यादहरुले चुलिएको उचाई

२०८० फाल्गुन ११ गते, शुक्रबार

योगेश राल्फाली
असारे झरी । मुसलधारे पानी । बलेसीको दर्कन । सुनसान रात । चकमन्न पनि । सदा झैं ख्याउ–ख्याउ र घुक–घुक गरी भुक्ने छरछिमेकका कुकुरका भुकाई पनि रकरति छैन आज । सायद झरीका कारणले नसुनेको हो वा आकाशे पानीका झोक्काहरुले साफ चुट्दा कतै गजुल्टेर बसेका हुन् कुकुरहरु । एकोहोरो वर्षिरहेछ पानी । छैन रोकिने छेकछन्द । दिईरहेछ प्राकृतिक प्रलय हुने छनक । मुसलधारे वर्षाका साथ छिन–छिनमा चलेको बतासको बेगले छरछिमेकका खुल्ला झ्यालहरुको आवाज आउने गर्छ ड्याम–ड्याम । बिजुलीको चम्काई बेपर्वाह छिन–छिनमा छरिरहेछ झ्यालका बन्द सिसाहरुबाट भित्रसम्म । साङमोकी आमा भने नराम्रो सपनाले ऐंठन गराएसी अनिदो छे लगभग डेड घण्टा भयो ।
साङमोकी आमा पाल्मो ऐठन भएर ब्यूँझिदादेखि नै चलिरहेको छ यी प्रलयकारी दृष्य । पाल्मो नराम्रो सपनाबाट ब्यूँझदाको मुटुको ढुकढुक अझै छैन थामिएको । पाल्मो ब्यूँझनासाथ झ्याल खोलेर हेर्दा देखि वर्षेको पानी वर्षिरहेछ एकोहोरो । पाल्मो घरी भित्तामा झुण्ड्याएको भित्ते घडीमा त घरीसँगै सुतिरहेकी छोरी साङमोमा चराईरहेछ आफ्ना आँखा डरमय भावमा । आफूले देखेको डरलाग्दो सपना सुनाउँ त कसलाई सुनाउँ ? एक्लै भयभित छे पाल्मो । छोरीलाई उठाएर सुनाउँ त के सुनाउनु विचरी १० वर्षे बालिकालाई । त्यो पनि मस्त निन्द्रामा सुतिरहेकीलाई किन उठाउनु । अनेक सोचमा हुन्छे पाल्मो । पाल्मो भने आज देखिएको सपना सपनामै सिमित होस् भन्ने कामना गरिरहेछे । निन्द्रा फुरे त पुनः निदाउने कोशिस पनि गर्छे । दुई वर्षकी छोरी साङमोलाई छाडेर विदेशिएको श्रीमानले आठ वर्ष वितिसक्यो । बेलाबखत छुट्टीमा नआएको भने होईन तर खाउँ–खाउँ र लाउँ–लाउँको उमेरमा छुट्टिएर बस्नु पर्दाको पीडा भने छ पाल्मो दम्पत्तिमा । श्रीमानले विदेशमा राम्रो कमाई गरेको पनि छ नगरेको होइन । अस्ति मात्रै २ लाख पठाएर पाल्मोले बैंकमा जम्मा गरेकी छे । श्रीमान् विदेशमा दुःख गरिरहँदा श्रीमती स्वदेशमा परपुरुषसँग मोजमस्ती र रमाइलो गर्दै हिँड्ने अनि विदेशीएका श्रीमती श्रीमानको स्वदेशको दुःख भुल्दै उतै बेपत्ता हुने उतै रमाउने वर्तमानको यावत घटनाहरु बीच यो हावाले भने पाल्मोको दम्पत्तिमा एकरति पनि छुन सकेन । र त श्रीमान् श्रीमती बीच राम्रो सम्बन्ध रहेको छ । “श्रीमानले राम्रो कमाई गरेमा श्रीमती र छोराछोरीलाई कसरी सुख दिन सकिएला भनेर सोच्छन् रे, श्रीमतीले राम्रो कमाई गरेमा श्रीमानले दुःख पाएमा त्यो श्रीमानलाई कसरी छाडौं भनेर सोच्छन् रे’ भनेर छ्यापछ्याप्ति प्रचार छ सामाजिक संजालमा । सायद समाजको यथार्थ दृष्य वा भोगाईलाई प्रस्फुटन गरेका त होलान नि मान्छेहरुले ।
सपनाको ऐंठन पछि अनिदो पाल्मोले झ्याल खोलेर हेर्छे बाहिर । पानीको एकोहोरो दर्कन रोकिने छाँट छैन । बाछिटाले भित्र आउन खोजेपछि झ्याल थुन्छे पाल्मो । कोठाको चारैतिर आँखा चराउँछे । भित्ताको घडीको सुईले २ बजाइसकेछ । सपना पनि “मलामीहरुको ताँती अनि बीचमा लास, आफू रोइरहेकी“ रुँदैरुँदै ऐंठन भएर ब्यूँझदै विपनामा सिरानी भिजेको त्यसैले निदाउँ नसकेकीले सपना विपना नहोस् भन्ने कामनामा छे पाल्मो । अनिदो कति बस्नु कतै मोबाइलले फकाएर निन्द्रा फुराउँछ कि भनि मोबाईल खोल्छे र वाईफाई चलाउँछे ।
मोबाइल पनि श्रीमानको छुटी र विदाको दिन अनि कामबाट आउने समयमा मात्रै खोल्ने गर्छे उनी । सामाजिक सञ्जालमा खासै बस्दिन पाल्मो । मोबाइल खोल्ने बित्तिकै टाङटाङ र टुङटुङ म्यासेज आउँछ म्यासेन्जरमा । धेरैपटक कल आईसकेको रहेछ । मोबाइल खोलेर पाँचै मिनेट पश्चात पुनः कल आउँछ श्रीमानको म्यासेन्जरबाट । रिसिभ गर्दै पाल्मो, ‘हेल्ला बूढो !“, भनेर के बोलेकी मात्रै थिई उताबाट ‘म संगम होइन’ नमस्ते भाउजु’ मि बिशाल बोलेको ।’
‘ए, ए’ बिशाल बाबु पो ल, ल नमस्कार !’। पाल्मोले विशालको जवाफ फर्काउँदै, “अनि दाइ खोई त बाबु ?“ भनि सोध्छे । तर विशालले पाल्मोको जवाफ नदिईकनै, “अनि आरामै हुनुहुन्छ त भाउजु ?“ पुनः प्रश्न गर्छ । “सन्चै छु बाबु !, अनि बाबुलाई नि ? दाइ हुनुहुन्न ?“ पाल्मो पुनः प्रश्न तेर्साउँछे । अहिले भने विशाललाई भन्न अलि सहज भएर हो वा हटबढिएर हो, “ दाइ त हुनुहुन्न भाउजु !“ भन्छ ।
विशालको कुरा प्रति सशंकित हुँदै “किन र ? कहाँ जानु भयो र ?“ पाल्मोले जिज्ञासा राखी ।
‘खै के भनौ र भाउजु ? कसरी भनौ ? आज दाइलाई एक्कासी चक्कर चलेर मेशिनमाथि ढल्नु भएछ ।“ विशालको कुरा टुंगिन नपाउँदै चिच्याउँदै “अनि के भो बाबु ? अहिले कस्तो छ ? दाइ कहाँ हुनुहुन्छ ? हस्पिटलमा कि कोठामा ? काममा होकी बाहिर ? कता हुनुहुन्छ ? के भयो ? किन भयो ? कसरी भयो ?“ अनियन्त्रित प्रश्नहरु वर्षाइन पाल्मोले । प्रतिउत्तरमा “के गर्नु भाउजु ! नियतिले ठगेपछि दाइले एउटा हात गुमाउनु भयो । बगेको रगत थामिन सकेन हस्पिटल लग्दालग्दै बाटैमा ….।“ यति मात्रै विशालले के बोलेको थियो “मेरो बाबा !“ भनेर चिच्याउँदै डङरंग ढली पाल्मो ।
उता विशाल भने “हल्लो–हेल्लो भाउजु ! हेल्लो भाउजु ! सुन्नोस् न भाउजु …!“ भनिरहेछ । पाल्मोको जवाफ नआएपछि विशालले म्यासेन्जरमा म्यासेज लेखेर छाड्छ– “के गर्नु त भाउजु नियतिले ठगेपछि । दैव देव्रे परेपछि सहनै पर्दोरहेछ । सबैले एक न एक दिन त्यही बाटो भएर जानु नै छ । पीर नलिनोस् भाउजु ! हिम्मत बटुल्नोस् । साहस लिनोस् । दाइले हामीलाई छाडेर जानु भए पनि छोरी छे, छोरीको मुख हेरेर बाँच्ने साहस बटुल्नोस् । दाइको लासलाई हामी सक्दो चाँडो नेपाल पठाउने पहल गर्छौं । हामी यहाँ सम्पूर्ण नेपाली शोकमा छौं भाउजु ! मुदिर (साहु)ले आफ्नो प्यारो मजदुर गुमाएकोले उ पनि शोकमा छ । साहुले मात्रै नेपाली २० लाख घ्यावा खर्च दिने हामी माझ बोलेको छ । हुन त मान्छे नै नभएपछि पैसाको त के कुरा गर्नु तै पनि साहुले बोलेको कुरा भाउजुलाई सुनाएको हुँ ।“ भनेर लामो म्यासेज लेखेर छाड्छन् ।
