कखरा सिकेर सपना साकार गर्ने बाटोमा पाका महिला

२०८० मंसिर २३ गते, शनिबार

विजेता चौधरी ।
काठमाडौं । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ। विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’।

जहाँ शिक्षित हुने सपना पूरा गर्दै गर्दैछिन्, ७१ वर्षीया इन्द्रमाया आलेमगर। बुढेसकालमा झोला भरी पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुग्नु उहाँको दैनिकी बनेको छ। कक्षा ११ मा पढ्दै गरेकी इन्द्रमाया यस विद्यालयमा कक्षा १ देखि नै अध्ययनरत छिन्।

विद्यालय १३ वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्षित गरी स्थापना भएको हो। विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसेका नजरमा इन्द्रमाया मेहनती र लगनशील छिन्। ‘यो उमेरमा पनि पढाइप्रतिको उनको लगाव लोभलाग्दो छ। एकदमै मेहनती र लगनशील पनि छन्, सबै विषयमा प्रायः विशिष्ट श्रेणी ल्याउछिन्। कति पटक त उनलाई कक्षा ‘जम्प’ गराएका छौँ’, चालिसेले भने। इन्द्रमायालाई विद्यार्थी, शिक्षक र कर्मचारी सबैले आदरले आमा भनि सम्बोधन गर्छन्।

इन्द्रमायाले पढ्ने र शिक्षित हुने धोको सानैदेखि कै भए पनि विभिन्न कारणले पढ्न नपाएको सुनाए। शिक्षित हुँदा समाजमा सम्मानित भएर बाँच्न पाइने लोभमा कक्षा १ मा विद्यालयमा भर्ना भएको उनको भनाइ छ।

विद्यालयमा रोल्पाकी कुमारी महराले पढ्ने रहर पूरा गरिरहेकी छिन्। तत्कालीन द्वन्द्वको समयमा पढाइबीचमै छाडेकी उनले यतिबेला यस विद्यालयमार्फत पढाइ अगाडि बढाएकी छिन्। ‘द्वन्द्व सकिँदासम्म पढ्ने उमेर घर्किसकेको थियो, आफूभन्दा सानासँग बसेर पढ्न मन लागेन’, उनले भनिन्, ‘त्यो बेला छाडेको पढाइले यो विद्यालयका कारण अहिले निरन्तरता पाएको छ।’

विद्यालयकी प्रधानाध्यापक चालिसेका शब्दमा कुमारी पढ्नमा जेहेन्दार थिइन्। उनले एसइई प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि अहिले पद्मकन्या क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तरको पढाइ पूरा गरिसकेकी छिन्।

कुमारी अहिले मानवअधिकार आयोगमा अधिकृत पदमा जागिरे छिन्। इन्द्रमाया र कुमारीले जस्तै शिक्षित बन्ने सपना पछ्याउँदै विद्यालयमा आउने महिलाको सङ्ख्या ठूलो रहेको प्रधानाध्यापक चालिसेको भनाइ छ।

काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले विद्यालयमा आउने महिलामा पढाइप्रतिको लगाव निकै ठूलो देखिने गरेको बताइन्। ‘भर्ना हुन आउने धेरै महिलामा कुनै इखले काम गरेजस्तो लाग्छ। कसैलाई पढाइ छुटेको पीडा छ त कसैलाई छोराछोरीले लगाएको बचनले काम गरेजस्तो लाग्छ’, उनले भनिन्, ‘महिला साक्षर होइन कि शिक्षित बन्नुपर्छ भन्ने भावनाका साथ हामी अगाडि बढिरहेका छौँ।’

गठ्ठाघरस्थित आस्था महिला विद्यालयकी संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले ‘अधुरो शिक्षा पुरा गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ ओझेलमा परेका महिलालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास जारी रहेको बताइन्।

बैंकको काम र प्रविधि सिक्न विद्यालयसम्म
प्रेरणा विद्यालयकी प्रधानाध्यापक चालिसेका अनुसार परिवारका सबै सदस्यलाई कार्यालय र विद्यालय पठाएर दिउँसोको खाली समय सदुपयोग गर्दै छुटेको पढाइ निरन्तरता दिने महिलाको सङ्ख्या ठूलो छ।

