बढी भाडा लिने सात जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।
चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने ७ जनालाई आज बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । सो आरोपमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क(३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् ।
भट्टराईले दसैँ(तिहार मनाउन घर जानेहरूको अरू समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरुन्तै कारबाही गर्ने पनि बताए । ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोसाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाइरहेको छ ।