गीति लेखनमा सरलता चाहिन्छः सुमन बैरागी

२०७७ पुष १ गते, बुधबार

काठमाडांै । सुमन बैरागी पछिल्लो समय गीति लेखनको क्षेत्रमा स्थापित नाम हो । गीति लेखनमा दुई दशकको यात्रा गरिसकेका गीतकार सुमन बैरागीले लेखेका गीतहरु बजारमा चर्चाको शिखरमा रहेका छन् । सानैदेखि गीतसंगीतको रुचि राख्ने उनले स्कुले जीवनमा धेरै गीत, गजल र कविताहरु पनि लेखे । गाउँमा हुने रोधीमा पुन उनले प्रतिस्पर्धात्मक दोहोरी गायन गरे । तर उनले औपचारिक रुपमा भने २०५७ सालबाट गीति लेखनलाई लिने गर्छन् । स्कुले जीवनमा गीत, कविता र गजल कसरी लेख्ने भन्ने यकिन थिएन । मनका भावनाहरु पोख्ने काम हुन्थ्यो तर पूर्ण भयो कि भएन भनेर कसैलाई देखाउने ठाउँ थिएन, उनले भने– ‘जब गीति लेखनको केही नियमहरु सिकेँ त्यसपछि औपचारिक रुपमा लेखनलाई अगाडि बढाएँ ।’
गीतहरु लेख्ने क्रम जारी नै रह्यो । डायरीमा सीमित भएका गीतहरुलाई रेकर्ड गर्ने सोचमा उनी दौडि नै रहे । हुन त उनीभित्र गायक बन्ने सपना थियो । एसएलसी दिएर काठमाडौं छिरेपछि नै उनीभित्र गायक बन्ने सपना थियो । गाउँमा छँदा रेडियोमा बजेका गीतहरुको प्रभाव एकातिर थियो भने अर्कातिर गाउँको रोधीमा गाएको दोहोरी उनको कानमा गुन्जिरहेको थियो । त्यसैले पनि उनीभित्र दोहोरी गायक बन्ने सपनाले डरा जमाएको थियो । उनलाई गीत कहाँ र कसरी रेकर्ड हुन्छ भन्ने थाहा थिएन तर काठमाडौं छिरेपछि उनी गायक बन्ने दौडमा धेरै ठाउँमा पुगे । विस्तारै गीतसंगीतका साथीहरुको संगत हुन थाल्यो । रेकर्डिङ स्टुडियोसम्म पुग्ने वातावरण मिल्यो । उनले लेखका दोहोरी र आधुनिक गीतहरु डायरीमा थिए । त्यही गीत रेकर्ड गर्ने र गायक बन्ने योजनामा उनी संगीत समेत सिक्न थालेका थिए । २०५९ सालमा संगीत सिक्दै गरेको अवस्थामा गीत रेकर्ड गर्न साथीहरुसँग सल्लाह गरे र काम अगाडि बढाए । उनका साथी नारायाण खनालसँगको सहकार्यमा दोहोरी एल्बम ‘आँसुको तलाऊ’ बजारमा आयो । दुई जनाको लगानीमा तयार भएको उक्त एल्बम कम्पनीसँग सम्झौता गरेर बजारमा प्रकाशनका लागि पठाइयो तर प्रतिक्षा गर्दागर्दै उनको गायक बन्ने सपनामाथि कम्पनीले घात ग¥यो । केही दोहोरी साँझमा समेत गाउने काम गरे तर एलबम बजारमा आउन ढिला गरिदिएपछि उनको मनमा निराशा छाउन थाल्यो । त्यसपछि उनी निरन्तर गीति लेखनतर्फ मात्र उन्मुख भए ।
सुमन बैरागीले लेखेको गीत नजलाइदेउ मुटु मेरो… ले स्रोतामाझ राम्रो छाप छोड्न सफल भयो । २०६९ सालमा रेकर्ड भएको त्यो गीत गायक प्रमोद खरेलको स्वरमा थियो भने सन्तोष श्रेष्ठले संगीत गरेका थिए । त्यो गीतको सफलता सँगसँगै २०६८ सालमा रेकर्ड भएको गीत ‘तिम्ले सधैं पीडा दियौं’ ले पनि उनको गीत लेखन शैलीको प्रंशसा मिल्यो । अग्रजहरुबाट उनलाई हौसला समेत मिल्दै गयो । त्यसपछि उनले ती गीतहरुलाई समेटेर ‘साथी’ गीतिएल्बम सार्वजनिक समेत गरे । यो एल्बम बजारमा आउने क्रममा उनका धेरै गीतहरु बजारमा आएका थिए । कुनै चलचित्रमा थिए त कुनै फुटकर एल्बमहरुमा थिए । उनले चलचित्र एउटैका लागि लेखेको ‘कस्तो भाग्य लेख्यौ दैव’ धेरैले रुचाएको गीतमा पर्छ । कमलरी प्रथामा बनेको चलचित्र एउटैको शीर्ष गीत थियो जसले धेरै स्रोताहरुको मन जित्न सफल भएको थियो ।
