इन्द्रजात्रा पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई उजागर गरेको छः राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन्।
कुमारी इन्द्रजात्रा पर्व, २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले कुमारी इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा(अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको उल्लेख गरेका छन्।
“पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ”, उनले भनेका छन्।
मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपति पौडेलको अपेक्षा छ।