‘उहाँहरुमध्ये कतिपयका छोराछोरी विदेशमा हुनुहुन्छ, विदेशमा बसेकासँग कुराकानी गर्न समस्या भयो, मोबाइलका एपहरु चलाउन र इन्टरनेटमा खोज्न पनि जान्नुपर्ने भयो’, उनले भनिन्, ‘यी सबै आवश्यकताले उहाँहरुलाई विद्यालयसम्म ल्याएको हो भन्ने लाग्छ।’

केही त अङ्ग्रेजी सिक्ने उद्देश्यले पनि आउने गरेको उहाँको अनुभव छ। बैंकको काम गर्न, भौचर र चेक भर्न पनि समस्या हुने र अन्य प्रविधि नजान्दा पछि परिने समस्या धेरैको भएको उनको भनाइ छ। ‘उहाँहरुको आवश्यकतालाई ध्यान दिएर विद्यालयले कम्प्युटर शिक्षामा जोड दिएको छ, यसले उहाँहरुलाई प्रविधिबारे जान्न सहयोग गरेको छ’, उनले भनिन्, ‘विद्यालयमा प्रोजेक्ट वर्क, साइन्स ल्याब पनि छन्। अङ्ग्रेजी र गणितलगायतका सबै विषय पनि व्यवहारिक पद्धतिबाटै पठनपाठन हुँदै आएको छ।’

विद्यालय जहाँ स्वास्थ्य पनि शिक्षा पनि
बढ्दो उमेरको महिलामा विभिन्न प्रकारका शारीरिक समस्या आउँछन्। तनाव र थकान हुनु स्वभाविक पनि हो। त्यही भएर उनीहरुलाई बेलाबेला शैक्षिक भ्रमणमा लैजाने गरिएको प्रधानाध्यापक चालिसेको भनाइ छ।

‘भक्तपुर, चाँगुनारायण, विभिन्न सङ्ग्रहालयमा लगेर त्यसबारे जानकारी लिन पाउँदा उहाँहरु निकै खुशी हुनुहुन्छ। यसबाट उहाँहरु चिन्तामुक्त भएको बताउनुहुन्छ’, चालिसेले भनिन्, ‘दिनहुँ विद्यालय आएपछि पनि कतिपयले रोग र तनाव कम भएको सुनाउनुहुन्छ।’

त्यति मात्रै होइन, रोजगारीका लागि, जागिरे महिला बढुवाका लागि पनि यहाँ विद्यालयमा आउने गरेको प्रधानाध्यापक चालिसेको भनाइ छ। उनको विद्यालयमा हाल १३ वर्षदेखि ७१ वर्ष उमेर समूहका पाँच सयभन्दा बढी महिला विद्यार्थी छन्।

सातदोबाटोस्थित प्रेरणा महिला विद्यालयले हालै स्थापनाको रजत जयन्ती मनाएको छ। प्रेरणा प्रथम महिला विद्यालयका रुपमा स्थापना भए पनि हाल उपत्यकामा यस्ता विद्यालयको सङ्ख्या सात पुगेको छ। साथै बुटबल, तनहुँलगायतका जिल्लामा पनि यस्ता विद्यालय विस्तार भइरहेका छन्।

२५ वर्षअघि र अहिलेको समय धेरै अन्तर आएको प्रधानाध्यापक चालिसेको अनुवभ छ। ‘पहिले नपढेका महिलाको सङ्ख्या देशभरी नै धेरै थियो, तर यो सङ्ख्या दुर्गमका जिल्लामा बढी छ’, उनले भनिन्, ‘कम उमेरका विद्यार्थी प्रायः बाहिर जिल्लाका हुनुहुन्छ भने पाको उमेरका महिलाको सङ्ख्या सहरी क्षेत्रमा अझै पनि छ।’ विद्यालयमा बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन भइरहेको छ।

पहिलो महिला विद्यालयको स्थापना
महिला विद्यालयको स्थापना पछाडि चार जना महिलाको योगदान छ। तत्कालीन समयमा हालकी प्रधानाध्यापक प्रभा चालिसेका साथमा राधा तिमिल्सिना, जनक चालिसे र प्रमिला शर्मा संस्थापक छन्।

उनीहरुको परिकल्पनाकै कारण मुलुकमा पहिलोपटक महिला विद्यालयको स्थापना भएको थियो। जसको उद्देश्य विद्यालय शिक्षाभन्दा टाढा रहेका महिलालाई प्रौढ शिक्षाभन्दा पनि विद्यालय शिक्षा दिएर सक्षम बनाइन्।

सामाजिक कामा रुचि राख्ने उनीहरु विभिन्न कार्यक्रममा जाँदा एक कक्षा पनि नपढेका, पढाइ छुटेका महिलासँग भेट्थिन्। जसको पढ्ने रहर पनि थियो। कतिपय त कक्षा १० मात्रै गर्न पाए हुन्थ्यो भन्ने पनि भेटिए। तिनै महिलाको रहरले उनीहरुलाई महिला विद्यालय स्थापनाका लागि घच्घचाएको थियो।

त्यो बेला सरकारले सञ्चालन गरेको सामुदायिक विद्यालय प्रशस्त थिए। निजी विद्यालय पनि थिए। तर उमेर पुगेका महिलालाई साना बालबालिकासँग बसेर पढ्न अप्ठेरो र सङ्कोच महसुस हुन्थ्यो। त्यही भएर पढ्न जान सक्नुभएको थिएन।

प्रधानाध्यापक चालिसे भन्छिन्, ‘त्यही बेला महिलाका लागि छुट्टै विद्यालय खोलौँ भन्ने लागेको हो। त्यसका जिल्ला शिक्षा कार्यालय ललितपुरका जिल्ला शिक्षा अधिकारीसँग सल्लाह गरेर विद्यालयका लागि स्वीकृति माग्यौँ। शिक्षा अधिकारीले, शिक्षा नियमावलीमा १४ वर्षभन्दा माथिका महिलालाई भनेर पढ्नका लागि कुनै पनि प्रावधान वा नीति नियम नबनेको बताउनुभयो। तर हाम्रो ठूलो आग्रहपछि एउटा विनियम बनाएर स्वीकृति दिनुभयो।’

सुरुमा उनीहरुले कक्षा ६ देखि १० कक्षासम्म सञ्चालन गरे। ‘हामी चारै जनाले रु ५० हजारका दरले रु दुई लाख लगानी गर्‍यौ। सुरुमा घर, कारखाना, गार्मेन्ट, बस स्ट्यान्डसम्म पुगेर महिलालाई पढ्नका लागि आग्रह गर्दै विद्यार्थी खोज्यौँ’, उनले भनिन्।

विद्यालयमा पहिलो वर्षमा २७ जना विद्यार्थी भर्ना भएका थिए। तर दोस्रो वर्षमा आइपुग्दा यो सङ्ख्या सातमा सीमित भयो। पछि कक्षा १ देखि नै पढाउन सुरु गरेपछि विद्यालय बढ्न थालेको उनको भनाइ छ। तर २०६२र६३ मा विद्यार्थी यति धेरै सङ्ख्यामा आए कि विद्यालयलाई थेग्नै समस्या हुने अवस्था आयो। ‘त्यतिबेला विद्यार्थी सङ्ख्या सात सय पुगेको थियो। २०६२ पछि द्वन्द्व प्रभावित विद्यार्थी धेरै आएका थिए’, उनले भनिन्।

अहिले पनि विद्यालयमा ७७ जिल्लाकै विद्यार्थी अध्ययनरत छन्। चालिसेका अनुसार २०७२ सालको भुँइचालोपछि विद्यार्थीहरु घटेका थिए तर पछि कतिले पुनः पढाइ सुरु गरे। प्रेरणा माध्यमिक विद्यालयबाट पहिलो एसएलसीको ब्याच २०५९ सालमा उत्तीर्ण गरेको हो। हालसम्म विद्यालयबाट पाँच सय २२ जनाले कक्ष १० उत्तीर्ण गरिसकेका छन्।

विद्यालय सञ्चालन भएको तीन वर्षभित्र नै कक्षा १ देखि ५ सम्म थपियो। हाल १ कक्षादेखि १२ सम्मका कक्षा सञ्चालन भइरहेका छन्। संस्थापक प्रमिला शर्मा अहिले पनि शिक्षक हुनुहुन्छ र उनले विद्यालयको दिउँसोको सिफ्टको जिम्मेवारी सम्हाल्छिन्।

छैन सजिलो पढाउन
प्रधानाध्यापक चालिसेको अनुसार पाको उमेरका महिलालाई पढाउन निकै गाह्रो छ। ‘बालबालिका एकरदुई पटक भनेपछि प्रायः टिप्छन् तर बढी उमेरमा बारम्बार अभ्यास गराउनुपर्छ। उनीहरुलाई पढाउन झर्को नमानी पढाउनुपर्छ’, उनले भनिन्। उनले महिला विद्यालयका शिक्षकका लागि सरकारले तालिमसमेत दिएको बताइन्।

विद्यालयमा सबै विषयका विषय शिक्षक हुनुहुन्छ। विद्यार्थीबाट उठेको शुल्कबाट नै विद्यालय सञ्चालन भइरहेको चालिसे बताउँछिन्। यसका साथै जिल्ला शिक्षा कार्यालयबाट अनौपचारिक शिक्षाका नाममा केही रकम विनियोजन हुने गरेको छ।

पाठ्यपुस्तक नै समस्या
प्रायः महिला विद्यालयको गुनासो पाठ्यपुस्तक विद्यार्थी केन्द्रित नभएको हुने गरेको छ। प्रधानाध्यापक चालिसेले भनिन्, ‘सबैभन्दा अप्ठ्यारो पाठ्यपुस्तकले पारिरहेको छ। कक्षा १ मा ‘ताराबाजी लैलै’ पाठ पाका मान्छेलाई पढाउनुपरेको छ। पाका उमेरका महिलाका लागि लक्षित गरी सरकारले छुट्टै पाठ्यपुस्तक व्यवस्था गरिदिनुपर्छ। गणित, अंग्रेजीलगायतका विषयमा यही समस्या छ’, उनले भनिन्।

आस्था महिला विद्यालयकी संस्थापक पार्वती ज्ञवाली भन्छिन, ‘पाठ्यपुस्तक पाका महिलाका लागि उपयुक्त छैन। बालबालिकाको पढ्ने उमेर, क्षमता र मनोविज्ञानलाई ध्यानमा रखेर बनाइएको पाठ्यपुस्तकले महिलालाई पढाउनुपरेको छ।’

पूर्वविद्यार्थी जो समाजमै उदाहरणीय छन्
विभिन्न महिला विद्यालयबाट पढाइ पूरा गरेकी पूर्वविद्यार्थी यतिबेला समाजका लागि उदाहरणीय बनेकी छिन्। प्रेरणा माध्यमिक विद्यालया एसइई उत्तीर्ण गरेकी विष्णु थापा अहिले स्नातकोत्तर र एलएलबीसम्मको अध्ययन पूरा गरी सेवारत छिन्। पूर्वविद्यार्थी मनिषा पौडेल जर्मनीबाट एमएसी नर्सिङको पढाइ पूरा गरेर जर्मनीमै नर्सका रुपमा कार्यरत छिन्।

प्रेरणा विद्यालयबाट पहिलो ब्याचको एसइई उत्तीर्ण कुमारी महरा मानवअधिकार आयोगमा अधिकृत पदमा कार्यरत छिन्। नविना चित्रकार नेपाल राष्ट्र बैंकमा जागिरे छिन् भने पूर्वविद्यार्थी पूर्णमाया आलेले तनहुँमा महिला विद्यालय सञ्चालन गरेकी छिन्।

प्रेरणा विद्यालयकी प्रअ चालिस शिक्षकलाई योग्यता र क्षमताअनुसारको तलब दिन नसकेको बताउँछिन्। उनको विद्यालयमा हाल २८ जना शिक्षक र कर्मचारी कार्यरत छन्। सरकारले महिला विद्यालयलाई पनि सामुदायीक विद्यालयसरहको सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने उनको माग छ। रासस

106 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal