कहिलेकाहीँ त पैसा गन्ने मान्छे भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो–नबिना खड्का
गंगा बराल
दोलखाको साविक नाम्दु गाउँ विकास समिति (हाल बैतेश्वर गाउँपालिका–६) की नबिना खड्का (९८४१५५२८५८) लाई २०६२÷०६३ सालतिर बेलुका कसैले दोकानको पैसा गनिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । दोकान गरेकी उनी दिनभरि खट्ने गर्थिन्, व्यापार पनि राम्रो हुन्थ्यो । दिनभरको थकान मेटाउन सुतौं कि बेलुका हिसावकिताव गरौं भन्नेमा उनी अन्यौलमा पर्थिन् । ‘साँच्चै भन्ने हो भने यति धेरै पैसा हुन्थ्यो कि गन्न नै भ्याइँदैनथ्यो, गलेर हैरान भएको हुन्थें’ उनले ती दिन सम्झँदै भनिन् ‘ त्यतिबेला दुःख गरेकी थिएँ र अहिले आफूले केही गरौं भन्दा सम्भव भएको छ ।’
उनी आफ्नो दैनिक कर्ममा खुशी छिन् । उनको अहिले खाने र सुत्ने टुंगो छैन । ट्याक्सी आफैं किनेर कुदाउन थालेपछि उनको व्यस्तता झनै बढेको हो । ‘काम गर्नुपर्छ कसले के भन्छ भन्नेसँग खासै मतलव राख्तिन’ भन्ने उनी पाँच वर्षदेखि बा२ज ४०३७ नम्बरको ट्याक्सी कुदाउँछिन् । जोरपाटीमा बस्दै आएकी उनलाई ट्याक्सीले सुत्न र खान दिएको छैन । ‘कतिपय रात नसुती पनि मानिसको सेवा गरेको छु, जब सुत्न लाग्यो अनि फोन आउँछ, अप्ठ्यारो प¥यो भन्छन् अनि दौडिहाल्छु’ उनी भन्छिन् ‘ट्याक्सीलाई आम्दानीको बाटोभन्दा पनि समाजसेवामा नै लगाएको छु भन्दा पनि फरक पर्दैन ।’ उनले भाडा तिर्न नसक्नेका लागि निःशुल्क गरिदिएको पनि जनाएकी छिन् । उनी देशव्यापी रुपमा नै पुगेकी छिन् । ट्याक्सी कुदाउँदा कुदाउँदै बाटोमा पनि धेरै मानिससँग चिनजान भएको छ । अधिकांश बाटोमा बस्ने ट्राफिकले पनि उनलाई राम्ररी चिन्ने गरेका छन् । कोरोना महामारीको पहिलो चरणमा दुई दिन घर बसेकी उनी बिरामी भइन् । दुई दिन आराम गरेकी उनलाई असहज भएपछि साइकल लिएर पनि यात्रामा निस्किन् । कोरोनाको कारण बिरामीलाई कसैले पनि ट्याक्सी र एम्बुलेन्सले लान नमानेपछि उनी अघि बढिन् । उनी बिरामीलाई आफै ट्याक्सीमा समेत हालेर घरसम्म पु¥याइदिने गर्छिन् । घरमा पनि उनलाई कोरोना ल्याउन हिँडेकी भनेर गाली गरे, भाडामा बस्नेले पनि घरबेटीले कोरोना ल्याउने भई भने तर उनले त्यसलाई कुनै मतलव गरिनन् । ‘बरु म मरे मर्छु तर सेवा गर्न छोड्दिन भनेर पछि हटिँन’ उनले भनिन् ‘फेरि पनि त्यस्तै समस्या आएको भए र कोरोनाको त्रास बढेर हिँडडुल गर्न नै नसक्ने भए अर्को घरमा बस्ने योजना बनाएकी थिएँ तर त्यस्तो खतरा भएन ।’
उनी लकडाउनमा खटेको सम्झना गर्छिन् । ट्याक्सी धेरै कुदेकाले पेट्रोलपम्पमा तेल हाल्न जाँदा पेट्रोलपम्पवाला पनि छक्क पर्ने गरेको उनले सुनाइन् । उनलाई ‘होइन यो ट्याक्सी कहाँ जान्छ र यत्रो तेल सकिन्छ भन्ने गर्थे’ अरे । २०३४ साल असार १८ गते जन्मिएकी उनले छोटो उमेरमा नै धेरै सुख र दुःख भोगेकी छिन् । कहिलेकाँही विरक्त लागे पनि उनी पछि परिनन् र संघर्ष गर्दै आइन् । महिलाले पनि ट्याक्सी कुदाउँदा रहेछन् भनेर मानिसहरुले फर्कीफर्की हेरेको अनुभव पनि उनमा छ । ‘मानिसहरु ट्याक्सीमा चढ्थे अनि जाने बेला भएपछि ‘सरी’ भन्दै उत्रिन्थे कतिपटक यस्तो भोगेकी छु’ उनले थपिन् ‘विस्तारै सबैले चिन्दै गएपछि त्यो समस्या भएन ।’ उनका पनि आफ्नै कथा व्यथा छन् । उनका ३ भाई र ३ बहिनी रहेका छन् । उनी गाउँमै एस्एल्सी पास गरेपछि उच्च शिक्षा पढ्नका लागि काठमाडौं आइन् । सुरुको काठमाडौं बसाई अरुको जस्तै उनका लागि पनि सहज थिएन । बाल्यकालदेखि नै राजनीतिप्रति झुकाव राख्दै आएकी उनले काठमाडौं क्याम्पसमा २०५३ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सह–सचिव जितिन् । अझ रोचक कुरा त के छ भने २०४९ सालको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका बुबालाई हराउन पनि उनी लागेकी थिइन् । २०४६÷०४७ को आन्दोलनबाट उनी राजनीतिमा होमिएकी हुन् । उनले कम्युनिष्टको बारेमा केही जानेकी थिइनन्, न माक्र्स पढेकी थिइन् न लेनिन नै । २०५६ सालतिर उनी गाउँमा शिक्षकको जागिर खान गइन् उनलाई जागिर दिएनन् । पार्टीका एकजना मान्छेको कारण जागिर नपाएको भन्दै उनले त्यो घटना सम्झिरहेकी छिन् । ‘एकजना मान्छेको कारण मैले जागिर खान पाइन त्यसपछि मैले एमाले छोडें, राम्रालाई भन्दा पनि हाम्रालाई जागिर दिएकोमा दुःख लागेको छ’ उनले भनिन् ‘ त्यहाँ जागिर आएको भए एउटा असल शिक्षिका मात्र बन्थे होला, गाउँमा दुई चारजनाले चिन्थे तर यत्रो प्रगति भने गर्न सक्दिनथें ।’ जागिर नपाएपछि उनी काठमाडौं नै आइन् र दोकान गरिन् जसबाट प्रशस्तै आम्दानी गरिन् । वालुवाटारमा डेरा बसेको घर नै उनले किनिन् ।
उनले लकडाउनमा आफ्नो तर्फबाट धेरैलाई राहत पनि बाँडेकी थिइन् । ‘दिनभर कमाउँथे त्यही पैसाले सामान किन्थें र राहतस्वरुप चामल, दाल, नुनलगायतका सामग्री किनेर दिन्थें’ उनले त्यो सम्झँदै भनिन् ‘एकलाई अप्ठ्यारो परेको बेला अर्कोले सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो ।’ उनी ट्याक्सीलाई दोस्रो एम्बुलेन्स भन्छिन् । तर कामको तुलनामा ट्याक्सी पहिलो एम्बुलेन्स भएको उनको बुझाई छ । उनका श्रीमान पनि ट्याक्सी नै कुदाउँछन् । उनका एक छोरा र एक छोरी छन् । उनी नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय सदस्य हुन् । ट्याक्सीलाई ट्राफिकले गर्ने व्यवहारप्रति उनमा आक्रोश छ । सधैं ट्राफिकले ट्याक्सीलाई नै निशाना बनाएर अनावश्यक दुःख दिने गरेको उनी बताउँछिन् । प्रशस्त पार्किङ नभएको र एकैछिन राख्दा पनि चिट काट्ने गरेकोमा उनलाई दुःख लागेको छ । ट्याक्सी चालकलाई तेस्रो दर्जाको रुपमा हेरिनु हुँदैन भन्ने उनको भनाई छ ।
उनी आगामी दिनमा पनि व्यवसायमै संलग्न रहने, समाजसेवा गरिरहने र ट्याक्सी कुदाएर नै जनतालाई सेवा दिने बताउँछिन् । उनी राजनीतिमा पनि संलग्न भएकाले राजनीतिका माध्यमबाट समाज परिवर्तन गर्ने धोको पनि उनमा छ । ‘हेरौं कति सकिन्छ सकेसम्म गर्ने हो, सकारात्मक सोचका साथ अघि बढे कुनै दिन सफल भइन्छ भन्नेमा ढुक्क छु’ खड्का भन्छिन् ।