देउवालाई च्याँखे दाउ फाप्ने सम्भावना
काठमाडौ । संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस सधैं च्याँखे दाउ थाप्दै आएको छ । पार्टी सभापति शेरबहादुर देउवा पनि अवसरको राजनीति गर्न सफल र कुशल खेलाडीका रुपमा चिनिन्छन् । निर्वाचनमा जाँदा आफूलाई ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेर भनेको प्रसंग कोट्याउने उनी चारपटक प्रधानमन्त्री भइसकेका छन् । प्रधानमन्त्री भएर के काम गरें भनेर देखाउनुको साटो उनी पटक मात्र गनेर हिँडिरहेका छन् । प्रतिनिधिसभा विघटनको विषयमा प्रष्ट धारणा नराखेका उनले कहिले निर्वाचनको नारा लगाए त कहिले आन्दोलनको नाममा राजनीति गरे । देउवाले सर्वोच्च अदालतलाई दवाव नदिने भन्दै आएपनि उनका अधिकांश क्रियाकलाप पनि प्रष्ट रुपमा देखिँदैनथे ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै सडक संघर्षमा उत्रिन पनि देउवा पछि परेनन् । पुनस्र्थापना भए पनि प्रधानमन्त्री बन्न पाइएला भनेर च्याँखे थापेका उनी अस्थिर राजनीतिलाई फाइदा उठाउन जान्ने नेताका रुपमा चिनिन्छिन् । पुनस्र्थापना भएपछि प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव आएर सरकार ढल्ने अवस्थामा आफू नै बलियो उम्मेदवार भएको उनको तर्क छ । प्रतिनिधिसभा पुनस्र्थापना नभएर निर्वाचन नै भए पनि आफू नै प्रधानमन्त्री बन्छु भन्ने दाउमा थिए देउवा ।
सधैं अस्थिर र अलमलको राजनीति गर्दै आएका उनले पार्टीलाई मजबुत र जनतामुखी बनाउनुभन्दा पनि पार्टीको नाम बेचेर राजनीतिक व्यापार गर्ने कुरालाई नै प्राथमिकतामा राख्दै आएका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल सुरुदेखि नै संसद पुनस्र्थापनाको पक्षमा थिए, पुनस्र्थापना भएपछि आफूलाई फाइदा होला कि भन्ने सोचमा नै उनी केन्द्रित भए । सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापित गरिसकेपछि राजनीतिक संकट बढ्ने र त्यही मौकामा राष्ट्रपति बन्न पाइन्छ कि भन्ने सोचमा पौडेल रहेका छन् । कांग्रेसका नेताहरुलाई नेकपाका दुवै समूहले अलगअलग भेटेर राजनीतिक निकासका लागि छलफल गरिरहेका छन् । बुधबार आफ्नै निवास बुढानीलकण्ठ पुगेका नेकपा दाहाल नेपाल समूहका नेतालाई देउवाले भने पार्टीमा निर्णय गरेपछि मात्र आफ्नो आधिकारिक धारणा राख्ने स्पष्ट पारेका छन् ।
संसदीय निर्वाचनमा कांग्रेस पराजित भएपछि जनताको आदेश अनुसार उ ५ वर्षसम्म सरकार बाहिर बस्नुपर्ने हो तर अवसर आयो भन्दैमा अस्थिरताको फाइदा उठाउँदै फेरि पनि सरकारमा जानु र प्रधानमन्त्री बन्न खोज्नु कम हास्यास्पद तर्क होइन ।