गीति लेखनमा निरन्तर अगाडि बढेका गीतकार बैरागी पछिल्लो समयका रुचाइएका गीतकार हुन् । गीतभित्र सरलता खोज्ने उनको कर्म हो । गीतमा सरलता भयो भने स्रोताहरुको मनभित्र बस्न सफल हुन्छ भन्ने सिद्धान्त उनीभित्र छ । साहित्यिक र समाजले प्रयोग गर्ने सरल शब्दहरुको शिल्पीभित्र गीतका बैरागीका गीतहरु पर्ने गर्छन् । उनको गीतमा पीडाबोध हुने गर्छ, माटो बोल्ने गर्छ र समाजको कथालाई प्रस्तुत गरिएको हुन्छ । समाजको पीडा, माटोको मायासँगै समाजको कथा पस्किनु नै गीति लेखनको सबल पक्ष हो उनी भन्ने गर्छन् । उनले लेखेको राष्ट्रिय भावको गीत ‘नेपाल भएर नै म नेपाली बन्न पाछु’ पाँचौं रापती म्यूजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड चुम्न सफल भयो । जुन गीतमा सन्तोष श्रेष्ठको संगीत एवं युवराज चौलागाईंको स्वर रहेको थियो ।
त्यसो त गीतका बैरागीले लेखेको गीत ‘प्रवासको पीडाभित्र घरबासको दुःख, कहिँ गए नि भेटिएन धन फल्ने रुख’ ले राष्ट्रिय वर्ष गीत पुरस्कार पाउन सफल भयो । गीतकार संघले आयोजना गर्ने राष्ट्रिय वर्ष गीत पुरस्कारमा उत्कृष्ट दशमध्ये उनको गीतले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । ५१ हजार राशिको राष्ट्रिय पुरस्कार पाएसँगै सोही गीतले त्यो वर्ष अरु २ वटा अवार्डसमेत चुम्न सफल भयो । बक्स अफिस म्यूजिक अवार्ड र चौथो नेशनल क्यापिटल अवार्डमा वर्षको सर्वोत्कृष्ट गीतकार बन्न सफल भए । राजन ठकुरीको संगीत र स्वरमा रहेको यो गीतको प्रशंसा धेरैले गरे । समाजको आवाज बोलेको गीतका रुपमा यसलाई परिभाषित समेत गरियो ।
त्यसो त उनले गीति लेखनबाटै धेरै सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन् । गीति लेखनसँगै उनी सांगीतिक क्षेत्रका संघसंस्थामा समेत प्रतिनिधित्व गर्दै आएका छन् । संगीत रोयल्टी संकलन समाजको कार्यकारी सदस्य, गोरखा सांस्कृतिक समाजको वरिष्ठ उपाध्यक्ष, संगीत कला पत्रकार संघको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा रहेर संगीत क्षेत्रको उत्थानका निम्ति पनि क्रियाशील रहेका छन् । बहुप्रतिभाका धनी बैरागी म्यूजिक भिडियो निर्देशनमा पनि अब्बल ठहरिएका छन् । उनी गीतको कथालाई कसरी भिडियोमा सबल बनाउन सकिन्छ भनेर सोच्ने गर्छन् ।
उनी गीत लेख्नु अगाडि कथा सोच्ने गर्छन् । जसले गर्दा गीत सुन्दै गर्दा पूर्णता पाउने गर्छ । प्राय पीडाबोध भएका गीतले धेरैको मन जित्ने गर्छ भन्ने प्रश्नमा उनले भने– ‘पीडा हरेक समाजमा व्याप्त छ । सबै क्षेत्रमा दुःख पीडा छ । उनीहरुका फरक फरक किसिमको पीडा भए पनि प्रस्तुत गर्ने शैलीले पीडालाई आफ्नै जस्तो बनाइदियो भने त्यो गीतले सबैको मन जित्छ । गीतले गर्दा उनीहरुको पीडालाई कम गराइदिन सक्छ । त्यसैले पनि पीडा गीतले बजारमा कब्जा गरेको हुनुपर्छ ।’
गीति लेखनमा क्रियाशील रहँदै आएका गीतकार सुमन बैरागीका हालसम्म सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनले लेखका गीतहरु करिब ३ सयभन्दा बढी डायरीमा सीमित छन् । यतिबेला भने एकसय भन्दा माथि एउटा गीत संग्रहमा रहने गरी पुस्तक प्रकाशनको तयारीमा जुटेका छन् । गीतहरुको संग्रहलाई छिट्टै नै बजारमा ल्याउनका लागि तयारीमा जुटेका उनको पछिल्लो समय पनि बजारमा गीतहरु आइरहेका छन् । तीन वटा गीत रेकर्ड भइसकेको छ, जसको म्यूजिक भिडियोको काम भइरहेको छ । सम्भवतः पुस्तकसँगै ती गीतहरु पनि बजारमा आउनेछन्, उनले भने । उनको कविता संग्रह ‘सर्वहारा सुकुम्बासी’, गीतिसंग्रह ‘आँसुको तलाउ र साथी बजारमा आइसकेको छ भने छिट्टै गजलसंग्रह पनि बजारमा आउने तयारीमा छन् ।

365 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal