काठमाडौ कांग्रेसमा कसका कारण कहाँकहाँ कस्तो किचलो ?

२०७८ असार १९ गते, शनिबार

रोशन ज्ञवाली
काठमाडौं । महाधिवेशनको तिथि नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यताको विषय थप पेचिलो बन्दै गएको छ ।
काठमाडौ जिल्लामा पछिल्लो समय क्रियाशील सदस्यताको विषय थप विवादित बनेको नेताहरुको दावी छ । काठमाडौको क्षेत्र नम्वर ३, क्षेत्र नम्वर ७ र क्षेत्र नम्वर १० मा विवाद बढी देखिएको छ । काठमाडौ क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति सन्तोष चालिसलाई मनोमानी ढंगमा नामहरु थप्ने र हटाउने काम गरेको आरोप लगाइएको छ । तर उनी आफूले सवै काम विधानसम्मत गरेको दावी गर्दै आएका छन् । नेपाली कांग्रेसका सो क्षेत्रका नेता तथा महासमिति सदस्य विमल ठकुरीका अनुसार क्षेत्र नम्वर ३ मा सभापतिको मनोमानी व्यापक छ । उनका अनुसार जसरी पनि पार्टी कब्जा गर्ने रणनीतिमा क्षेत्रीय सभापति लागेका छन् । क्षेत्रले विधानविपरीत गएर क्रियाशील सदस्यता थप्ने र हटाउने काम गरेको दावी ठकुरीको छ । उनको भनाईलाई आधार मान्ने हो भने यो क्षेत्रमा अनुहार र गुट हेर्ने काम प्रशस्तै मात्रामा भएको छ । ‘शतप्रतिशत भर्नुपर्ने ठाउँमा बढी भरेर ल्याइएको छ, राप्रपाको समायोजन नै भएको छैन त्यसमा पनि नाम थप्ने काम भएको छ’ ठकुरीले भने ‘क्षेत्रीय सभापति चालिसले नै सवै विवाद बढाउने काम गरेका छन्, पार्टीको विधानविपरीत गएर सदस्यता थप्ने काम भएको छ, इकाईबाट सिफारिस भएर गएका नाम समेत क्षेत्रबाट हटाइएको छ ।’
इकाईबाट सिफारिस भएर गएपनि गोकर्णेश्वर नगरपालिका वडा नं २ मा २७ जना, ३ मा ९ जना र ४ मा २१ जनाका साथै वडा नं ५ मा २८ जना, त्यसैगरी वडा नं ८ मा ३० जना र काठमाडौ महानगरपालिका ६ को बौद्धमा ६५ जनाको नाम हटाउने काम क्षेत्रीय सभापतिले गरेको ठकुरीको दावी छ । चालिसेको कारण नै यो क्षेत्रमा व्यापक विवाद रहेको बुझिन्छ । ठकुरीले थपे ‘क्षेत्रले पठाएका कतिपय नामलाई जिल्लाले मानेन, यहाँ पनि तेरो मान्छे र मेरो मान्छे भन्ने नै लडाई होलाजस्तो छ । ’ सो क्षेत्रका सभापति चालिसे गोकर्णेश्वर नगरपालिकाका मेयरसमेत हुन् ।
यता काठमाडौ ७ मा पनि सदस्यताको विषयमा निकै ठूलो विवाद देखिएको छ । क्रियाशील सदस्यताको विषयमा पार्टीको सदस्यता छानविन समितिले समेत प्रश्न उठाएपछि क्षेत्रीय सभापति मुकुन्द रिजाल थप तनावमा देखिएका छन् । उनले छानविन समितिकै विषयमा प्रश्न गर्न थालेका छन् । उनले भने ‘छानविन समिति राजाको पालाको जस्तो हुकुमी शैलीले अघि बढेको छ यसमा मेरो आपत्ति छ, पार्टीको विधान, नियमावली र परिपत्रलाई मिच्ने अधिकार उसलाई छैन ।’ रिजालले भने ‘हामीले इन्ट्री गरेको नाम नै वैध हो, मुहार हेरेर क्रियाशीलताको टुंगो लगाउने काम हुँदैछ, यो गलत छ ।’ उनले आफनो क्षेत्रमा नयाँ र पुरानो गरी ३ हजार क्रियाशील सदस्य रहेको बताए । उनले आफूले केन्द्रमा नाम पठाउँदा कसैलाई पनि भेदभाव नगरेको र मापदण्ड पुगेकालाई सिफारिस गरेको दावी गरे । तर उनको दावीलाई सो क्षेत्रका नेताहरु नै अस्वीकार गर्छन् । सवैभन्दा बढी विवाद देखिएको क्षेत्रका रुपमा ७ रहेको उनीहरुको बुझाई छ ।
सो क्षेत्रका चर्चित युवा प्रगतिमान रंजित गुट र अनुहार हेरेर क्रियाशील सदस्यता थप्ने र हटाउने काम आफ्नो क्षेत्रमा पनि भएको स्वीकार गर्छन् । काठमाडौ क्षेत्र नम्वर ७ मा पनि इकाईबाट प्रक्रिया पूरा गरेर क्षेत्रमा पुगेका नामहरु हटाउने काम भएको बुझिएको छ । केही इकाईहरुमा समेत सदस्यता दिने विषयमा बदमासी भएको पनि नेताहरुको बुझाई छ । क्रियाशील सदस्यताको विषय पार्टीको हितभन्दा व्यक्ति हितमा बढी केन्द्रित भएको नेता रंजितको बुझाई छ । उनले यस्तो विवादले पार्टी र देशलाई भलो नगर्ने दाबी गरे । उनले यस्तो प्रकारको विवादले आउँदै गरेको निर्वाचनमा समेत असर गर्न सक्छ भन्दै चिन्ता समेत गरे । हरेक इकाईमा विवाद झिक्ने काम समेत क्षेत्रीय सभापतिले गरेको त्यो क्षेत्रका नेताहरुको भनाई छ । रंजित भन्छन् ‘ विशेष मिहिनेत गरिएन भने यो क्षेत्रको विवाद समाधान हुने छाँटकाँट छैन, नेताहरु आफैंलाई समस्यामा पार्ने काममा अग्रसर भएकाले यसले पार्टीलाई फाइदा पुग्दैन ।’ काठमाडौ १६ नम्वरका वडा अध्यक्ष समेत रहेका रिजालले आउँदै गरेको निर्वाचनलाई समेत ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको अहिलेका गतिविधि सन्तोषजनक नभएको टिप्पणी गरे । काठमाडौ जिल्ला सभापति सबुज बानियाले जिल्ला अधिवेशनलाई केन्द्रित गरेर सवै क्षेत्रमा विवाद श्रृजना गरेर आफूलाई बलियो हुने आधार खोजेको आरोप समेत केही नेताहरुले लगाए ।
काठमाडौमा रहेका १० वटा क्षेत्रमध्ये अधिकांश क्षेत्रमा विवाद देखिएको छ । क्षेत्रीय सभापति तथा इकाई सभापतिहरुले भनें आफ्नो ठाउँमा अन्य क्षेत्रको जस्तो विवाद नरहेको दावी गर्दै आएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजक रहेको क्रियाशील सदस्य छानबिन समितिमा काठमाडौको क्रियाशील सदस्यताको विषयमा उजुरीका चाङ तेर्सिएका छन् ।
काठमाडौं क्षेत्र नम्वर ९ का सभापति जयकृष्ण महर्जनका अनुसार नागार्जुन नगरपालिकामा क्रियाशील सदस्यताको विषयमा विवाद देखिएको छ । अन्य इकाईमा सानातिना विवाद भएपनि खास समस्या नभएको उनको दावी छ । सो क्षेत्रमा झण्डै ४ सयले सदस्यता नवीकरण गरेका छैनन् । ‘कोही यो क्षेत्र छोडेर अन्त गए, कोही के भयो त्यसैले नवीकरण कम भयो’ उनले भने ‘ अहिले १७ सय नयाँ क्रियाशील थपिएका छन्, जम्मा क्रियाशीलको संख्या लगभग ३५ सय छ ।’ नागार्जुन नगरपालिका ६ मा भने सामान्य विवाद छ । काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्वर १० का सभापति पुकार महर्जनको भनाईलाई आधार मान्ने हो भने सो क्षेत्रमा पनि विवाद छ, उनले कीर्तिपुर–२ मा समस्या देखिएको बताए । सभापतिले वितरण गरेको फारममा समस्या रहेको उनको दावी छ । ‘सभापतिले अर्को ठाउँमा सदस्यता भर्नका लागि फारम दिएनन् भन्ने कुरा आयो’ उनले भने ‘अब छिट्टै यो विषय पनि मिल्छ ।’ काठमाडौका अन्य क्षेत्रमा पनि क्रियाशीलताको विषयमा केही विवादहरु देखिएका छन् । केन्द्रले गठन गरेको छानविन समितिमा समेत विभिन्न विषयलाई उजुरी परेको समितिका एकजना सदस्यले जानकारी दिए । काठमाडौ क्षेत्र नम्वर २ का विषयमा पनि समितिमा उजुरी परेको बुझिएको छ । उजुरी परेको विषयमा क्षेत्रले सर्वसम्मत निर्णय गरेर इकाईहरुको पनि माइन्युटिङ सहित लिखित र मौखिक जानकारी केन्द्रको छानविन समितिलाई दिइसकेको बुझिएको छ ।
काठमाडौ ८ मा पनि क्रियाशील सदस्यताको विषयमा केही विवाद देखिएको बुझिएको छ । ८ का सभापति बद्री नेपालले पनि आफ्नो क्षेत्रमा पनि केही विवाद भएको स्वीकार गरे । उनले काठमाडौ महानगरपालिकाको १५ नम्वर वडामा सामान्य विवाद भएको दावी गरे । उनले भने ‘विवाद नै नभएको भनेर ढाँट्न भएन, केही छ तर त्यस्तो समस्या ल्याउने गरीको होइन, आगामी महाधिवेशनमा उठ्न खोज्नेहरुको संख्या बढी भएकाले पनि अप्ठेरो परेको हो ।’ काठमाडौको क्षेत्र नम्वर १ र क्षेत्र नम्वर ४ मा पनि केही समस्याहरु रहेको बुझिएको छ । तर ती क्षेत्रका क्षेत्रीय सभापतिले आफ्नो क्षेत्रमा कुनै पनि विवाद नरहेको दावी गरेका छन् । क्षेत्र नम्वर १ का सभापति प्रकाश राणाले पनि आफ्नो क्षेत्रमा विवाद नभएको ठोकुवा गरे । उनले केही नाम मिस्टेक भएको र त्यसलाई सच्याउने काम भइरहेको पनि बताए । क्षेत्र नम्वर ४ का सभापति राजु श्रेष्ठले काठमाडौको सबै क्षेत्रमध्ये आफ्नो क्षेत्र एउटै पनि विवाद नभएको क्षेत्र भएको ठोकुवा गरे । ‘पार्टीमा बसेर काम गर्छु भन्नेलाई अवसर दिनुपर्छ जसले पार्टीलाई नै फाइदा हुन्छ’ उनले भने ‘ भोलि नेतृत्वमा आउन सक्ने कि नसक्ने उनको क्षमतामा भर पर्छ तर काम गर्छु भन्नेलाई तलबाटै निरुत्साहित पार्नु हुँदैन ।’ उनले गुट र समूह हेरेर सदस्यता वितरण नगरेको दावी गरे
५ नम्वरका क्षेत्रीय सभापति रमेश खड्काले पनि आफनो क्षेत्रमा विवाद नभएको दावी गरे । ‘हामीले विवादको सामना गर्नुपरेन, जति नाम पठायौं सहमतिमा नै भयो’ उनले भने ‘अरु क्षेत्रमा केही विवाद होला त्यसैले हामीमा पनि शंका गर्नु स्वभाविक हो तर त्यस्तो अवस्था छैन ।’
६ का क्षेत्रीय सभापति श्याम खड्गीले कुनै पनि पक्षलाई असन्तुष्टि नहुने गरी केन्द्रमा नाम पठाएको दावी गरे । ‘यो लाइनको सभापति भएर मैले क्रियाशीलता पाइन भनेर कसैले पनि भन्नु परेन, सबैलाई समान व्यवहार गरेको छु’ खड्गीले भने ‘वडाले प्रक्रिया पु¥याएर पठाएको नामलाई क्षेत्रले स्विकारेको छ ।’
क्रियाशील सदस्यताको विवादले महाधिवेशनको कार्यतालिका नै प्रभावित हुने आशंक बढेको छ । तर कांग्रेसको केन्द्रीय समितिले क्रियाशील सदस्यताको विषयमा प्रकृया पूरा गरेर आएका नामलाई सहमतिमा टुङ्ग्याउने निर्णय गरेकाले आशंका गर्नुपर्ने ठाउँ नरहेको एकजना नेताले बताए । साउनको दोस्रो साताबाट कांग्रेसको महाधिवेशन शुरु हुदैछ । साउन १२ गते इकाई अधिवेशन हुनेछ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा हुने भएको छ ।
काठमाडौका कोषाध्यक्ष गोविन्द पुडासैनीले जिल्लामा झण्डै २८ हजार क्रियाशील सदस्य पुग्न सक्ने बताए । उनले क्षेत्रबाट पठाएका नाममा धेरै उजुरी आएको जनाए । ‘केही उजुरी आएका छन्, शनिवार पदाधिकारी बैठक बसेर त्यसबारे छलफल गर्छौ’ पुडासैनीले भने ‘कुनैकुनै क्षेत्रले प्रक्रिया मिचेर नाम सिधै केन्द्रमा पठाएका छन् ।’
काठमाडौ क्षेत्र नम्वर २ को विषयमा सभापति कार्कीले आफनो क्षेत्रमा श्रृजना भएको विवादलाई कथितको संज्ञा दिए । उनले भने ‘सवै क्रियाशील सदस्यता इकाईको सर्वसम्मत बैठक बसेर बाँडिएको हो । केही साथीले नियोजित रुपमा विवाद श्रृजना गर्न मात्र खोजेका हुन् । ’काठमाडौ क्षेत्र नम्वर २ ले हरेक इकाई र क्षेत्रले गरेका निर्णयहरु सर्वसम्मत रुपमा गरेको पनि सभापति कार्कीले जानकारी दिए । ‘ हामीले फारम बाँड्दा नै विवादरहित ढंगले बाँडेका छौ । अहिले देखाउन खोजिएको विवाद कृतिममात्रै हो ’ उनले ठोकुवा गरे ।
कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यताको विषय इकाईको सिफारिस हुँदै नगर र प्रदेश हँदै क्षेत्रमा आउने हो । प्रदेश समितिले कुनै सदस्यको विषयमा चित्त नबुझेमा राय प्रस्तुत गर्न सक्ने मात्रै हैसियत राख्छ तर काठमाडौ महानगरपालिका वडा नम्वर ३२ को विषयमा प्रदेश सभापति ध्रुव केसीले गलत मनसाय राखेर ३ सय ५३ वटा फारम रोेकेर राखेको पनि बुझिएको छ ।
काठमाडौ जिल्लाका कोषाध्यक्ष गोविन्द पुडासैनीले पनि क्रियाशील सदस्यताको विषयमा काठमाडौमा विवाद भएको स्वीकार गरेका छन् ।

काठमाडौमा देखिएको विवाद हेर्दा सामान्य नै देखिन्छ तर काठमाडौ जिल्लाको नेतृत्व तहले नेतृत्वदायी भूमिका निर्वाह नगरेका कारण विवाद उग्र बन्दै गएको नेताहरुको दावी छ । काठमाडौ जिल्लाका नेता तथा कार्यकर्ताहरुको भनाइलाई आधार मान्ने हो भने सभापति सबुज बानियाको नेतृत्व र कार्यशैलीमा देखिएको समस्याले अवस्था यस्तो देखिएको हो । उनले फेरि अर्को कार्यकाल सभापति बन्ने आशामा क्षेत्रहरुमा अनावश्यक विवाद श्रृजना गरेको आरोप समेत उनीमाथि लाग्दै आएको छ ।

193 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal