छिमेकी रिझाउन प्रधानमन्त्रीलाई सकस

२०८० भाद्र २२ गते, शुक्रबार

भक्तपुर÷ प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । सरकार संचालनमा पाइलैपिच्छे समस्या खेप्दै आएका दाहाल पछिल्लो समय छिमेकी राष्ट्रहरुलाई कसरी रिझाउने भन्ने कुराले सकसमा परेका बताइएको छ । खासगरी चीन भ्रमणको तयारीमा रहेका दाहाललाई चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा (लिपुलेक, लिम्पियाधुरा नसमेटिएको) लाई राखेका कारण तनाव थपेको हो । चीनले नेपालले पारित गरेको नक्सालाई मान्यता नदिएका कारण यसले कूटनीतिक रुपमा समेत असर पारेको छ । चीनले नेपालले मान्यता दिएको नक्सालाई मान्यता नदिएको भन्दै नेपालीजनले यो कार्यको विरोध नै गर्दै आएका छन् । यसको पछिल्लो उदाहरणमा काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) नै देखिएका छन् । उनले चीनले नेपाली नक्सालाई मान्यता नदिएको भन्दै त्यसको विरोधस्वरुप चीनको भ्रमण नै स्थगित गरिदिएका छन् ।
प्रधानमन्त्री दाहालले चीन भ्रमण गर्ने सम्पूर्ण तयारी गरिरहेको अवस्थामा चीनले जारी गरेको नक्सामा नेपालको नक्सालाई पुरानै स्वरुपमा राखिएको छ । यो कार्यलाई नेपालीजनले नरुचाएको अवस्था छ । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री यही कारण पनि यो विषयलाई विवादको विषय बनाउन नचाहिरहेको अवस्थामा देखिएका छन् । सरकार पक्षबाट यो कुराको कतै पनि विरोध गरिएको छैन । यसैगरी चीनसँगको आफ्नो सम्बन्ध विग्रने भयले होला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका कम्युनिष्ट नामधारी दलहरु समेत यो कार्यको विरोधमा मुख खोल्न नसकेको अवस्थामा छन् ।

यसरी नक्साको विषयले मात्र नभई नेपालका लागि चीनका राजदूतले दिएको पछिल्लो अभिव्यक्तिले पनि प्रधानमन्त्री दाहाललाई झनै सकस पारिदिएको छ । ती राजदूतले पदीय मर्यादा नै विर्सिएर अर्को छिमेकी राष्ट्र भारतसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने अर्तिउपदेश सहितको भनाइ हालै एक सार्वजनिक कार्यक्रममा राखे । उनको आसय नेपालले भारतसँग भन्दा पनि चीनसँग व्यापार लगायतका सबैखाले सम्बन्ध राख्दा राम्रो हुने धारणा राखे । राजदूतको यो भनाइ विवादित बन्न पुगेको छ । कुनै पनि मुलुकसँग के कस्तो सम्बन्ध राख्ने भन्ने कुरा त्यो देशको आफ्नो विषय भएकाले यस्तो मामलामा चीनका राजदूतको सल्लाह आवश्यक थिएन भन्नेहरु प्रशस्तै भेटिएका छन् ।

विगतमा नेपालका लागि भारतीय राजदूतहरुले यस्तै खालका हस्तक्षेपकारी भूमिका निभाउने गरेका थिए । भारतीय राजदूतहरुका त्यस्ता अभिव्यक्तिका कारण उनीहरु विवादमा पर्ने गरेका थिए । उनीहरुले कूटनीतिक मान्यतालाई विर्सिएर नेपाल र नेपालीलाई हेरेको भनी उनीहरुको चर्को आलोचना हुने गरेको थियो । त्यो बेलामा चीनका राजदूतहरु नेपालको आन्तरिक मामिला भनी नेपालका विभिन्न मुद्दाहरुमा बोल्ने गरेका थिएनन् । पछिल्लो समयमा हालका राजदूत नेपाल आएको आठ महिनाको अवधिमै विभिन्न किसिमका विवादास्पद अभिव्यक्तिहरु दिएको भनी विवादमा पर्दै आएका छन् ।

