‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा जानुपर्छ’

२०८० माघ ७ गते, आईतवार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ।

‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ,’ त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, ‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ।’

त्रिवेणी क्षेत्रका दुईवटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै दुःख खेप्नुपरेको उनले भने, ‘हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने।’

सदरमुकाममा कुनै काम लिएर जानुपरे दुःखसँगै आठ–दस हजार खर्च बोकेर हिँड्नुपर्ने अवस्था रहेको त्रिवेणीका विष्णुप्रसाद चौलागाईंले बताए। त्रिवेणी–दुम्कीबास बाटो खोल्छौं भनेको धेरै समय बितेपनि अझै समस्या उस्तै रहेको उनले गुनासो गरे।

‘बाटो खोल्छौं, भनेको यति समय बिते, प्रदेशका मुख्य व्यक्ति आउनेजाने गरेकै छन्, तर खोल्ने सुरसार छैन, अब त बाटो खुल्ने आशा पनि मरिसकेको छ,’ उनले भने।

लुम्बिनीमा राखे धेरै सहज हुने जनाउँदै चौलागाईंले थपे, ‘यहाँ घरको भात खाएर साइकलमा गएर नागरिकता बन्छ, मालपोतको काम हुन्छ, उता कहाँ घुमेर पुग्नुपर्छ, सरकारलाई आग्रह छ । हाम्रा लागि कि बाटो खोलिदेऊ नत्र लुम्बिनीमा मिलाइदेऊ।’

त्रिवेणी–दुम्कीबास सडक नखोलेसम्म त्रिवेणी क्षेत्रका दुई वडाका बासिन्दाको भलाइ नहुने वडा नं ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए। बाटो नखुल्दा आफ्नै पालिका पुग्नसमेत कठिन अवस्था रहेको उनले बताए। बाटो नखोल्ने र गण्डकीमा रहने हो भने यहाँका जनतालाई कुनै भलो नहुने उनको तर्क छ।

‘पालिका जान ४० किलोमिटर पर पुग्नुपर्छ, त्यसमा दाउन्नेको जोखिमपूर्ण यात्रा गर्नुपर्ने उस्तै दुःख छ, गण्डकीमा हुँदासम्म राजनीतिक, आर्थिक र सामाजिक हिसाबले यहाँका जनताको कुनै भविष्य छैन,’ वडाध्यक्ष शाहले भने, ‘यहाँका दुई वडालाई लुम्बिनी प्रदेशमा गाभिँदा बरू जनताको भलो।’

त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठान गरिरहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। यो सडक समग्र विनयी त्रिवेणीको र गण्डकी प्रदेशको भविष्यसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको उनले बताए। त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्कीबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश, संघ र स्थानीय सरकार एक भएर लाग्नुपर्ने बताए।

गत शुक्रबारमात्रै त्रिवेणी आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्कीबास सडक खोल्न उच्च प्राथमिकता दिने बताएका थिए। प्रदेश सरकारले कोरला–त्रिवेणी जोड्ने लक्ष्य राखेकाले दक्षिणतर्फको भारतसँग जोडिएको त्रिवेणीनाकालाई खोल्न लागिपरेको उनले बताए।

‘गण्डकी प्रदेश सरकारको प्रमुख दायित्व र प्राथमिकतामा यो बाटो खोल्ने र गजेन्द्रमोक्षधामबाट मुक्तिनाथसम्मको यात्रा सरल र सहज बनाउने रहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यसका लागि म मेरो पूर्ण शक्ति लगाउँछु।’

निकुञ्ज र वन ऐनका कारण सडक निर्माणमा समस्या उत्पन्न भएकाले देखिएका समस्याको समाधानसँगै प्रारम्भिक चरणका काम क्रमशः गर्नुपर्ने उनले बताए।

नवलपुरको दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ। बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन्। बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्दछ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ। मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक रहेको स्थानीयको भनाइ छ।

विसं २०५९ अघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो। हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्रमोक्ष जनतामार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो। विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीयको भनाइ छ। (रासस)

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal