अत्याधिक गर्मी बढेसँगै बर्दियामा चार पालिकाले गरे विद्यालय बन्द
गुलरिया । बर्दियामा अत्याधिक गर्मी बढेसँगै यहाँका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरेका छन् । गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको पालिकाहरूले जनाएको छ ।
बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँ पालिकाले विद्यालय बन्द गरेका हुन् । ती पालिकाका शिक्षा शाखाले अत्यधिक गर्मीका कारण बालबालिकाहरू बिरामी पर्न नदिन र गर्मीबाट जोगाउन विद्यालय बन्द गर्नु परेको जनाएका छन् ।
जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बाँसगढी नगरपालिका शिक्षा शाखाका अधिकृत छत्रबहादुर शाहीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ४१ डिग्री र त्यो भन्दा माथि मापन हुन थालेको छ । जसका कारण दिउँसोमा लु तातो हावा चल्ने गरेको छ ।
गर्मी बढ्दै गएमा गुलरिया नगरपालिकामा असार २गतेदेखि विद्यालयहरुलाई गर्मी बिदा दिने सोच रहेको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनु भयो।