स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग
काठमाडौँ । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्यागको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस पार्टी परित्यागको घोषणा गरेका हुन् । वाग्लेले लेखेका छन्, ‘वि.स २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।’
वाग्लेले अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।
‘अहिले दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ वाग्लेले भनेका छन्,’ पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ।‘
साथै वाग्लेले स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डासहित २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने समेत जनाएका छन् ।