उता विशाललाई आफ्नो संगको साथीको मृत्यु भएको र खबर दिँदा भाउजु चिच्याउँदै कराएपछि जवाफ नआएको अनि आमा छोरी मात्रै भएकोमा कतै बेहोस् भएर ढलेर घटना घट्यो कि भन्ने चिन्ता । यता पाल्मो अचेत अवस्थामा आँखा मात्रै पुलुक पुलुक हेरिरहिछे । समयले विहानको संकेत दिएसँगै छोरी साङमो ब्यूँझन्छे र दायाँ बायाँ हेर्छे । आमा भूईंमा ढलेकी देख्छे । आमा आमा भनि कराउँछे । आमा बोल्दिन । धेरैपटक आमा भन्दा पनि नबोलेपछि छरछिमेकलाई उठाउँदै आमाको अवस्था बारे बताउँछे साङमो । छरछिमेकीहरु आएर हेर्छन् जो कोहीले बोलाउँदा पनि नबोलेपछि अस्पताल लाने सल्लाह हुन्छ । यतिकैमा छिमेकी नानी प्रशंसाको आँखा मोबाइलमा पुग्छ र छोरीलाई मोबाइलको लक खोल्न लगाउँछे । मोबाइल खोलेर हेर्दा पाल्मोको श्रीमानको म्यासेन्जरमा लेखिएको सबै पढेर सुनाउँदा बल्ल घटना थाहा हुन्छ । अब झन घटना थाहा भए पछि साङमो पनि चिच्याई–चिच्याई बाबा ! बाबा ! भनेर रुन थाल्छे । दृष्य हृदयविदारक बन्यो । कोहीले साङमोलाई सम्झाउन थाले भने कसैले पाल्मोलाई अस्पताल दौडाए ।
यी सम्पूर्ण घटनाहरु घटेको, धन कमाउन परदेशिएको बुबा बाकसमा फर्कि आएको आमा अस्पतालको उपचारले पनि ठीक नभएर एकोहोरो भइरहने दृष्य परिदृष्य, घटना परिघटनाहरु बेहोरेर आज १५ बर्ष बितेछ साङमोले । बुबा बाकसमा फर्केपछि आमा एकोहोरिएपछि आमाको स्याहार सुसारसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै आइन् साङमोले ।
एकरात एउटा खाटमा अनिदो टोलाई रहेकी आमा अर्को खाटमा भित्तामा फ्रेममा झुन्ड्याईएको बुबाको फोटो हेरी आँखाभरी आँसु पारेकी छोरी साङमो यो दृष्यले भने आज साङमोलाई सफल कवि बनाएको छ । त्यो दिन बुबाको फोटो हेर्दै आँखाभरी आँसु पार्दै
‘मेरो बाबा बोलन, आँखा खोलन
तस्वीरैले भए पनि बोलन, आँखा खोलन
अब फर्कि नआउने होर बाबा
हाम्रो माया यति नै होर बाबा …..!“ भन्दै कोरिएका हरफहरुले कवि साङमो बनाएको छ । देश विदेश फेसबुक, युट्युब, अनलाइन, पत्रपत्रिका यत्रतत्र सर्बत्र कवि साङमोको कविताले छाएको छ । बुबाको यादहरुमा कोरिएका केही हरफहरुबाट शुरु भएको साङमोको लेखन यात्रा …..कहिल्यै नटुंगिने यात्रा बन्यो । त्यसदिन देखि साङमोले थालेको लेखनलाई बुबाको यादमा रहेक दिन लेख्दै गईन र कलम निखारिँदै तिखारिँदै गयो र आज सफल कवि असल कवि बनेकी छे साङमो । बुबाको यादहरुले साङमोको उचाई थप्दै थप्दै लग्यो, चुलिदै– चलिदै गयो । अब कहिल्यै नढल्ने गरी उठेकी छे साङमो । साङमोको लेखनको यात्रा जिन्दगीको अन्तिम सास फेराइसँग मात्र टुंगिने पक्का छ तर आजसम्मको बुबाको यादमा लेखिएको अन्तिम हरफ भने …
“बाबा !
वियोगले सिकाएको शिक्षा
नियतिले थपेको उचाई
बाध्यताले उभिएको गोडाहरु
अनि विवशताले टाढिन बाध्य आफन्त
आँखाको बाटो हुँदै
आँसु भएर बगेका पीडाहरु
नदेखिने भित्री घाउहरु
कहिल्यै दाग नबन्दा
आलो घाउबाट
बगिररहेछ सेतो रगत
कहिल्यै नमर्ने
जिउँदो इतिहास बनेर……।“

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal