‘अन्तिम पाना’ बाट गिनिजबुकतिर लम्कन खोज्दै जीवन थापा

२०७८ माघ ९ गते, आईतवार

हरेक मान्छेको जीवनको एउटा अन्तिम लक्ष्य हुन्छ त्यसलाई पूरा गर्न उ सधैं सक्रिय रहन्छ । कसैले प्रशस्तै पैसा कमाउने र समाजमा इज्जत जोड्ने सोचेका हुन्छन् भनें कसैले आफूले गरेको कामले सन्तुष्टि दियो भने त्यसैलाई ठूलो सम्पत्तिको रुपमा लिएका हुन्छन् ।
सबैलाई आफ्नो क्षेत्रमा अब्बल कहलिने चाहना हुन्छ नै । भोजपुरको याकु गाउँ विकास समिति ४ (हालः अरुण गाउँपालिका ७) मा जन्मिएका जीवन थापा (क्षितिज) लाई कलाकारितामा लागेर नै केही गरौं भन्ने सोच पलाएपछि उनी दिनरात नभनी यही कर्ममा लागे । कुनै दिन अवश्य सफल भइन्छ भन्ने सोचेर नै दिनहुँ संघर्ष गर्दै आएका उनलाई कतिपय समयमा आफ्नो कामदेखि दिक्क पनि लाग्यो तर पनि हार खाएनन् । आफ्नो कर्मबाट कुनै दिन आफूमात्र होइन, साथीभाई र परिवारलाई पनि खुशी राख्छु भनेर लागिरहे । उनी अहिले पूर्णरुपमा सन्तुष्ट त छैनन् तर पनि मिहनेत खेर नगएकोमा भनें खुशी नै छन् । स्कुले जीवनदेखि नै जीवनलाई कलाकारिताको रहर लागिसकेको थियो । विश्वप्रेमी मावि याकुमा पढ्दा पनि उनी सडक नाटकमा सक्रिय रहे । अभिनयको माध्यमबाट समाजमा केही चेतना बाँड्नुपर्छ भन्ने सोचेका उनले सामान्य रुपमा आफूलाई स्थापित गर्न थालेपछि काठमाडौं हानिए । सुरुमा काठमाडौं आउँदा र बस्दाको समस्या उनको पनि अरुको जस्तै थियो तर कुनै पनि समस्यालाई सहजै पचाइदिए र अहिले त्यही मिहनेतको फलको व्याज खाइरहेका छन् । ‘मैले अभिनय र कलाकारिताबाहेक दायाँवायाँ सोचिन र अझै पनि फरक बाटो कल्पना गरेको छैन’ उनी आशा जगाउँदै भन्छन् ‘ हेरौं, अवश्य सफल भइएला, केही होला भनेर नै पूरै समय यसैमा खर्च गरेको छु, कलाकारिता गर्न मलाई अरु केही पनि चाहिँदैन ।’
२०६८ सालतिर काठमाडौं आएका उनले राष्ट्रिय नाचघरमा प्रभाकर देव शर्मासँग ६ महिनाको अभिनय कोर्ष गरे । उनलाई त्यहाँ सिकेपछि थप जोश जाँगर पलायो र यो क्षेत्रतिर लाग्ने प्रेरणा आयो । उनले त्यसपछि ‘जीवन्त कथाहरु’ नाटक लेखे र निर्देशन गरे । ठूला र पुराना लेखकको अगाडि उनलाई स्थापित हुन चुनौती नै थियो तर पनि सहजताका साथ लिए, जान्नेबुझ्नेसँगको संगतले उनको क्षमतामा पनि विस्तारै निखारता आयो । ‘जीवन्त कथाहरु’ मा सुकुम्वासीको कथालाई देखाइएको थियो । यो नाटकमा प्रमुख भूमिका खेलेका उनले नाटकलाई सिल्पी थिएटर बत्तिसपुतली, भोजपुरको सामूहिक हल, संखुवासभा, इलाम, झापालगायत पूर्वका धेरै ठाउँमा प्रदर्शन गरे । तपाइलाई यो नाटकबाट फाइदा भयो कि घाटा भन्ने प्रश्नमा जवाफ दिए ‘घाटा परिन ।’ उनले त्यसपछि किशोर अनुरागको लेखन र निर्देशन रहेको ‘जंगे पिलर’ मा अभिनय गरे । उनी अधिकांश नाटकमा पनि प्रमुख भूमिकामा नै रहन्थे । यो नाटक सीमा सम्बन्धी थियो । उनले प्रशस्तै मात्रामा म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । प्रमोद खरेलको ‘नरमाइलो’ मा पनि उनलाई रमाइलो नै भयो । उनी मोडलको रुपमा थिए । नरेन्द्र प्यासीको ‘थोपाथोपा’ उनिद्धारा अभिनित अर्को म्युजिक हो । उनले कति म्युजिक भिडियोमा खेले भन्ने यकिन छैन । मेलिना राइको ‘आयौ मनमा सुस्तरी’ मा पनि उनले सशक्त अभिनय गरेर दर्शकको मन जितेका छन् ।


उनले केही चलचित्रमा पनि अभिनय गरेका छन् । ज्ञानेन्द्र कोइरालाको निर्देशन रहेको चलचित्र ‘खुल्ला आकाश’ को लेखन पनि थापाले नै गरेका हुन् । यो चलचित्रमा उनले पनि अभिनय गरेका छन् । उनले खेलेका टेलिचलचित्र पनि प्रशस्तै छन् । उनले लेखन र निर्देशन गरेको ‘अन्तिम पाना’ ले गिनिजबुकमा नाम लेखाउन सक्ला भन्ने उनले अपेक्षा गरेका छन् । उमेश कार्की एक्लैले चलचित्रमा अभिनय गरेका छन् । दुई घण्टाको यो चलचित्रप्रति उनी निकै आशावादी छन् । दुवइमा यो चलचित्रले ‘वेस्ट स्क्रिप्ट राइटर’ को अवार्ड पनि पाएको छ । यो चलचित्र कस्तो छ र कथावस्तु के हो भन्नेबारे उनले अहिले नै भन्न नमिल्ने जनाए । उनी सधैं अभिनय र नाटक गर्नेमात्र होइनन् मौका पाए कहिलेकाहीँ निर्णायकको भूमिकामा पनि हुन्छन् भने कहिले अरु क्षमता प्रदर्शन गर्छन् । केही समयअघि काठमाडौंमा भएको राष्ट्रिय नाटक महोत्सवमा उनले गणेश उपाध्यायद्धारा निर्देशित नाटक ‘छैंटी’ को कार्यपत्र प्रस्तुत गरेका थिए ।


उनी लेखन र सम्पादन राम्रो भयो भने कलाकारितामा पनि निखार आउनेमा जोड दिन्छन् । उनलाई राज्यले कलाकारलाई राष्ट्रका गहना भनेकामा खुशी लागेको छ तर त्यतिमात्र भन्दैमा कलाकारको सम्मान नहुने उनको बुझाई छ । ‘कलाकार राष्ट्रका गहना र सम्पत्ति पनि हुन्, कलाकारको जीवनमा दुःख आउँदा कसैले पनि हेर्दैन अनि मन दुख्छ’ उनी भन्छन् ‘ मानिस जीवनभर कलाकारितामा रमाउँछ, सकेको अभिनय गर्छ तर बुढेसकालमा सहाराविहीन भएको छ, यो घटना फेरि नदोहोरियोस् ।’ उनी कलाकारलाई सरकारले गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने बताउँछन् । राज्यले उपयुक्त सम्मान नदिँदा धेरै कलाकारहरु विदेशिएकोमा उनलाई चिन्ता छ । उनी चलचित्र विकास बोर्ड र संगीत नाट्य एकेडेमीलाई प्रादेशिक सञ्रचनामा लान सरकारलाई सुझाव दिन्छन् । नाट्य एकेडेमीले प्रदेशभित्र प्रतिभा भएका कस्ता कलाकार कहाँ छन् भनेर खोजी गर्नुपर्ने र उनीहरुलाई यो व्यवसायमा लाग्न आवश्यक सहयोग गर्नुपर्ने तर्क राख्छन् । उनी स्पेनिस फिल्म फेस्टिवलको निर्णायकसमेत भइसकेका छन् ।
उनी कलाकारितामा आउने नव आगन्तुकलाई कमसेकम केही सिकेर मात्र आउन सल्लाह दिन्छन् । केही दिन रमाइलोको लागि कलाकारिता गर्ने र पेशा नबनाउनेको व्यवहार देख्दा उनी दुःखित छन् । ‘ आज नै आएर भोलि चर्चा कमाउँ भनेर यो क्षेत्रमा आउने हो भने सम्भव छैन’ उनी भन्छन् ‘धैर्यताका साथ विस्तारै गर्नुपर्छ, अवश्य सफल भइन्छ ।’ उनी यही क्षेत्रबाट नाम कमाउने एकमात्र लक्ष्य लिएर अघिअघि लम्किइरहेका छन् ।

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal