नेपाल एअरलाइन्सको ‘वाइडबडी’ ले आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने
काठमाण्डौ । आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि उड्ने भएको हो ।
जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरु, पत्रकार लगायत गरी दुई सय ६० जना यात्रु रहने बताइएको छ । जहाज २ घण्टापछि फेरि काठमाण्डौ फर्कनेछ । २ घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि समाचार प्राप्त भएको छ । काठमाण्डौबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियम अनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने छ ।
विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तिदेखि नियमित व्यावसायिक उडान हुनेछन् । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ ।