राष्ट्रियसभा सदस्य निर्वाचन आज
काठमाडौँ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजेदेखि मतदान हुँदै छ ।
देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदान स्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । मतदाता मतदान स्थल र केन्द्र तोकिएका सहरमा पुगिसक्नुभएको छ ।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेस प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदान स्थल तोकिएको छ ।
यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदान स्थल तोकिएको छ ।