कुनै पनि राजदूतले अर्को देशको विषयलाई लिएर यसरी आफ्नो अभिव्यक्ति दिनुलाई कूटनीतिक रुपमा राम्रो मानिँदैन । त्यसैले यो विषयलाई लिएर नेपाल सरकारले चीनका राजदूतसँग स्पष्टीकरण लिनुपर्ने वा देशबाट निकालासम्म गर्नुपर्ने भन्ने खालका अभिव्यक्तिहरु कूटनीतिक क्षेत्रका मानिसहरुले गर्ने गरेका छन् ।
यसरी यो विषयमा सर्वत्रबाट चासो तथा सुझाव आएको अवस्थामा समेत नेपाल सरकार भने उनको अभिव्यक्तिको मामलामा पनि प्रतिक्रियाविहीनको अवस्थामा देखिएको छ । यस्तो हुनुमा पनि प्रधानमन्त्री दाहालको निकट भविष्यको चीन भ्रमण नै कारक रहेको बताइन्छ । चीन भ्रमणको पूर्वसन्ध्यामा चीनको विरुद्धमा आफ्नो अभिव्यक्ति आउला कि भनी प्रधानमन्त्री दाहाल चूपको अवस्थामा बसेका छन् ।
विश्व आर्थिक बजारमा उदीयमान तथा एक अर्काका प्रतिस्पर्धी देशका रुपमा रहेका चीन र भारतको बीचमा नेपाल रहेको छ । यी दुई देशको बीचमा रहँदाको फाइदा उठाउन नेपालले सक्नुपर्नेमा त्यसको ठीक विपरितको अवस्थामा नेपाल रहन पुगेको छ ।

भारत सरकारले नेपालबाट किन्ने भनेको विजुलीको विषयलाई भारतले मूर्तरुप दिएको विषयलाई समेत चीनले पचाउन सकेको छैन । यसैगरी नेपाललाई चीनले दिने कतिपय सहयोगहरुलाई समेत भारतले पचाउन सकेको छैन । कुनै एक मुलुकले नेपाललाई सहयोग पुग्ने काम गरेको खण्डमा अर्को मुलुकले त्यो कार्यको विरोध गरिहाल्ने खालको अवस्था देखिएको छ ।

यस्तो अवस्थामा नेपाल सरकार भने उनीहरु रिसाउलान् कि भनी सोचिरहेको अवस्थामा छ । खासगरी नेपालमा कम्युनिष्ट नामधारी दलहरु सरकारमा रहेका बेलामा भने उनीहरुले चीनलाई रिझाउने गरी काम गर्ने गरेका कारण समस्या आउने गरेको छ ।
उता, भारत पनि नेपालले चीनसँग कस्तो व्यवहार गर्छ वा उनीहरुका बीचमा के कस्ता सम्झौताहरु हुन्छन् भनी एकदमै चासोका साथ हेरिरहने गर्दछ । यसरी भारतले हेरिरहेको अवस्थामा भोलिका दिनमा भारतले नेपालसँग कस्तो व्यवहार गर्दछ भन्ने कुरालाई समेत नेपालले ख्याल गर्नुपर्ने अवस्था छ । भारतसँग मुख्य रुपमा नेपालले इन्धन आयात गर्ने गर्दछ । इन्धन आयात ठप्प पार्ने गरी भारतले आफ्नो हर्कत देखाइसकेका कारण पनि नेपालले दुवै देशहरुसँग समानान्तर सम्बन्ध राख्नुपर्ने अवस्था विद्यमान छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री दाहालले आफूलाई चेपुवामा परेको महसुस गर्दै आएको देखिन्छ । सरकार संचालनमा आन्तरिक समस्यामा पर्दा नै खेप्न गाह्रो अवस्था रहेको स्थितिमा दाहालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित रुपमा राख्नका लागि पनि टाउको दुखाउनु परेको छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal