जलेको डायरी

२०८० पुष २० गते, शुक्रबार

योगेश राल्फाली
अन्धकार रातलाई चिर्दै उज्यालोका झोक्काहरु नदेखिदो तवरले सल्बलाई रहेछ । अन्दाजी बिहानको तीन बजेको समय हुँदो हो । आज अरु दिनमा भन्दा उहु ……. उहु…, क्या .. क्या.. उ हु…… स्याल हुईय्या बढी नै छ । खोला बगर छेउको घर, बगरै भरि बिहानी पख स्यालहरु जोड–जोडले कराईरहेछ । जवाफमा दायाँ बायाँका बस्तीहरुबाट हाउ …हाउ…..जोड जोडले कुकुरहरु भुकिरहेछ । आज रातभर वियोग अनिदो छ । फिटिक्कै निन्द्रा परेको छैन उसलाई । हँ … हँ … रातभर ….. । वियोग ओछ्यान परेको आज महिनौ बित्यो । रोगले शरिर छाड्ने छनक छैन वियोगको । नाम जस्तै धेरै वियोगमा परेको छ अचेत उ । जीवन संगीनी प्रज्ञाले छाडेर गएको पनि वर्ष वित्यो । गरिबीका कारण असंख्य रोगबाट थलिदै अत्यन्त अभावका बीचबाट मृत्युवरण गरेकी हुन प्रज्ञाले पनि ।

दुःखका दिनमा साथ दिने प्रज्ञाको मृत्युपछि वियोगको जीवनमा अभाव र समस्याको बाढी नै आउन थाल्यो । पत्नि वियोग र समस्याको ओइरोले वियोग दिनानुदिन रोगको शिकार बन्दै गईरहेछ । समाज परिवर्तनको खातिर एउटा झोला बोकेर लखर लखर हिड्दा अनेक कष्ट खेपेर श्रीमति प्रज्ञाले उभ्याएको चार कोठे कच्ची घरको एउटा कोठाको चार खुट्टे खाटमा व्याङ्केटको सहारामा पुसको जाडो सकिनसकि छोप्नु छ वियोगले । अरुको पीडा, दिनदुःखीको अभाव र रोदन फ्याक्न हिजो बोकेको झोलामा उल्टै झोला भरि आफ्नै समस्याको खात बोकेर त्यो घरभित्र छिरेको हो वियोग । क्रान्ति र बलिदानीबाट व्यवस्था त परिवर्तन नभएको हैन । व्यवस्थासँगै तमाम उपल्लो नेताहरुको मात्रै अवस्था परिवर्तन भयो तर लाखौं हजारौं कार्यकर्ता र भूई मान्छेहरुको भने अवस्था ज्यूँकात्यूँ रह्यो । जसमध्ये एकजना पर्छ वियोग । हिजो दुनियाँलाई समय परिवर्तनको पाठ सिकाएका वियोग आज ओछ्यान पर्दा सामान्य केही भूई मान्छेहरु मात्रै सान्त्वना दिन भेट्न आउने गरेका छन् । कार, चिल्ला गाडी र मह्ङ्गा मोटरसाइकलहरुमा सयर गर्ने उपल्लो नेता र कार्यकर्ताहरुलाई ओछ्यान परेको वियोगको कथा र गाथाहरुको वास्ता छैन । ती नेता र कार्यकर्ताहरु विलाशिता र राजकीय दम्भका साथ यत्रतत्र सयर गर्छन् बजार भरि । ओछ्यान परेको वियोग तीनै प्रज्ञाको अथक मिहेनतले बनेको घरको एक कोठामा छट्पटाई रहेछ रोगसँग जुध्दै । अर्काे कोठामा जेठो छोरा र बुहारी मस्त निन्द्रामा छन् जेठो छोरा बुहारीलाई वियोगको छट्पटाहट र चित्याईको खासै वास्ता छैन तर सँगैको अर्काे कोठामा एक्लै सुतेका कान्छो छोरा वैभव भने निन्द्राबाट व्युँझ्यो कि छिन छिनमा बुबाको अवस्था बुझ्न जाने गर्छन् ।

रोगसँग लड्दै थलिएर महिनौ ओछ्यान परे पनि सकि नसकि दिनहुँ विगत लेख्न भने छोडेको छैन वियोगले । दिनहुँ विगत लेख्दा मसि सकेर फ्याँकिएका डट्पेनहरु असरल्ल छरिएका छन् सिरानीका वरपर । खाटको एक देउ भने चाङ लागिसक्यो वियोगले दिनहुँ लेखेका विगतका यादका पन्नाहरुले । वियोगले बिस्तारै अँध्यारो फाट्दै जान्छ । वरपरका छर छिमेक र वस्तीहरुमा मानिसका चहलपहल शुरु हुन्छ । उज्यालो बाग्लिदै जाँदा वियोगलाई पीडा थोरै कम हुँदै गएको महसुस हुने गर्छ । रोगले उज्यालोमा कम च्यापेर हो कि बाहिरी आवाजहरु कानसम्म ठोक्किदा पीडाबोध कम भएर हो अलि विसेक भए जस्तो हुन्छ वियोग । अँध्यारो फाँटेसँगै कुकुर भुकाई र स्यालको रोइलो भने चकमन्न छ, सायद मानिसका चहलपहलले होला । अघिसम्म टोलै थर्कने गरी बगरै उचालिने गरी कराएमा स्याल हुईय्या कता विलाए, थाहा छैन । रातभरी छट्पटाएमा वियोग दुखाई कम भएपछि खाटको छेउमा सिकानीमा अडेस लागेर टुकुरुक्क बसिरहेछ । यतिकैमा चिया र विस्कुट बोकेर आउँछ कान्छा छोरा वैभव । चिया विस्कुट छेउमै राखेर सानो प्लाष्टिकको बाटामा बुबा वियोगको मुख धुन सहयोग गर्छ र चिया खाना बुबालाई अनुरोध गर्दै उ निस्कन्छ कोठाबाट ।

वियोग अलि सन्चो महसुस भयो कि कपी कलम लिएर विगत लेख्न थालिहाल्छ । चियाको चुस्कीसँगै विस्तारै सकि नसकि लेखि रहन्छ । बुबा वियोगले दैनिक लेखेका विगतहरुका यादहरु लेखेर सक्ने वितिकै उता आफ्नो कोठामा लगेर पढिहाल्थे कान्छा छोरा वैभव । बुबाले लेखेका हरेक पटकका विगतहरु पढेर नरोएको दिन छैन वैभवको । ऊ जतिपटक रोए पनि एक्लै रुन्थ्यो कसैले नदेख्ने गरी । वियोगको दैनिक लेखाईमा विगतमा भोगेका तीतामीठा यादहरु सविस्तार समेटिएका थिए । बुबाले भोगेका विगतका कष्टहरु इतिहास बनेर उभिँदा आज अध्ययन गरिहेछ दिनहुँ वैभव । बुबाको पाखुरा र पीडुलामा वर्षाैदेखि निकाल्न नसकेका गोलीका खोकाहरु पनि त्यही दैनिकी पढेर थाहा भएको हो वभैवलाई ।

समाज परिवर्तन र क्रान्तिका खातिर हिड्दा हिड्दै वियोगले बुबा र पारिवारिक माया दिन नसकेर होकि किन हो, वियोग आज रोगसँग छट्पटिरहँदा वास्ता छैन जेठो छोरा सन्देशलाई । छोराको बेवास्तासँगै बुहारीको व्यवहारमा एकरूपता हुनु स्वभाविकै हो । आकाशमा एक जुवा घाम नलागेसम्म उठ्ने चलनै छैन छोरा बुहारीको । तर कान्छा छोरा वैभव भने सखारै उठेर बुबालाई चिया नास्ता दिने र बुबाको स्याहार सुसार गर्ने दैनिकी बनेको छ । आज भने वैभवलाई बुबाको विछ्याउन छेउ असरल्ल छरिएर रहेको डट्पेन र लेखेका लेखहरु मिलाउन मन लाग्छ र आउँछ बुबाको कोठामा । वियोगले आजका दैनिकी पनि लेखिसकेको हुन्छ । बुबाले आज लेखेको दैनिकी भनौ वा विगतका यादहरु छुट्टै राख्छ अध्ययनको लागि र हिजोसम्म लेखेका लेखहरुलाई विगतका यादहरुलाई राम्ररी मिलाएर छेउको टिटेवुलमा सजाएर राखिदिन्छ । मसी सकिएर यत्रतत्र फालिएका डट्पेनहरु पनि सिसाको गिलासमा सजाएर राख्छन् वैभव । पत्नि प्रज्ञाको मृत्युपछि पत्नि वियोगमा चुरोटको साहरा लिएका वियोग दिनहुँ चुरोटको एक बट्टा सिध्याउने गरेकाले दायाँ–वायाँ चुरोटका ठुटाहरु छरिनु स्वभाविकै हो, ती चुरोटका ठुटाहरु विस्तारै बडारेर बाहिर फ्याक्न लग्छन् वैभव । वियोग भने आफ्नो यो हविगत स्मरण गर्दै कान्छा छोराले कोठा सरसफाई गरेको टुलुटुलु हेर्दै मनमनै वेस्सरी रोइरहन्छ तर थोर बहुत आँखामा आसु छछल्कीए पनि बाहिर नदेखाउने कोशिसमा छ वियोग । कान्छा छोरा वैभवले कोठा सरसफाई गरेसँगै आज वियोगको कोठा छुट्टै उज्यालो भएको छ ।
पुस महिनाको छोटो दिन भएर हो वा चिसो बढेका कारण आज भने वियोगलाई भेट्न भुई मान्छे भनौ वा गरिबीले थलिएका साथीहरु कोही आएनन् । ‘पुस–फासफुस’ भन्ने नेपाली उखान झैँ आजको दिन बितेको पत्तै भएन । जब साँझ छिपिँदै जान्छ रोगले पनि च्याप्दै लग्छ वियोगलाई हिजोभन्दा बेसी च्यापेको छ आज उसलाई । रोगले जति नै च्यापे पनि छोरालाई दुःख र सूर्ता नहोस् भनि सहने कष्ट गर्छ वियोग । फकाउदै र गाली दुबै गरेर मुस्किलले कान्छा छोरा वैभवले दुई गाँस ख्वाए ख्वाउन त बुबालाई । तर व्यथाले भने आज निरन्तर पक्रिरहेछ छोड्ने छनक छैन वियोगलार्ई । पुसको महिना चिसो बढेकोले झन खोकीले पनि च्यापेको छ उसलाई । बुबालाई अरु दिनमा भन्दा बढी नै रोगले च्यापेको महसुस गर्छ छोरा वैभवले पनि । त्यसैले उ अरु दिनमा भन्दा छिन छिनमा आईरहेछ बुबालाई हेर्न । दाइ र भाउजुको बुबा प्रतिको व्यवहारले गर्दा बुबालाई जति नै कष्ट गाह्रो भए पनि नभन्ने सोचमा छ उ । बुबाको गाह्रो अवस्था देखेर अस्पताल लग्न नसोचेको हैन वैभवले तर रित्तो गोजी दयनिय घरको अवस्था विवश छ उ बुबालाई जति नै गाह्रो परेपनि टुलुटुलु हेरी बस्न । बुबाले हिजोको दिन सारा गाउँलेलाई अपुरो र गाह्रो साह्रो पर्दा गरेको सहयेगका क्षणहरु र आज बुबा आफैं थलिदा पार्टी संगठन कोही कतैबाट सहयोग नभईरहदा नपाई रहँदा विगतका दृष्यहरु झलझलि सम्झिरहन्छ उ ।

“रातको ११ बजेसम्म त बुबालाई गाह्रो भाको हो ?“ भन्दै सोध्न आईरह्यो विचरा वैभव । आज टारी खेतमा खेत जोत्न खेताला गएकोले थलिएको छ विचरा वैभव पनि त्यसैले उ ११ बजे भुसुक्कै निदाउँछ थकानका कारण । छोरा वैभव नतमष्ट निन्द्रामा हुन्छ उता वियोगलाई रोगले विछट्टै च्यापेर लग्छ । सकेसम्म नसहेको होइन पीडालाई वियोगले । आज भने अशैय्य भएको छ उसलाई । हुँ … हुँ गर्दै बेला बेलामा चिच्याउँछ उ । थकानले गहिरो निन्द्रामा परेको कान्छा छोरालाई बुबाको चिचाहट थाहा हुन्न तर जेठो छेरा बुहारी भने “कति कराउन सकेका, मर्न नसकेका, थपक्क मर्नु नि बरु, कालले पनि किन नलगेको होला । जहिल्यै निन्द्रा विगारेको छ, छ । मर्न नसकेको असत्ति बुढो ।“ भन्दै सरापेका कानको भित्तासम्म ठोकिन आउँछ वियोगको । यि शब्दले त झन् वियोग थप पीडामा पर्छ र बर्रररर… आँसु झार्छ विचरा । रोगलाई आत्मबलले निल्ने कोशिस गर्दा गर्दै विहानको चार बज्छ । अरु दिन उज्यालोको झोक्कासँगै मत्थर हुँदै जाने रोगले आज छाड्ने मेसो छैन । रोगले बेजोडले पीडा दिएपछि भुल्न चुरोट सल्काउँछ वियोग । दुई चार सर्काे चुरोट तानेर खोक्न थाल्छ । चुरोटको सर्काेसँगै खोक्दा खोक्दै पीडाले चरमसिमा नाघ्छ र प्राण त्याग्छ वियोग । वियोगले प्राण त्याग्दा हातमा भएको बाँकी चुरोट दैनिक लेखेको बिहान छोराले मिलाई राखेको डायरीको थुप्रोमाथि पर्छ र विस्तारै सल्कन्छ । सल्केको डायरीको जलनले कोठाभरी धुँवा भरिन्छ । धुँवाले घरका प्रत्येक कोठामा प्रवेश गर्छ कान्छा र जेठा छोरा सबैेले थाहा पाउँछन् र बुबाको कोठातिर दौडेर हेर्न आउँछ दुबै । बुबाले लेखेमा विगतका कथा व्यथाहरु जलिरहेको र बुबा ढलिरहेको देख्छन् । जेठो छोरा जलेको डायरी निभाउन थाल्छ, कान्छा छोरा बुबा भन्दै रुँदै ग्वाम्लङ्ग अँगालो मार्छ । अब कसैको दया माया र अँगालेले फिर्ता हुने छैन वियोग ।
क्रान्तिका अपहेलित जिउँदो योद्धा बनेर जान्छ वियोग । गए वियोग यो संसारबाट एउटा तीतो सत्य इतिहास बनेर । क्रान्तिले खोजेका र क्रान्तिमा दर्बिलो खम्बा बनेर उभिएका एक योद्धा जो क्रान्तिमा हरेक मोडहरु सामना गर्दै पार गर्दै युद्धको निशानी शरिर भरी गोलीका खोकाहरु साक्षी राखी–अवसरवादीहरुको पेलान खेपेर नमीठो मृत्युवरण गरे वियोगले । वियोगको मृत्युको खबर चारैचिर पुग्छ । गाडीका गाडी नेता तथा कार्यकर्ताहरु पार्टीका झन्डा बोकेर लर्काे लाग्छन् वियोगको श्रद्धान्जलीका निम्ति । गाडी र मान्छे सरोबरो देखिन्छ घरको वरीपरी । जब पार्टीका नेता श्रद्धाञ्जली दिन पार्टीको झण्डा बोक्दै आउँछ तब कान्छा छोरा वैभव बुबाको लास माथि तेर्साेपर्छ र भन्छ “चाहिदैन मेरो बुबालाई कुनै पार्टीको झण्डा मेरो बुबाको निम्ति पार्टी मरिसक्यो । जिउँदो छँदा शरिर भरिको गोलीका खोका नदेख्ने ? रोगले छट्पटाई रहँदा नदेख्ने ? कुनै पार्टी चाहिएन अब ।“ भन्दै झण्डा ओडाउन दिएन उसले । पार्टीका नेता कार्यकर्ता जवाफ बिहिन बने । वैभवले झण्डा ओडाउन नदिए पश्चात विधि र संस्कार अनुसार वियोगको मृत शरिरलाई जलाउन समाधि स्थलतिर लग्छन् । दाइको व्यवहारले त लास बोक्न पनि नदिने मन थियो वैभवको तर सहन्छ र बोक्न दिन्छन् ।

दुईभाइ छोरा साथमा सहयोगीहरुको सहयोगमा वियोगको लास लम्कन्छ दुर्सातिर, मलामीको लर्काे वेजोडले छ । दुर्सामा पुगि लामा विधि अनुसार वियोग खरानीको बाटो हुँदै जिन्दगीको अन्तिम यात्रा गरिरहँदा समाजका देखावटी रिति अनुसार विचरा राम्रो मान्छे थियो, सबैलाई सहयोग गर्थ्यो, भगवानलाई पनि राम्रो मान्छे प्यारो हुँदोरहेछ, छिट्टै लग्यो ।’ भन्दै दायाँ–बायाँ व्याख्या छ देखावटी स्वाङ्को । आज त्यो दिन हो, वियोगको अन्त्य हुने दिन । अन्त्य भयो एउघ नमीठो इतिहास जल्यो वियोग । गयो वियोग अब कहिल्यै नफर्कने बाटोमा एउटा जलेको डायरी दिएर ।

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal