प्रधानमन्त्री प्रचण्डले संसद्मा गल्ती स्वीकारेः बिबिसी
काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार संसदमा गरेको सम्बोधनलाई हिन्दी मिडियाले गल्ती स्वीकारेको भनेर समाचार सम्प्रेषण गरेका छन् ।
बीबीसी हिन्दीले भारतीय व्यापारी प्रितम सिंहबारे दिएको विवादित बयानमा प्रचण्डले गल्ती स्वीकारेको लेखेको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएका भनेर प्रचण्डले दिएको अभिव्यक्ति विवादित बनेको थियो, जुन सन्दर्भमा सोमवारको संसद बैठकमा प्रचण्डले सम्बोधन गरेका छन् । प्रचण्डले गल्ती स्वीकारेपछि संसद्को गतिरोध अन्त्य भएको बीबीसीले लेखेको छ ।
बीबीसी हिन्दीले प्रचण्डको भनाइ लेखेको छ, ‘मेरो बयान प्रधानमन्त्री पदमा बसेको व्यक्तिको आचरण अनुरूप थिएन । आगामी दिनमा यस्तो बयानका विषयमा सचेत रहनेछु ।’ विवादित बयानपछि प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा एमालेले संसद् अवरुद्ध गरेको बीबीसी हिन्दीले लेखेको छ ।