संगीत पनि पेशा हो । जे कुरामा आर्थिक कारोबार हुन्छ त्यो त व्यापारकै रुप हो । अब फरक यति हो तपाइँले आफ्नो कारोबार कसरी गरिरहनु भएको छ ? कला संगीतले कति मानीसको घर व्यवहार धानेको छ भने कला संगीतलाईनै सबै थोक ठान्दा मानिसहरुले आफ्नो घर व्यवहार पनि गुमाएका छन् । त्यसकारण अब यसलाई कसरी मुल्यांकण गर्नुहुन्छ ? उनको विश्लेषण रहेको छ । कला गीत संगीतको मुर्त रुप संस्कृति हो अनि संस्कृति भनेको समाजको दर्पण । तपाई के हो ? को हो ? भन्ने परिचय तपाईको संस्कृतिले दिने रहेछ । त्यसकारण हाम्रो नेपाली समाज बुझाउन, समग्रतामा यसको परिचय गराउन यहाँका विविध संस्कृतिहरु असाध्यै सुन्दर पक्षहरु हुन् । यहाँका कला लोक संस्कृतिहरुको राम्ररी प्रवद्र्ध गर्न सकेको खण्डमा यसबाट राज्यले राम्रै आर्थिक फाइदा उठाउन सकिने प्रशस्त सम्भावनाहरु छन् । तर राज्य यसप्रति उदाशिन भए जस्तो लाग्छ । पर्यटनका रुपमा कला संगीतलाई पनि विकास गराउन सके राज्यले धेरै लाभ उठाउन सकिन्छ तर यस्ता विषयमा लगानी शुन्य रहेको पाउँछु घिसिङ बताउँछिन् ।
नृत्य, गायन र अभिनय विधामा अघि बढिरहेको निर्मला मुलतः गायनलाई बढी प्राथमिकता दिन्छिन्, उनले दि भोइस् अफ नेपालमा ख्याति कमाएर अझ बढी आफुलाई परिचित गराउन सफल भएकी हुन् । उनले अहिलेसम्म धेरै गीतहरुमा आवाज भरिसकेकि छिन् । जसमध्ये ‘होई च्याङ्बा होई च्याङ्बॉ, दरबन्दी, आजभोली मन हुन्छ चङ्गा , सिरिरि हावा चल्यो, जुवा त खेल्ने चौकामा, आमाला जामे ङा रानी, कसले बनायो दाजै उडी जाने बस’लगायतका गीतहरु धेरै रुचाएका र चर्चा कमाउन सफल सिर्जनाहरु हुन् । निर्मलाले देश भन्दा बाहिर पनि केही देशहरुमा पनि आफ्नो सांगीतिक यात्राहरु तय गरिसकेका छन् । उनले विशेषगरी नेपाली र तामाङ गीतहरुलाई प्राथमिकताकासाथ बजारमा ल्याउने गरेकि छन् । सानैबाट थुप्रै कार्यक्रमहरुमा सहभागी हुने गरेकाले विभिन्न सम्मान र अवार्डहरुबाट सम्मानित साथै पुरस्कृत भैसकेकी छिन् । अबको बाँकी यात्रालाई अझ नयाँ ढंगले सिर्जनाहरु ल्याउने सोचमा रहेको देखिन्छ । आफ्नो क्षेत्रमा अझ परिष्कृत हुँदै जाने, राष्ट्रको लागि कति सकिन्छ ।
आफ्नो क्षेत्रबाट योगदान गर्ने नै लक्ष्य हो । धेरै ठुलो र महंगो लक्ष्य छैन निर्मला बताउँछिन् । कला क्षेत्रको बाहिरी आवरण मात्रै हेरेर आउनु हुन्न । रंगीन कभरको भरमा महत्वकाँक्षी बनेर आउँदा दुःख पाइन सक्छ । जुनकुनै कुरामा राम्रो अध्ययन भएन भने त्यो सफल हुन र सफल रहन गाह्रो छ । यसर्थ पनि यस क्षेत्रमा आउन चाहने र आउन तरखरमा रहनु भएकोहरुलाई म भन्छु राम्रोसँग अध्ययन गरेर बुझेर चिनेर मात्र आउदा राम्रो हुन्छ । जुन क्षेत्रमा काम गर्दा पनि किन गर्दैछु ? केका लागि गर्दै छु ? लगायतका कुराहरु अवगत हुनुपर्छ नत्रभने निचोड स्पष्ट हुँदैन । कला संगीत भनेको त साधना समर्पण र लगाव हो । निरन्तर साधना र समर्पण सहित यो क्षेत्रमा आउनुभयो भने त्यसले राम्रै प्रतिफल दिन्छ कलाकार निर्मला बताउँछिन् ।
प्रस्तुतीः करण तामाङ