यात्रा आधा बाटोको …
योगेश राल्फली
एक्कासी कताबाट ? कहाँबाट ? आए थाहा छैन बजारबासीलाई । घरी लौरो बोकेर, घरी ढुंगा÷ईटा बोकेर बजार आतंकित बनाएको छ एकजनाले । उ देखेसी प्राय भाग्नै पर्छ झम्टी हाल्छन् अझ बढी महिलाहरुलाई । आ–आफ्नो तरिकाले दौडिरहेको बजारको दैनिकी अचेल त्रसित बनाएको छ एकजना चालिस कटेका अधवैंसे मान्छेले । मान्छेलाई झम्टिन खोजे पनि हात चाहिँ हाली हाल्दैन उ । विशेष गरी महिला देखेमा ‘उ मेरी कला !’ भन्दै पछिपछि चिच्याउँदै दुगुर्ने गर्छ उ । कसैले कसैले चाहिँ उसलाई देखेमा ‘अचेल यता आएछ र त हाम्रातिर नदेखेका रहेछन्’ भन्ने गर्दछन् । यसको मतलब ऊ फरक–फरक शहर बजारमा यसैगरी हिँड्दा रहेछन् भन्ने संकेत मिल्छ । दिनभरी बजारमा ‘कला ! मेरी कला !’ भन्दै हिँडे पनि रातमा चाहिँ कहाँ जान्छन् थाहा छैन कसैलाई ।
टोलका भुस्याहा कुकुरहरु झम्टिन खोज्छन् तर उ हातमा भएका लौरो र ढुंगाले हान्दै लखेट्छन् । अचेल बजारमा मान्छेदेखि कुकुर समेत त्रसित छन् । महिनौ बित्यो उ के खान्छ ? कहाँ बस्छ ? कसैलाई थाहा छैन । थोत्रो कोट, मयल नै मयलले कक्रक्क सर्ट पाइन्ट थुप्रै वर्ष महिना ननुहाएका जस्तो देखिने ती मान्छेको वास्तविकता बुझ्न कसैले सकेनन् बजारबासीले । एकदिन चारदोबाटोमा एउटा कारमाथि झ्याम्म ढुंगा प्रहार गरी भाग्छ उ त्यतिकैमा सबैजना घटनास्थलमा झुम्मिए । ट्राफिक प्रहरी भिडलाई हटाउँछन् सिठी फुक्दै र कारलाई सडकछेउ उपयुक्त ठाउँमा लग्छन् । यत्तिकैमा कार चालक बाहिर निस्कन्छन् कारबाट । र भन्छन् ठिकै छ प्रहरी सर ! यो क्षति म आफैं मर्मत गरौंला यो मान्छे मेरै गाउँको हो । मेरो आफन्त पर्छ । त्यसपछि सबै जना धुइरिन्छन् सडक छेउमा कथा सुन्न । अब शुरु हुन्छ वास्तव कथा । आखिर त्यो मान्छे समाज बदल्न, समाज सेवा गर्न भनेर हिँडेका फाइम्राङका काल्साङ रहेछन् । उसको गाउँ टोल र जिल्लामा नचिन्ने कोही छैनन् रे काल्साङलाई । अरुको सेवा र दुःखमा साथ दिँदा दिँदै सम्पत्ति सबै सके । आफ्नो घरको चाहिँ विचल्ली भएछ उसको । समाजमा त्यति नाम चलेको मान्छे विचरा काल्साङ अब भने घरको गर्जो टार्नै धौ–धौ भएर घर सल्लाहले श्रीमतीलाई विदेश पठाउने सल्लाह भएछ र पठाएछन् । श्रीमती कला विदेश गएको दुई सालसम्म त राम्रै भएछ उनको । त्यसपछि कलाले नम्बरसमेत परिवर्तन गरी सम्पर्कविहीन भइछे । कलाले चाला परिवर्तन गरेपछि पहिले भन्दा झन्झन बिग्रदै गएछ घरका समस्याहरु र काल्साङका आनीबानी । विस्तारै विस्तारै दिमागले काम गर्न छाडेछ उसको ।
पहिले त रातो दिन कला ! कला ! मात्रै भन्दै हिँड्थे रे । पछि पछिबाट मेरी कला ! लाई कहाँ पु¥याईस भन्दै मान्छेहरु माथि पनि हात हाल्न थालेछन् । समय वित्दै गएपछि कलाकै खोजीमा उ नयाँ–नयाँ सहर बजारतिर कराउँदै हिँड्न थालेछन् । वर्षाैं बितेछ यसरी कराउँदै हिँडेको उ । कला भने विदेशतिर अर्कै नाठोसँग केटोसँग मोजमस्ती गर्दैछे रे ।
कारमाथि ढुंगा प्रहारपछि खुल्यो काल्साङको वास्तविक कथा । त्यही भीडभित्रबाट एकजनाले बोल्यो ‘म ठीक पार्छु यो व्यक्तिलाई । म पहिलेकै अवस्थामा ल्याउँछु’ भन्दै बोल्छन् । भिडमा विभिन्न थरीका मान्छे हुन्छन् जसमध्ये एकजना निस्क्यो काल्साङको वास्तविक अभिभावक र केही व्यक्तिलाई सहयोग मागेर काल्साङलाई फकाई फकाई गाडीमा राखी लग्छन् टासी लामाले आफ्नो आश्रममा । आश्रममा त्यस्तै त्यस्तै कथा बोकेका करीब ६० जना थिए महिला पुरुष गरी । विभिन्न संघ÷संस्था र व्यक्तिलाई हारगुहार गरी पालनपोषण र हेरचाह गराउँदै आएका छन् लामाले उनीहरुलाई । काल्साङलाई कपाल कटाउने, नुहाउने र सम्पूर्ण कपडाहरुलाई फेरी दिन लगाए । तत्पश्चात शुरु हुन्छ काल्साङलाई वास्तविक कथा कहानी सोध्ने काम लामाद्धारा । काल्साङ लामालाई आफ्ना सम्पूर्ण कहानी बताउँछन् सविस्तार । तर बेलाबेलामा झनक–झनक रिसाउन भने छाडेका छैनन् काल्साङ । त्यो बानीलाई पनि हटाउन अग्रिम स्टक ल्याई राखेको औषधि खुवाई दिन्छन् काल्साङलाई । काल्साङको बेलीविस्तार सुनिसकेपछि आश्रमै भएकी एक महिला जो काल्साङकै जस्तो कथा कहानी भएकी सदिक्षासँग परिचय गराई दिए विशेषगरी । सदिक्षालाई पनि लामाले उस्तै अवस्थामा रोडबाट उठाएर ल्याएका थिए एक साल पहिले । सदिक्षाले चाहिँ लोग्नेले धोका दिएर अर्कैलाई अँगालेपछि घर छोडेर हिँडे पनि सडकपेटीमा भौतारे पनि माइतीले दिएको अंश भने सकुसल थियो र छ पनि । लामाले आश्रममा ल्याई सद्दे भएपछि कतै आफू जस्तै मिल्ने जोडी मिलेमा पुनः घरबार गरी नयाँ जिन्दगी शुरु गर्ने विचारमा थिइन् सदिक्षाको । त्यसैले ती दुईलाई विशेष परिचय गराए दिए लामाले ।
सदिक्षाको कहानी सुनेपश्चात बरर्र….. आँसु झार्छन् काल्साङ । आफूलाई पनि सहारा दिने कोही पाएमा नयाँ जिन्दगी शुरु गर्ने चाह व्यक्त गरे काल्साङले । दुबैको चाह मिल्ने देखिए पछि जोडी बाँध्न इशारा गरे लामाले । काल्साङ र सदिक्षा एकआपसमा गम्ल्याङ्ग अँगालेमा बेरिए र धेरै बेर रोए । लामाको लामाद्धारा सञ्चालित ‘पुनर्जीवन आश्रम’ भित्र आज वास्तवमै नयाँ पुनर्जीवन शुरु हुन्छ काल्साङ र सदिक्षाबीच । ती नव जोडी देखेर दंग छन् आश्रमका अन्य कथा÷कहानी बोकेकाहरु पनि । केही समयको तयारी पछि आश्रम भित्रै केही एक अर्काका आफन्तहरु बोलाएर विवाह गरी दिए लामाले काल्साङ र सदिक्षाको । काल्साङ र सदिक्षाको कथाले युटुप, फेसबुक र टिकटक सबै सामाजिक सञ्जाल भरियो । नव जोडीको अन्तर्वार्ता लिन हुलका हुल सामाजिक सञ्जालका सञ्चारकर्मीहरु आउन थाले । लामाको आश्रम र लामा पनि बहुत चर्चामा पुग्यो र सहयोग गर्ने संघ÷संस्था र व्यक्तिहरु पनि दिनहु बढ्दै गयो । विवाह पश्चात पनि केही महिना आश्रममै राखे ती नव दाम्पत्य जोडीलाई । कारण काल्साङलाई औषधि सेवन छुटाएर मात्रै पठाउनु छ । विस्तारै–विस्तरै काल्साङलाई औषधिको मात्र घटाउँदै लग्छन् । आज डेढ महिनाको आसपास भो औषधि छुटाएको काल्साङलाई । सदिक्षा नै औषधि र साहारा दुबै बनि उभिइन काल्साङको जीवनमा । काल्साङ पूर्णरुपमा ठीक हुनु र सहयोगका लागि एकजना आश्रममा आउनु संयोग मिल्यो । झण्डै एक दशक अमेरिका बसेर आएका दर्शन तामाङले सामाजिक सञ्जालमा देखिएका भाइरल भएका काल्साङ र सदिक्षाको जोडीको बारेमा बुझ्न आएका रहेछन् दर्शन तामाङ । दर्शन पनि काल्साङकै छिमेकी र बालसखा भएका कारण विशेष चासो राखेका रहेछन् । दर्शनले आश्रमका सञ्चालक लामाबाट नव जोडीको वास्तविकता बुझे सम्पूर्ण । सदिक्षाको माइतीले दिएको घरगोठ वास्तविकता बुझे सम्पूर्ण ।
सदिक्षाको माइतीले दिएको घर गोठ मर्मत गरी बारी खनजोत गर्न लाग्ने खर्च र घरमा लाग्ने सर–सामान अनि एक वर्षको लागि लाग्ने रासन पानी आफूले बेहोरी दिने बचन दिए दर्शनले लामालाई । दर्शनको प्रतिबद्धता पछि त लामा र आश्रमका सबै खुशी भए । नव जोडी त खुशी नहुने कुरै भएन । केही समय वाचचित गरे काल्साङसँगै दर्शनले । दर्शन र काल्साङ बालपनदेखिकै साथी रहेछन् । साथीको विशाल छाती देखेर खुशीले आँसु पनि बगाए काल्साङले । अव नरुन आग्रह गर्दै फर्किए दर्शन तामाङ आश्रमबाट विदा भएर ।
तीन महिनाको लामो छुटीमा आएकाले दर्शनले आश्रम गई फर्किएको भोलि पल्टै शुरु गरे सदिक्षाको माइती पक्षले दिएको घर मर्मत सम्भार गर्न र बारी खनजोत गर्न ज्यामी खेतालाहरु लगे । सदिक्षाको माइती पक्ष र गाउँले पनि खुशीले दिनहुँ सकेको सहयोग गर्न आए । “एकले थुके सुकी, सयले थुके नदी“ भने झैं करी एक महिनामै तयार भयो नव जोडीको लागि नयाँ ठाउँ । घारीले भरिएको बारी र भुतबंगला जस्तो घर बेहुली झैं सिँगारिए आज । गाउँका अन्य घरहरु भन्दा विछट्टै राम्रो देखिएको छ काल्साङ जोडीको घर । दर्शनको यो सेवामुखी काम देखेर औधी मान्छन् सदिक्षाका माइती र गाउँलेहरु । एक महिना त्यो वस्तीमा बस्दा सबै आफन्त जस्तै बनिसकेका छन् दर्शनका लागि । कसैले दर्शन सर ! कसैले काका ! कसैले के भनि सम्बोधन गरी नबोलाउने कोही छैनन् देख्ने वित्तिकै गाउँलेहरु । एक महिनाको त्यो गाउँको बसाई छाड्न गाह्रो गाह्रो भएको छ दर्शनलाई गाउँलेको मायाले गर्दा । तर नव जोडी लिएर आउने वाचासहित विदा भए दर्शन त्यो गाउँबाट ।
काल्साङ र सदिक्षाको विवाहको दिन खुशीयाली छाएको लामाको ‘पुनर्जीवन आश्रम’ मा आज भने खुशी हराएको छ । किनकी ती नयाँ जोडीलाई आफ्नै घरमा लगिदैछ । आश्रमका सञ्चालक लामा, सहयोगी दर्शन र आश्रमका केही व्यक्ति तयारी गर्दैछन् नयाँ जोडी पु¥याउन । बाहिर कुरिरहेछ गाडी तयारी अवस्थामा । ‘एउटा खाडल पुर्न, अर्को खाडल खन्नु पर्छ’ भने कतै खुशी हुन् कतै मन कुडाउन पर्दोरहेछ । उता सदिक्षाका माइती र गाउँले भने सदिक्षाका नयाँ जोडी आउने खबरले माला र फुलका गुच्छाहरु हातमा लिएर तयारी अवस्थामा छन् स्वागतका लागि । घर पनि विवाहकै दिनजस्तो चिटिक्क सिँगारिएको छ दर्शनको सल्लाह बमोजिम । माइती गाउँलेको भिड बाक्लै छ आज सदिक्षाको घरमा । गाउँलेको प्रतिक्षाको घडी पनि करीब टुंगिएको छ ।
कसैले पनि सोचेका थिएनन् यो दिन पनि आउँछ भनेर । आईपुगे टासी लामा र दर्शन नयाँ जोडी लिएर । सबै गाउँलेले राम्रै तयारी गरेका रहेछन् स्वागतका लागि पनि । कुनै राजनैतिक उपल्लो नेताको भन्दा कम भएन टासी लामा, दर्शन तामाङ र नयाँ जोडीको गलामा माला । बाटोमा राखिएका स्वागतका सगुनहरुमा केही रुपैयाँ चढाउँदै आँगन पुग्छन् नयाँ जोडी । भिडले गर्दा कसै कसैलाई हेर्न मुस्किल परेको छ नयाँ जोडी । नव जोडीको घर बारी सिंगार्नेको लागि अहिलेसम्म लागेको पाँच खर्च विवरण सार्वजनिक गर्दै बाँकी एक वर्ष बारीबाट आम्दानी नभईन्जेल खाना खर्च पाँच लाख सबैको सामु काल्साङ र सदिक्षाको हातमा दिन्छन् दर्शन । यो देखेर प्रायको आँखा रसाए दर्शनको विशाल छाती देखेर । झन्डै दस मिनेट तालीको वर्षा भयो दर्शन र टासीको लागि त्यहाँ । एक छिन आँगनको बसाईपछि परम्परा अनुसार भित्रिन्छन् नयाँ जोडी जिन्दगीको आधा बाटो शुरु गर्न सिजिएको घरभित्र …..।