कहिलेकाहीँ त पैसा गन्ने मान्छे भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो–नबिना खड्का

२०७८ कार्तिक १४ गते, आईतवार

गंगा बराल
दोलखाको साविक नाम्दु गाउँ विकास समिति (हाल बैतेश्वर गाउँपालिका–६) की नबिना खड्का (९८४१५५२८५८) लाई २०६२÷०६३ सालतिर बेलुका कसैले दोकानको पैसा गनिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । दोकान गरेकी उनी दिनभरि खट्ने गर्थिन्, व्यापार पनि राम्रो हुन्थ्यो । दिनभरको थकान मेटाउन सुतौं कि बेलुका हिसावकिताव गरौं भन्नेमा उनी अन्यौलमा पर्थिन् । ‘साँच्चै भन्ने हो भने यति धेरै पैसा हुन्थ्यो कि गन्न नै भ्याइँदैनथ्यो, गलेर हैरान भएको हुन्थें’ उनले ती दिन सम्झँदै भनिन् ‘ त्यतिबेला दुःख गरेकी थिएँ र अहिले आफूले केही गरौं भन्दा सम्भव भएको छ ।’
उनी आफ्नो दैनिक कर्ममा खुशी छिन् । उनको अहिले खाने र सुत्ने टुंगो छैन । ट्याक्सी आफैं किनेर कुदाउन थालेपछि उनको व्यस्तता झनै बढेको हो । ‘काम गर्नुपर्छ कसले के भन्छ भन्नेसँग खासै मतलव राख्तिन’ भन्ने उनी पाँच वर्षदेखि बा२ज ४०३७ नम्बरको ट्याक्सी कुदाउँछिन् । जोरपाटीमा बस्दै आएकी उनलाई ट्याक्सीले सुत्न र खान दिएको छैन । ‘कतिपय रात नसुती पनि मानिसको सेवा गरेको छु, जब सुत्न लाग्यो अनि फोन आउँछ, अप्ठ्यारो प¥यो भन्छन् अनि दौडिहाल्छु’ उनी भन्छिन् ‘ट्याक्सीलाई आम्दानीको बाटोभन्दा पनि समाजसेवामा नै लगाएको छु भन्दा पनि फरक पर्दैन ।’ उनले भाडा तिर्न नसक्नेका लागि निःशुल्क गरिदिएको पनि जनाएकी छिन् । उनी देशव्यापी रुपमा नै पुगेकी छिन् । ट्याक्सी कुदाउँदा कुदाउँदै बाटोमा पनि धेरै मानिससँग चिनजान भएको छ । अधिकांश बाटोमा बस्ने ट्राफिकले पनि उनलाई राम्ररी चिन्ने गरेका छन् । कोरोना महामारीको पहिलो चरणमा दुई दिन घर बसेकी उनी बिरामी भइन् । दुई दिन आराम गरेकी उनलाई असहज भएपछि साइकल लिएर पनि यात्रामा निस्किन् । कोरोनाको कारण बिरामीलाई कसैले पनि ट्याक्सी र एम्बुलेन्सले लान नमानेपछि उनी अघि बढिन् । उनी बिरामीलाई आफै ट्याक्सीमा समेत हालेर घरसम्म पु¥याइदिने गर्छिन् । घरमा पनि उनलाई कोरोना ल्याउन हिँडेकी भनेर गाली गरे, भाडामा बस्नेले पनि घरबेटीले कोरोना ल्याउने भई भने तर उनले त्यसलाई कुनै मतलव गरिनन् । ‘बरु म मरे मर्छु तर सेवा गर्न छोड्दिन भनेर पछि हटिँन’ उनले भनिन् ‘फेरि पनि त्यस्तै समस्या आएको भए र कोरोनाको त्रास बढेर हिँडडुल गर्न नै नसक्ने भए अर्को घरमा बस्ने योजना बनाएकी थिएँ तर त्यस्तो खतरा भएन ।’
उनी लकडाउनमा खटेको सम्झना गर्छिन् । ट्याक्सी धेरै कुदेकाले पेट्रोलपम्पमा तेल हाल्न जाँदा पेट्रोलपम्पवाला पनि छक्क पर्ने गरेको उनले सुनाइन् । उनलाई ‘होइन यो ट्याक्सी कहाँ जान्छ र यत्रो तेल सकिन्छ भन्ने गर्थे’ अरे । २०३४ साल असार १८ गते जन्मिएकी उनले छोटो उमेरमा नै धेरै सुख र दुःख भोगेकी छिन् । कहिलेकाँही विरक्त लागे पनि उनी पछि परिनन् र संघर्ष गर्दै आइन् । महिलाले पनि ट्याक्सी कुदाउँदा रहेछन् भनेर मानिसहरुले फर्कीफर्की हेरेको अनुभव पनि उनमा छ । ‘मानिसहरु ट्याक्सीमा चढ्थे अनि जाने बेला भएपछि ‘सरी’ भन्दै उत्रिन्थे कतिपटक यस्तो भोगेकी छु’ उनले थपिन् ‘विस्तारै सबैले चिन्दै गएपछि त्यो समस्या भएन ।’ उनका पनि आफ्नै कथा व्यथा छन् । उनका ३ भाई र ३ बहिनी रहेका छन् । उनी गाउँमै एस्एल्सी पास गरेपछि उच्च शिक्षा पढ्नका लागि काठमाडौं आइन् । सुरुको काठमाडौं बसाई अरुको जस्तै उनका लागि पनि सहज थिएन । बाल्यकालदेखि नै राजनीतिप्रति झुकाव राख्दै आएकी उनले काठमाडौं क्याम्पसमा २०५३ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सह–सचिव जितिन् । अझ रोचक कुरा त के छ भने २०४९ सालको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका बुबालाई हराउन पनि उनी लागेकी थिइन् । २०४६÷०४७ को आन्दोलनबाट उनी राजनीतिमा होमिएकी हुन् । उनले कम्युनिष्टको बारेमा केही जानेकी थिइनन्, न माक्र्स पढेकी थिइन् न लेनिन नै । २०५६ सालतिर उनी गाउँमा शिक्षकको जागिर खान गइन् उनलाई जागिर दिएनन् । पार्टीका एकजना मान्छेको कारण जागिर नपाएको भन्दै उनले त्यो घटना सम्झिरहेकी छिन् । ‘एकजना मान्छेको कारण मैले जागिर खान पाइन त्यसपछि मैले एमाले छोडें, राम्रालाई भन्दा पनि हाम्रालाई जागिर दिएकोमा दुःख लागेको छ’ उनले भनिन् ‘ त्यहाँ जागिर आएको भए एउटा असल शिक्षिका मात्र बन्थे होला, गाउँमा दुई चारजनाले चिन्थे तर यत्रो प्रगति भने गर्न सक्दिनथें ।’ जागिर नपाएपछि उनी काठमाडौं नै आइन् र दोकान गरिन् जसबाट प्रशस्तै आम्दानी गरिन् । वालुवाटारमा डेरा बसेको घर नै उनले किनिन् ।
उनले लकडाउनमा आफ्नो तर्फबाट धेरैलाई राहत पनि बाँडेकी थिइन् । ‘दिनभर कमाउँथे त्यही पैसाले सामान किन्थें र राहतस्वरुप चामल, दाल, नुनलगायतका सामग्री किनेर दिन्थें’ उनले त्यो सम्झँदै भनिन् ‘एकलाई अप्ठ्यारो परेको बेला अर्कोले सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो ।’ उनी ट्याक्सीलाई दोस्रो एम्बुलेन्स भन्छिन् । तर कामको तुलनामा ट्याक्सी पहिलो एम्बुलेन्स भएको उनको बुझाई छ । उनका श्रीमान पनि ट्याक्सी नै कुदाउँछन् । उनका एक छोरा र एक छोरी छन् । उनी नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय सदस्य हुन् । ट्याक्सीलाई ट्राफिकले गर्ने व्यवहारप्रति उनमा आक्रोश छ । सधैं ट्राफिकले ट्याक्सीलाई नै निशाना बनाएर अनावश्यक दुःख दिने गरेको उनी बताउँछिन् । प्रशस्त पार्किङ नभएको र एकैछिन राख्दा पनि चिट काट्ने गरेकोमा उनलाई दुःख लागेको छ । ट्याक्सी चालकलाई तेस्रो दर्जाको रुपमा हेरिनु हुँदैन भन्ने उनको भनाई छ ।
उनी आगामी दिनमा पनि व्यवसायमै संलग्न रहने, समाजसेवा गरिरहने र ट्याक्सी कुदाएर नै जनतालाई सेवा दिने बताउँछिन् । उनी राजनीतिमा पनि संलग्न भएकाले राजनीतिका माध्यमबाट समाज परिवर्तन गर्ने धोको पनि उनमा छ । ‘हेरौं कति सकिन्छ सकेसम्म गर्ने हो, सकारात्मक सोचका साथ अघि बढे कुनै दिन सफल भइन्छ भन्नेमा ढुक्क छु’ खड्का भन्छिन् ।

224 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal