म्यानमारमा प्रहरीको गोली लागेर १८ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौँ । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।
बिबिसीका अनुसार संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई अहिलेसम्मकै घातक भनेको छ।
प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुनलगायतका शहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ।
सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्। फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।
आङ सान सू चीलगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ। सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।
बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ। सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ। उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ ।