चीनले बनायो संसारको सबभन्दा विशाल जलसेना

२०७७ फाल्गुन २३ गते, आईतवार

एजेन्सी । सन् २०१८ मा चीनका राष्ट्रपति सी चिनफिङ सैन्य पोशाक लगाएर दक्षिण चीन सागरमा राखिएको चिनियाँ जनमुक्ति सेनाको डिस्ट्रोयर जहाजमा चढे । अप्रिल महिनाको त्यसदिन सीका अगाडि चीनले अहिलेसम्मकै सबभन्दा विशाल बेडा ९जहाजहरूको समूह० प्रदर्शन गरेको थियो । कुल ४८ जहाज, दर्जनौं फाइटर जेट र १० हजारभन्दा बढी सैनिकहरू समारोहमा उपस्थित थिए ।
माओ च तुङपछिका सबभन्दा शक्तिशाली राष्ट्रपति सीका लागि त्यो दिन आफ्नो विशाल महत्त्वकांक्षा प्रदर्शन गर्ने अवसर बनेको थियो । संसारका सात महासागरमा चीनको महानता र शक्ति देखाउने अवसर । ‘शक्तिशाली जलसेना बनाउने दायित्व अहिले जति आवश्यक कहिले पनि थिएन,’ सीले त्यसदिन भनेका थिए ।
त्यतिखेरसम्म चीनले द्रुत गतिमा जहाजहरू निर्माण गर्न थालेको थियो । सन् २०१५ मा सीले चिनियाँ जनमुक्ति सेनालाई विश्वस्तरीय लडाकू शक्ति बनाउने परियोजनाको आरम्भ गरेका थिए । अमेरिकी सेनाकै हाराहारीमा चिनियाँ सेनालाई पुर्‍याउने उनको लक्ष्य थियो । उनले त्यतिखेर शिपयार्ड र प्रविधिमा लगानीका लागि आदेश दिएका थिए र त्यो द्रुत गतिमा अहिले पनि कायम छ ।
सीको योजनाले काम गरेको देखिन्छ । सन् २०१५ देखि अहिलेसम्म आइपुग्दा चीनले संसारको सबभन्दा विशाल जलसैन्य शक्ति निर्माण गरिसकेको छ । अब उसले यसलाई आफ्नो तटीय क्षेत्रभन्दा टाढासम्म पनि पुग्न सक्ने हिसाबमा काम गरिरहेको छ । सन् २०१५ मा चिनियाँ जलसेनासँग २५५ ब्याटल फोर्स जहाज रहेको यूएस अफिस अफ नेभल इन्टेलिजेन्सले जनाएको छ । सन् २०२० को अन्त्यसम्ममा उससँग ३६० त्यस्ता जहाज थिए जुन अमेरिकी जलसेनाको भन्दा ६० बढी हो । अबको चार वर्षमा चिनियाँ जलसेनासँग ४०० जहाज हुनेछन् । चीनका जहाजहरू अमेरिका वा अन्य जलसैन्य शक्तिको बराबर वा त्यसभन्दा उम्दा छन् ।
‘चिनियाँ जलसेनाले चीनको जहाजनिर्माण उद्योगबाट कूडाकर्कट पाएको नभई सुविधासम्पन्न तथा सक्षम जहाज बनाइरहेको छ,’ यूएस नेभल वार कलेजको चाइना मेरिटाइम स्टडीज इन्स्टिच्युटका प्राध्यापक एन्ड्रु एरिकसनले फेब्रुअरी महिनामा प्रकाशित एक पेपरमा लेखे ।
त्यसमा टाइप ०५५ डिस्ट्रोयर लगायतका जहाज छन् । केही विश्लेषकहरूका अनुसार, अमेरिकाको टिकोनडेरोगा स्तरका क्रुजरभन्दा तिनको गोलाबारुद उम्दा छ । अनि उभयचर आक्रमण जहाजले चिनियाँ सैनिकहरूलाई विदेशी मुलुकको तटमा पुर्‍याउन सक्छन् ।
अमेरिकाको स्थिति
चीनले सन् २०२५ सम्ममा ४०० वटा जहाज बनाउने अपेक्षा गरिँदा अमेरिकी जलसेनाले चाहिँ ३५५ वटा बेडा बनाउने लक्ष्य लिएको छ जुन चीनको तुलनामा कम हो । तर अमेरिकी जलसेना संसारको सबभन्दा उम्दा लडाकू शक्ति रहेन भन्न मिल्दैन । सैनिक संख्याको कुरा गर्दा अमेरिकी जलसेना विशाल छ । उससँग तीन लाख ३० हजार सैनिक छन् भने चीनसँग दुई लाख ५० हजार सैनिक छन् । वाशिङटनको पक्षमा अन्य कुराहरू पनि रहेको विश्लेषकहरू बताउँछन् । अमेरिकी जलसेनाले चीनको भन्दा बढी विशाल र भारी सशस्त्र जहाजहरू तैनाथ गरेको छ । यी जहाजहरूले अमेरिकालाई क्रुज क्षेप्यास्त्र प्रक्षेपण क्षमतामा उल्लेख्य योगदान गरेका छन् ।
अमेरिकासँग उसका सर्फेस जहाजमा नौ हजारभन्दा बढी भर्टिकल लोन्च मिसाइल सेलहरू छ भने चीनको एक हजार जति मात्र छ भन्छन् निक चाइल्ड्स । उनी इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजमा रक्षा विश्लेषक छन् । उता अमेरिकाका आक्रमण पनडुब्बीको बेडामा ५० वटा डुंगा छन् र ती सबै आणविक शक्तिसम्पन्न हुन् । यसले अमेरिकी जलसेनालाई चिनियाँ बेडाभन्दा बढी उल्लेख्य दायरा तथा इन्धन क्षमताको लाभ दिन्छ । चीनसँग ६२ वटा त्यस्ता डुंगा रहेकोमा जम्मा सातवटा आणविक शक्तिसम्पन्न छन् ।
तर वाशिङटन अहिले बजेट तथा महामारीको समस्याबाट ग्रस्त छ र चीनको भन्दा बढी समस्यामा परेको छ । चीनले शुक्रवार आफ्नो वार्षिक रक्षा बजेट ६।८ प्रतिशतले बढाउने घोषणा गरेबाट बेइजिङका पक्षमा शक्तिसन्तुलन ढल्किँदै गएको विश्लेषकहरू बताउँछन् ।
क्षेप्यास्त्रको शक्ति
अमेरिकाका शीर्ष सैन्य अधिकृतहरू सन् २०२१ मा चिनियाँ जलसेना जहाजभन्दा बढी भएको स्वीकार गर्छन् । ‘चीनले वास्तवमा केमा लगानी गरिरहेको छ भन्ने कुरा हेर्नुस्,’ यूएस चीफ अफ नेभल अपरेसन्स एड्मिरल माइक गिल्डेले ब्रेकिङ डिफेन्स पत्रिकासँगको अन्तर्वार्तामा बताए । ‘हो, उनीहरू थप जहाज समुद्रमा ल्याउँदैछन् तर त्यससँगै उनीहरू एन्टी–शिप क्षेप्यास्त्रका साथै जहाजहरूलाई तारो बनाउने भूउपग्रहीय प्रणालीहरूमा पनि भारी लगानी गर्दैछन् ।’
यसले चीनलाई आफ्नै तटीय क्षेत्र नजिकको लडाइँमा मजबूत बनाएको छ । र चीन आफ्नो सेना रक्षात्मक प्रकृतिको भएको बताउँछ । ‘चीनले कहिले पनि अन्य मुलुकलाई धम्क्याउने छैन वा प्रभावक्षेत्र पनि बनाउन खोज्ने छैन,’ सन् २०१९ को रक्षा श्वेतपत्र चाइनाज नेसनल डिफेन्स इन द न्यु एरामा उल्लेख गरिएको छ । त्यसोभए चिनियाँ जलसेनाले चीनबाट निकै टाढा गएर सैन्य कारवाही गर्न मिल्ने विमानवाहक युद्धपोत, उभयचर आक्रमण जहाज तथा विशाल, शक्तिशाली डिस्ट्रोयर र क्रुजर किन बनाइरहेको हो त ?
निकट समुद्र विरुद्ध सुदूर समुद्र रक्षा
चिनियाँ मुख्यभूमि तथा वरपरका क्षेत्रमा भूभागीय दाबीलाई रक्षा गर्ने कामलाई बेइजिङले निकट समुद्र प्रतिरक्षा भन्ने गरेको छ । चीनले दक्षिण चीन सागरको ३३ लाख वर्गकिलोमिटर क्षेत्रमध्ये लगभग सबैमा दाबी गर्दै साना रीफ र स्यान्डबारहरूलाई मानवनिर्मित कृत्रिम टापु बनाएर तिनमा क्षेप्यास्त्र, धावनमार्ग र हतियार प्रणाली तैनाथ गरेको छ । निकट समुद्रमा स्रोतसाधन थुपारेर नियन्त्रण कायम गर्ने लक्ष्यले चीनलाई समस्यामा पार्न सक्ने केही मानिस तर्क गर्छन् । निकै टाढा जलसैन्य नाकाबन्दी गरिएमा चीन जोखिममा पर्ने किनकि उसलाई बाहिरबाट आउने महत्त्वपूर्ण सरसामग्रीबाट वञ्चित हुने अवस्था आउँछ । सी लाइन्स अफ कम्युनिकेसनबाट ऊ काटिने सम्भावना रहन्छ । ‘चीनले आफ्नो अर्थतन्त्र निर्भर रहेको जलसन्धि (स्ट्रेट) र आवागमन मार्ग (ट्रान्जिट लेन) मा नियन्त्रण राख्न सकेको छैन र समुद्रमा संकट वा युद्धको स्थिति आएमा चीनको समुद्री यातायात काटिन सक्छ,’ जेनिफर राइस र एरिक रबले यूएस नेभल वार कलेजको चाइना मेरिटाइम स्टडीज इन्स्टिच्युटका लागि एक पेपरमा लेखे । उनीहरू यूएस अफिस अफ नेभल इन्टेलिजेन्समा वरिष्ठ गुप्तचरी विश्लेषक हुन् । ‘निकट समुद्र रक्षामा क्षेत्रीय रूपमा ध्यान केन्द्रित गर्दा चीनको आर्थिक स्वार्थको विश्वव्यापी स्तरलाई सम्बोधन गर्न पनि सकिँदैन ।’त्यसैले चीनको विश्वव्यापी स्वार्थलाई पूरा गर्नका लागि चिनियाँ सैन्यशक्तिको उपयोग गर्ने हेतुले चीन सुदूर समुद्र रक्षालाई कार्यान्वयन गर्न खोज्दैछ । ‘सुदूर समुद्र रक्षाले चिनियाँ जलसेनालाई विश्वव्यापी शक्ति बनाउने बेइजिङको सोचलाई प्रतिनिधित्व गर्छ । चीनको अर्थतन्त्र तथा सांस्कृतिक पहुँचको विस्तारलाई प्रोत्साहन गर्ने सरकारी नीतिको यो एक हिस्सा हो,’ राइस र रबले लेखे । दशकौंसम्म अमेरिकी जलसेनाको विमानवाहक युद्धपोत मुलुकबाट निकै टाढा गएर सैन्यशक्ति प्रदर्शन गर्दै आएका छन् । चीनले पनि यसै गर्न चाहेको विश्लेषकहरू बताउँछन् ।
‘चीनको विदेशी स्वार्थलाई सुरक्षित राख्न तथा चीन महाशक्ति हो भन्ने छवि स्थापित गर्न पनि चिनियाँ जलसेनालाई टाढाटाढा पठाउन जरूरी रहेको केही चिनियाँ सैन्यविद्हरू बताउँछन्,’ राइस र रबले लेखे । त्यसैले चीन विमानवाहक युद्धपोत टास्कफोर्सको हिस्सा बन्ने जहाजहरूको निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । चिनियाँ जलसेनाका बेडामा रहेका डीजेल र विद्युतीय भन्दा बढी इन्धन क्षमता यी जहाजमा हुन्छ ।
चिनियाँ जलसेनासँग दुईवटा विमानवाहक युद्धपोत छन् तर पुनः इन्धन नहालिकन तिनीहरू एक हप्ताभन्दा कम मात्र चल्छन् भनी चाइना पावरले लेखेको छ । यसले गर्दा तिनीहरू टाढाका महासागरभन्दा दक्षिण चीन सागरका लागि मात्र उपयोगी छन् । तर चीनले थप युद्धपोतहरू निर्माण गर्ने योजना बनाएको छ र उत्पादन पनि गरिरहेको छ । अत्याधुनिक चिनियाँ युद्धपोतमा आणविक रियाक्टर तथा विद्युतीय चुम्बकीय क्याटापल्टहरू जडान गरिने अपेक्षा छ । यसबाट थप गोलाबारुद सहितका विमान प्रक्षेपण गर्न र विद्यमान युद्धपोतभन्दा बढी व्यापक दायरा दिलाउन सक्षमता हासिल हुनेछ ।
ताइवानको प्रश्न
चीनले तत्कालका लागि ताइवानमा ध्यान केन्द्रित गरिरहेको छ । ताइवानलाई बेइजिङले आफ्नो सार्वभौम भूभागको अखण्ड अंग मान्दै आएको छ । सन् २०१९ मा बेइजिङले निकालेको रक्षा श्वेतपत्रमा ताइवानका अधिकारीहरू शत्रुता र मुठभेड बढाइरहेको तथा विदेशी शक्ति पैंचो मागिरहेको भनी लेखिएको छ ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु चियानले भने, ‘ताइवान चीनको अभिन्न अंग हो । ताइवानको स्वतन्त्रता माग्ने पृथक्तावादीहरूको सबै किसिमको प्रयासलाई पूर्णतया पराजित गर्न चिनियाँ जनमुक्ति सेनाले सबै उपाय अपनाउनेछ र राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतालाई दृढतापूर्वक रक्षा गर्नेछ ।’सन् २०१९ मा गरेको एक सम्बोधनमा सीले चीनको एक इन्च भूमि पनि कसैले लिन नसक्ने बताएका थिए ।
‘हामीले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुरक्षा गर्नुपर्छ तथा मातृभूमिको पूर्ण एकीकरणको लक्ष्य हासिल गर्नुपर्छ,’ उनले भने । ताइवानलाई चिनियाँ मुख्यभूमिसँग एकीकरण गर्नका लागि सीले चिनियाँ जलसेनाको बेडा बढाइरहेका हुन् ।
तर चीनले ताइवानमा आक्रमण गर्ने हो भने अहिलेको भन्दा निकै बढी स्थलसैनिक आवश्यक छ । त्यसैले संसारका अरू कुनै मुलुकले पनि गर्न नसकेको जस्तो जहाज निर्माण चीनले गरिरहेको हो । सीएनएन डट्कममा प्रकाशित ब्राड लेन्डनको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले संक्षेपीकरण गरी अनुवाद गरेका हुन् ।

293 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal