जनतालाई सधैं गुमराहमा राख्ने प्रयास
गणेश जि.सी.
जुनसुकै सरकार र व्यवस्था आए पनि जनताको पक्षमा त्यो कहिले पूरा हुन सकेको छैन । निर्वाचनका बेला मिठो नारा लगाउने दलहरु पनि सरकारमा गएपछि जनताको भावनाविपरीत काम गर्ने भएकाले जनता भनें कुन दल र कुन व्यक्ति ठिक हो भन्ने छुट्याउन नसक्ने अवस्थामा पुगेका छन् ।
दलहरुले सधैं जनताको पक्षमा गुलियो आश्वासन दिने गरेका छन् । एकपटक, दुइपटक झुक्किए भन्दैमा अब जनता सधैं झुक्किने र अलमलिने पक्षमा छैनन् तर नेताहरुले भनें जनतालाई सधैं कमजोर सोच्दै आएका छन् । नेताहरुले आफूलाई शासक र जनतालाई भनें अत्यन्तै कमजोर ठान्दै आएका छन् । अरुबेला जनताको शक्ति कमजोर भए पनि निर्वाचनका बेला उनीहरुको शक्तिले मानिसलाई कहाँ पु¥याइदिन्छ भन्ने उनीहरुले राम्रोसँग भोगेका छन् । निर्वाचनका बेला सानो अनुहारमा ‘म्याउँम्याउँ’ आउने धेरैजसो नेता निर्वाचन जितेपछि साँढेजस्तो गर्जने गर्छन्, जसको परिणाम भोग्न उसले अर्को निर्वाचनसम्म पर्खनैपर्ने हुन्छ । कतिपय नेता भनें पदको जिम्मेवारी पाएपछि सधैं जनताको घरदैलोमा नै हुन्छन् जसले गर्दा जनताले अर्को निर्वाचनमा फेरि पनि पत्याउन सक्छन् ।
जनताले नेता र सरकारसँग कहिल्यै पनि ठूलो अपेक्षा गरेका हुँदैनन् तर सानोभन्दा सानो काम पनि नहुने भएकाले मात्र जनताको गुनासो बढी सुन्नुपरेको थियो । जनतालाई कतै अप्ठ्यारो परेको बेला नेताले थोरै बोलिदियो भनें पनि उनीहरुको लागि ठूलो आशा हुन्छ । कतिपय कानुनी र व्यावहारिक झन्झटले गर्दा सर्वसाधारण हैरान भएका हुन्छन् । आफूले जिताएको वा पत्याएको प्रतिनिधिले भनिदिएको खण्डमा काम सहज हुन्छ र कामै नभए पनि उसले कमसेकम उ मेरो पक्षमा रहेछ भन्ने महसुश गर्न पाउँछ । पछिल्लो समयमा नेता र जनताबीचको दूरी बढ्दै गएको छ । जुनसुकै शासन व्यवस्था आए पनि आफूहरुको अवस्थामा सुधार हुँदैन भन्ने बुझेका जनताले अबको अवस्था कस्तो हुन्छ र आफूहरु कसरी सहज ढंगले जीविकोपार्जन गर्न सकिन्छ भन्ने चिन्ता गरिरहेका छन् । हिजो राजसंस्था हुँदा जनताका अधिकार खोसिए भनेर नेताले नारा लगाए होला नि त त्यसो भए भनेर जनता पनि गणतन्त्र ल्याउने आन्दोलनमा लागे, फेरि यो व्यवस्था पनि उस्तै रहेछ भनेर अहिले सबैले भनेका छन् त्यसैले जनता भनें विकल्प खोज्दाखोज्दै सधैं अलमलमा परेका छन् ।