शर्मिला रूदै भनिन् बालेनले मलाई रुवाएर गाडा लानुभयो, तर उहाँको सधैँ भलो होस् :
यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ ।
सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।
गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाले अहिले के गर्दै होलिन् ? भन्ने कौतुहलतालाई मेटाउन हामी उनको वासस्थानमा पुग्दा उनी आफ्नो २५ महिने नानीलाई काखमा च्यापेर मलिन अनुहारका साथ शर्मिलाले हामीलाई स्वागत गरिन् र आफ्नो विगत वर्तमान र भविष्यको फेहरिस्त सुनाउन राजी भइन् ।
झण्डै आधा घण्टासम्म उनी भक्कानिँदै सम्हालिँदै आफ्नो व्यथा सुनाइरहिन हामी सुनिरह्यौँ ।झण्डै २ वर्ष देखी सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला । शर्मिलाका अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन।