भानुभक्तका पनातिको गुनासोः चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

२०८० असार २९ गते, शुक्रबार

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।

आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढेको हुनुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल या घरबास आदिको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा पनि पृथ्वीराजमार्गमा बनाइएको छ र चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएको छैन ।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ । यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन् । सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन् । त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ ।

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ । नेपाल सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ । उनले आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर भानु कतै उतै जन्मिएका त होइनन् भन्ने खालको भ्रम पैदा भएको व्यङ्ग्यात्मक टिप्पणी गरे । भानुभक्तका छोरा रामनाथ थिए भने उनका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउछन् । रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन् ।

भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाहरूले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए । पनाति आचार्यले भने, “यत्रो देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ ।”

उक्त स्थललाई पर्यटीयक गन्तव्य बनाउन पहल भने नभएका होइनन् । डा जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिए ।

सोका लागि सरकारबाट रु एक करोड निकासा भएको थियो । उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ । महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य लिइएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उनको कीर्ति नेपाल बाहिर नेपालीहरू पुगेका सबै स्थानमा भएको बताए । उनले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने जनाए ।

सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।

यसैबीच भानुजयन्ती मनाउन चुँदीरम्घामा काठमाडौँ र विभिन्न स्थानबाट आएका कविले बिहीबार साँझ बन्दीपुरमा काव्यसाँझ मनाएका छन् । कार्यक्रममा डा घिमिरे, तीर्थ श्रेष्ठ, किशोर श्रेष्ठ, विधान आचार्य, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, नवराज कार्की, डा हिरण्यलाल ज्ञवाली, ज्योति जङ्गल, रीमा केसी, लक्ष्मी माली, अमृत क्षेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, सञ्जीव पौडेल, काशीराज आचार्य, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमीलगायतले रचना वाचन गरेका थिए ।

भानु जयन्तीका अवसरमा आज विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी सुरू भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदैछ । दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदैछ । (रासस)

14 Views

ताजा

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका

२०८० आश्विन ५ गते, शुक्रबार

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका

२०८० आश्विन ५ गते, शुक्रबार

संगीत सुख दुःखको सारथी हो

२०८० आश्विन ५ गते, शुक्रबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने

२०८० आश्विन ३ गते, बुधबार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal